समाचारमा बालबालिका

पढ्ने उमेरका आमा

रूपन्देहीको सियारी गाउँपालिका-७ अमुवाकी १६ वर्षीया सीमा चौधरीले ४ दिनसम्म सुत्केरी व्यथा सहेर छोरा जन्माइन् । स्थानीय स्वास्थ्य चौकी हुँदै लुम्बिनी प्रादेशिक अस्पताल ल्याइयो । शल्यक्रिया गरेर सन्तान जन्माइयो । रक्त अल्पताले थलिएकी उनी सामान्य बनेकी छैनन् । शिशु स्वस्थ छैनन् । शरीर र तौल विकास नभएकाले अहिले सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको एनआईसीयूकक्षमा शिशुको उपचार हुँदैछ । रोहिणी गाउँपालिका-२ पोखरभिन्डीकी १६ वर्षीया सोनिका यादवले वैशाख १९ गते छोरी जन्माइन् । अहिले आमाछोरी स्वस्थ छैनन् । गर्भ बस्दादेखि रगत बग्ने समस्या खेपेकी उनमा कुपोषण र रक्तअल्पता देखिएको छ । छोरीको तौल जम्मा १ किलो ५० ग्राम मात्र छ । एक साता लामो अस्पताल बसाइपछि उनी घर फर्केकी छन् । चिकित्सकका अनुसार किशोरी उमेर भनेको प्रजनन अंग विकास हुने समय हो । महिनावारी हुने र यौन कौतुहलता जाग्ने उमेर हो । पढ्ने र सिक्ने उमेरमा आमा बन्दा धेरै किशोरीले ज्यानकै जोखिम मोल्नुपरेको छ । यो उमेरमा गर्भवती बन्दा नै थुप्रै जटिलता देखिएका छन् । मर्चवारी गाउँपालिका रायपुरकी कुमारी हरिजन १७ वर्षकी भइन् । वैशाख पहिलो साता उनको ४ महिनाको गर्भ तुहियो । रक्तश्रावले सिकिस्त भइन् । लुम्बिनी प्रादेशिक अस्पतालमा एक साता भर्ना गरेर उपचार गरियो । १५ वर्षकै उमेरबाट गर्भधारण सुरु गरिन् । त्यो उनको तेस्रो गर्भ थियो । गर्भ बस्यो कि रगत बग्छ । त्यसले गर्भ तुहिने समस्या छ । उपचारमा संलग्न स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. श्रीधर आचार्यका अनुसार सोनिकाको पाठेघर निकै खुकुलो भइसकेकाले गर्भ अडिन समस्या भइरहेको छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक २५ जना सुत्केरी हुन्छन् । त्यसमध्ये ३ जना किशोरी उमेरका हुन्छन् । प्रतिशतका हिसाबले १४ प्रतिशत किशोरी सुत्केरी हुन्छन् । किशोरी आमा बन्दा करिब ७० प्रतिशतको जोखिमपूर्ण अवस्थामा शल्यक्रिया हुने गरेको छ । कम उमेरमा गर्भवती बन्दाका समस्या लिएर दैनिक ३ जना किशोरी आउने गरेका छन् । किशोरीमा धेरैजसो गर्भ तुहिने, रक्तश्राव हुने, लामो बेथा लाग्ने, बच्चा जन्माउन नसक्ने, बच्चा कम तौलको हुने, आमा र शिशु दुवैलाई कुपोषण हुने लगायतका समस्या देखिने गरेका छन् । यसले आमा र शिशु दुवैको ज्यान जोखिममा हुन्छ । किशोरी अवस्थामा प्रजनन अंगको पूर्ण विकास भएको हुँदैन । यस्तो बेला गर्भ रहनु र सुत्केरी हुनु अति जोखिमपूर्ण मानिन्छ, आचार्यले भने, यसले किशोरी आमालाई तत्कालीन मात्र होइन दीर्घकालीन स्वास्थ्य समस्या समेत प्रशस्त देखिन्छन् । पाठेघरखस्ने, पाठेघरको क्यान्सर हुने, विभिन्न यौन रोग लाग्ने तथा फिस्टुलाको समस्या देखिन्छन् । किशोरी आमामा रक्तअल्पताको समस्या उच्च हुन्छ । रक्त अल्पता हुनेको उमेर बढ्दै जाँदा रोग प्रतिरोधात्मक शक्ति घट्दै जाने र श्वास प्रश्वास लगायतका समस्या देखिन थाल्छन् । रक्तअल्पता भएका महिला सुत्केरी हुँदा मुटुमा भार पर्छ र हृदयाघात हुने र मृत्यु हुने सम्भावना पनि बढी हुन्छ । यही समस्याका कारण देशमा हाल एक हजार सुत्केरीमा ३७ जना र १ हजार शिशुमा ४६ जनाको मृत्यु हुने गरेको छ । किशोरी आमा बन्ने र दुःखले घेरिने समस्या प्रदेश ५ भर छ । प्रदेशका १३ प्रतिशत किशोरीले १३ देखि १९ वर्षभित्रमै बच्चा जन्माइसकेका हुन्छन् । किशोरी आमाका जोखीम बढेपछि चालु आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सर्वेक्षण गरेको छ । सर्वेक्षणअनुसार गत वर्ष प्रदेशभर ५५ हजार महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका थिए । त्यसमध्ये ८ हजार ३६ किशोरी उमेरका हुन् । सुत्केरी हुन आउने आमामध्ये सबैभन्दा जोखिमपूर्ण अवस्था किशोरीमा देखिएको छ । झन्डै ७० प्रतिशत आमा रक्तअल्पताबाट ग्रसित थिए । कम तौलका, कम उचाइका शिशु जन्माउने पनि अधिकांश किशोरी थिए।

२०७६ बैशाख २९ गते ९:४८ मा प्रकाशित