समाचारमा बालबालिका

सुत्केरीमध्ये १२% किशोरी

हेटौंडा उपमहानगरपालिकाभित्र किशोरीहरू आमा बन्ने क्रम बढेको छ । हेटौंडा अस्पतालका अनुसार आव ०७५/७६ मा २० वर्षमुनिका २९७ किशोरी आमा बनेका छन् । उक्त वर्ष हेटौंडा अस्पतालमा २ हजार ४ सय ४२ जना सुत्केरी भएका थिए । हेटौंडा अस्पतालका अनुसार सुत्केरी भएका मध्ये १२ दशमलव १६ प्रतिशत किशोरी आमा बनेका छन् । ‘सबैभन्दा कम उमेरका १६ वर्षका २ किशोरी आमा बनेका थिए,’ अस्पतालको तथ्यांकमा छ । गत आवमा उपमहानगरपालिकाभित्र २० वर्षमुनिका ३३० जना किशोरीले पहिलो पटक आफ्नो गर्भ जाँच गराएका थिए । चार पटक गर्भ जाँच गराउनेको संख्या २९० रहेको छ । अघिल्लो आवमा हेटौंडा उपमहानगरपालिकाभित्र २० वर्षभन्दा कम उमेरका ५ सय २७ किशोरी गर्भवती भएका थिए । तीमध्ये १ सय ७९ गर्भवतीले मात्र चार पटक गर्भ जाँच गराएका थिए । यो तथ्यांकले बालविवाहसँगै कम उमेरमै गर्भवती हुँदा र गर्भमा रहेको शिशुको जोखिमलाई सहज ढंगले बुझ्न सकिन्छ,’ हेटौंडा अस्पतालका डा। प्रवीण श्रेष्ठले बताए । उनले भने, ‘बालविवाहका कारण गर्भवती महिला र शिशु उच्च जोखिममा छन् ।’ २० वर्षभन्दा माथिका २ हजार ८ सय ६७ जना महिलाले गत आवमा पहिलो पटक गर्भ जाँच गराए । यसमध्ये २ हजार ३ सय गर्भवतीले ४ पटक गर्भ जाँच गराएका छन् । अघिल्लो आवमा २० वर्षभन्दा बढी उमेर समूहका २ हजार ७ सय २८ महिलाले पहिलो पटक गर्भ जाँच गरेका थिए । ४ पटकसम्म १ हजार ३ सय ८९ गर्भवतीले गर्भ जाँच गराएका थिए ।

गर्भावस्थाका बारेमा पहिलो पटक परीक्षण गर्नेको संख्या उल्लेख्य भए पनि स्वास्थ्यका दृष्टिले आवश्यक ४ पटक गर्भ जाँच गराउने महिलाको संख्या भने निकै कम देखिन्छ । ४ पटक गर्भ जाँच गराउने गर्भवतीलाई सरकारले प्रोत्साहनस्वरूप यातायात खर्चसमेत प्रदान गर्ने गरेको छ । नियमित गर्भ जाँच गर्ने क्रममा गर्भमा रहेको भ्रूणको अवस्था, गर्भवतीको अवस्थाका बारेमा जाँच गर्ने गरिन्छ साथै आवश्यकताअनुसार गर्भवतीलाई सुई लगाउने, औषधि खुवाउने र पोषणसम्बन्धी अभिमुखीकरणसमेत गराउने गरिन्छ । संविधानको धारा ३९ को उपधारा ९५० ले कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाइने गरी बालबालिकाको हक स्थापित गरेको छ । नेपालको मुलुकी ऐनको नयाँ व्यवस्थाले विवाह गर्ने उमेर महिला तथा पुरुष दुवैका लागि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको छ । २० वर्षभन्दा कम उमेरमा गरिने विवाह कानुनतः दण्डनीय हुने व्यवस्था रहेको छ । यी सबै ऐन, कानुन, नीति, कार्यविधिको व्यवस्था भए पनि बालविवाह कम हुन सकेको छैन । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत हेटौंडा उपमहानगरभित्र पनि विकट र साबिकका ६ गाविस मिसिएर हेटौंडा उपमहानगरपालिका बनेकाले त्यस्ता विकट स्थानमा शिक्षा र चेतनाको कमीका कारण बालविवाह कायमै रहेको बताए । हेटौंडा उपमहानगरभित्र गत आवमा २० वर्षभन्दा कम उमेरका ४० जना गर्भवतीले औषधिका माध्यमबाट गर्भपतन गराएका छन् भने शल्यक्रिया गरी ४८ जनाले गर्भपतन गराएका छन् । गत आवमा २० वर्षमुनिका ९६ जनाले औषधि प्रयोग गरी गर्भपतन गराएका थिए भने १२६ जनाले शल्यक्रिया गरी गर्भपतनगराएका थिए । हेटौंडा उमहानगरपालिका १९ वडामा विभाजित छ । उपमहानगरपालिकाभित्र विकट ग्रामीण बस्ती छन् । मकवानपुरको उत्तरी पश्चिमी क्षेत्रमा पर्ने राक्सिराङ, कैलाश गाउँपालिका र पूर्वी क्षेत्रमा पर्ने बकैया र वाग्मती गाउँपालिकामा कलिलै उमेरमा आमा बन्नेको संख्या बाक्लो छ । प्रदेश ३ का सामाजिक विकास मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले भने, ‘बालविवाहलाई नियन्त्रण गर्न नसकेसम्म किशोरी अवस्थामा आमा बन्नेको संख्या घट्दैन ।

२०७६ साउन ६ गते ७:३७ मा प्रकाशित