सानैमा विवाह पछि पछुतो
भनिन्छ, विवाहपछि नयाँ जीवन सुरु हुन्छ । तर सुनीता तामाङको हकमा भने विवाहपछि जीवन नै सकियो । भागी विवाह गरेकी सुनीता बिहे लगत्तै गर्भवती भइन् । २०७४ साल जेठ ९ गते दिउँसो उनले घरमै छोरी त जन्माइन् । तर आफू भने बाँच्न सकिनन् । सिन्धुलीको कमलामाई नगरपालिका २ भद्रकालीकी सुनीताले १९ वर्षमा विवाह गरेकी थिइन् । शरीर परिपक्व नभई सुत्केरी हुँदा रगत धेरै बगेका कारण उनको ज्यान गएको डाक्टरको भनाइ छ । बिहे भएको डेढ वर्ष नपुग्दै सुनीता सधैंका लागि बिदा भइन् । सुनीतासँग जीवनभर खुसका साथ जिउने सपना बुनेका उनका श्रीमान अरुण तामाङको सपना टुट्यो । कनपा ४ देउरालीकी मनीषा लामिछाने श्रीमानले साथ छोडेपछि माइतीमै छिन् । उनी अहिले २१ वर्ष टेकिन् । मनीषाको विवाह १७ वर्षमा भएको थियो । १० कक्षामा पढदा १८ वर्षका सञ्जय अधिकारीसँग भागी विवाह गरेकी मनीषाको वैवाहिक जीवन एक वर्ष पनि टिकेन । ‘बचपनमा गरेको माया परिवर्तन हुँदो रहेछ । विवाहको ६ महिना नबित्दै तिमीसँग जिन्दगी बिताउन सक्दिनँ । म अर्कै केटीलाई मन पराउँछु । यो घरबाट गइहाल भनेर झगडा गर्ने, पिट्ने गर्न थालेपछि घर छाडेँ,’ उनले सञ्जयसँग सम्बन्ध टुट्नुको पीडा सुनाइन् । दुई जनाबीचको सम्बन्ध सकियो । सञ्जय स्वतन्त्र भए । तर मनीषालाई थप जिम्मेवारी आइलाग्यो । सुत्केरी भएको २१ दिनमै घर छोडेकी मनीषाले सञ्जयलाई त्यसपछि भेट्नसमेत पाएकी छैनन् । धेरैपटक फोन गर्दा पनि सञ्जयको फोन नउठेपछि उनी सञ्जयको घर त गइन् । सञ्जयलाई भने भेट्न सकिनन् । सञ्जय एक वर्षदेखि घर आएका छैनन् । ‘साथीहरूसँग भारत गयो रे भन्ने सुनिन्छ, तर कता गयो अत्तोपत्तो छैन,’ उनी भन्छिन् । मनीषा अहिले माइतै बसेर छोरा हुर्काइरहेकी छन् । ‘श्रीमानसँग सम्बन्ध बिग्रेर माइती बस्दा झन् समस्या हुँदो रहेछ,’ उनले दुःखेसो पोखिन्, ‘छरछिमेकले पनि फलानोकी छोरी आफैं बिहे गरेर गाकी, घर गर्न नसकेर माइत बस्छे भनेर कुरा काट्छन् । चाँडै नै विवाह गरेकाले दुःख आइलाग्यो, यस्तो पीडा कसैले पनि भोग्न नपरोस्,’ उनले भनिन् । कनपा ४ कै कुमार थापा र पारु थापाले पनि सानै उमेरमा विवाह गरे । अहिले २० वर्षीय कुमार र पारु विवाह गर्दा १७ वर्षकी थिए । कक्षा ११ मा पढदा उनीहरूले आफूखुसी विवाह गरेका हुन् । विवाहपछि दुवै जनाले पढाइ छोडे । कुमार अहिले ज्यामी काम गर्छन् । पारु घरमा खान बनाउने, लुगा धुने, घाँस काट्ने, दाउरा जाने काम गर्छिन् । पारुलाई नयाँ–नयाँ डिजाइनका लुगा लगाउन, घुम्न मन पर्छ । तर बुहारी भएपछि उनले चाहेजस्तो लगाउन, घुम्न पाएकी छैनन् । कुमार पारुलाई खुसी पार्न त खोज्छन् । तर पुर्याउन सक्दैनन् । पढाइ नसकी विवाह गरेकोमा कुमारलाई पश्चाताप छ । विवाहपछि पारुको समेत जिम्मेवारी थपिएकाले उनले पढाइलाई निरन्तरता दिन सकेनन् । उनी भन्छन्, ‘पढाइ पूरा गरेको भए राम्रो जागिर पाउँथे । जागिर खाएर पारुका रहरहरू सजिलै पूरा गर्न सक्ने थिए । तर के गर्नु त्यति बेला बुद्धि बिग्रियो । अहिले पछुतो लाग्छ । सानै उमेरमा विवाह गरेकोमा कुमारलाई मात्र हैन पारुलाई समेत पछुतो छ । यसैगरी कनपा १४ चन्दपुरकी सरस्वती खडकालाई भने श्रीमानले बीचमै साथ छोडे । नेपाल प्रहरीमा जागिरे उनका श्रीमान् परिवारको कुरा सुनेर उनीबाट टाढिए । श्रीमान् र घर परिवारको साथ नपाउँदा उनलाई अहिले जीवन चलाउनै मुस्किल परेको छ । यी सबै छिटै विवाह गर्नुको परिणाम रहेको उनको बुझाइ छ । सरस्वती कक्षा ११ मा पढदा १८ वर्षकी थिइन् । त्यही बेला उनको मागी विवाह भएको हो । उनका एक छोरी र एक छोरा छन् । श्रीमान् घर आउन छोडे । घर व्यवहार चलाउन र छोराछोरीको पढाइ खर्च दिनु त परै जाओस्, फोन गर्नसमेत छोडेपछि उनी अहिले माइती नजिकै छुट्टै घर बनाएर बसेकी छन् । आफ्नो र छोराछोरीको सम्पूर्ण जिम्मेवारी सरस्वतीकै काँधमा छ । ‘घर परिवारले कहिल्यै राम्रो गरेनन् । देख्यो कि टोकसो सुरु हुन्थ्यो । सानै भएकाले मैले पनि बुहारीको भूमिका पूरा गर्न जानिनँ । अनि परिवारको प्यारो हुन सकिनँ,’ उनले भनिन्, ‘पढाइ पूरा गर्न पाएको भए सानोतिनो जागिर गरेर घरव्यवहार टार्न र छोराछोरी पढाउन सहज हुने थियो ।’ विवाह भएको १ वर्ष हुनै नपाई छोरी जन्मिई । अर्को वर्ष छोरा जन्मियो । छोरा छोरीलाई हुर्काउनुपर्ने बाध्यताले पढाइ पनि रोकियो । सरस्वतीले अहिले माइतीको जग्गामा खेतीपाती गरेर छोराछोरी मुस्किलले पढाइरहेको बताइन् । यी त प्रतिनिधि पात्र मात्रै हुन् । पढ्ने, लेख्ने र अभिभावकको संरक्षणमा हुर्किनुपर्ने उमेरमा बिहे गरेका अधिकांश जोडी खुसी छैनन् । कोही शारीरिक रूपमा त कोही मानसिक रूपमा विक्षिप्त छन् । धेरैको सम्बन्ध त वर्ष दिन नहुँदै टुट्ने गरेको छ ।
बढ्दै छन् किशोरी आमा
जिल्ला अस्पताल सिन्धुलीको तथ्यांकमा पनि जिल्लामा किशोरी आमा बन्ने क्रम बढदो देखिन्छ । अस्पतालको तथ्यांकअनुसार गत वैशाखदेखि हालसम्ममा २ सयभन्दा बढी १६ वर्षदेखि २० वर्षमुनिका किशोरीले प्रसूति सेवा लिएका छन् । कानुनले २० वर्ष नपुगी विवाह गर्न नपाइने भने पनि जिल्लामा २० वर्षमुनि आमा बन्ने अत्यधिक मात्रामा रहेको अस्पतालको तथ्यांकबाट प्रस्ट हुन्छ । यो त जिल्लामा सञ्चालित एक मात्र प्रसूति केन्द्रको विवरण हो । सिन्धुलीमा झन्डै ३० वटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । ती संस्थाहरूको तथ्यांकलाई समेत हेर्ने हो भने २० वर्ष नपुग्दै आमा बन्नेहरूको तथ्यांक डरलाग्दो रहेको अस्पतालले जनाएको छ । बाल विवाह न्यूनीकरणका लागि जिल्लास्थित सरोकारवालाहरूले विभिन्न कार्यक्रम गरिरहेको बताए पनि जिल्लामा बाल विवाह बढिरहेको तथ्यांक देखिन्छ । २०७५ भदौ १ गतेबाट जारी भएको मुलुकी संहितामा पनि २० वर्षपछि मात्र विवाह गर्न सकिने उल्लेख गरेको कानुन व्यवसायी नारायण बरालले बताए । मुलुकी संहिताअन्तर्गत देवानी संहितामा केटाकेटी दुवैले २० वर्ष नपुगी विवाह गर्न नपाउने उल्लेख गरेको छ । यदि विवाह भएमा स्वतः बदर हुन्छ । यदि कसैले २० वर्षभन्दा अगाडि आफूखुसी विवाह गर्छ वा घरपरिवारले नै विवाह गरिदिन्छ भने केटाकेटी र विवाह गरिदिने अभिभावक दुवैलाई ३ वर्षको कैद र २० हजार रुपैयाँ जरिवानाको व्यवस्था रहेको उनको भनाइ छ । बालविवाह बढ्नुको प्रमुख कारण असुरक्षा, बलात्कार र जनचेतनाको अभाव रहेको महिला अधिकारकर्मी सविता कोइरालाको तर्क छ । बढदो बलात्कारका कारण छोरीहरूको असुरक्षाको डरले छिट्टै नै विवाह गरे उसलाई श्रीमानले संरक्षण गर्छ भन्ने सोचाइले गर्दा बाल विवाह भइरहेको उनको बुझाइ छ । ‘छोरी कोमल अनि कमजोर हुन्छन् । उनीहरूलाई पुरुषको साथ चाहिन्छ । बाबु, दाजुभाइ अनि श्रीमानको सहयोगमा मात्रै अघि बढ्न सक्छन् भन्ने गलत सन्देश दिन अब बन्द गर्नुपर्छ,’ उनले बताइन् । जनचेतनाको अभावमा यी सबै कुराहरू भइरहेको उनको जिकिर छ । त्यस्तै पुरुषवादी चिन्तनलाई मलजल गर्ने खालका गीत, संगीत र साहित्यले पनि छोरी मान्छेलाई हिन भावना पाल्न र आत्मबल कमजोर बनाउन सघाइरहेको कोइरालाको बुझाइ छ।
२०७५ चैत १५ गते ८:२६ मा प्रकाशित