समाचारमा बालबालिका

खोपबाट वञ्चित बालक

बालबालिका जन्मेको १५ महिनाभित्र सबै प्रकारका खोप लगाउनुपर्छ । छुटेका खोप पनि २१ महिनाभित्र पूरा गरिसक्नुपर्छ । सबै वडामा सबै प्रकारका खोप लगाएको भन्दै बागलुङलाई २०७५ असार २५ मा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । तर, ढोरपाटन नगरपालिका–२ अर्नाकोट गाउँमा २ वर्षको एक बालकले एउटा पनि खोप नलगाएको भेटिएको छ । सावित्रा परियारका छोरा सन्देशलाई कुनै पनि खोप नलगाइएको हो । ‘म पटकपटक बिरामी भएँ, उपचार गराउन पनि सकिनँ, छोरालाई खोप लगाउने सम्भव भएन,’ सावित्राले भनिन्, ‘घरकै कामले सधैं खटिनुपर्दा स्वास्थ्य संस्था पुग्न सकिएन ।’ अर्नाकोटदेखि बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुग्न पैदल ३ घण्टा लाग्छ । जिप चढेर गए २ सय रुपैयाँ भाडा तिर्नुपर्छ । आर्थिक रूपमा कमजोर भएकाले खोप लगाउने र आफ्नै उपचारका लागि पनि स्वास्थ्य संस्था जान नसकेको उनले बताइन् । उनी सुत्केरी भए लगत्तै श्रीमान् हरिबहादुर परियारले अर्को बिबाह गरेर हिँडेका थिए । उनले भनिन्, ‘हामीले पनि खोप लगाइएन, के होला र ।’ तर उनको छोरा ख्याउटे छन् । पोषण पुगेको छैन । हेर्दा पनि दुब्लो र पातलो छन् । गाउँमा पुगेका सामाजिक परिचालकले उनको पोषण र ख्याउटेपन नाप्दा कमजोर भेटिएको थियो । ‘मैले पुगेर नाप्दा ख्याउटेपन तल्लो अंकमा भेटियो’ सुआहारा परियोजनाकी फिल्ड सुपरभाइजर मुना थापामगरले भनिन्, ‘पहेलो स्तरमा उनको अवस्था पुगेको रहेछ ।’खोप नलगाएको शिशुको शरीर र बौद्धिक विकासमा असर पर्ने धौलागिरि अञ्चल अस्पतालका मेसु डा। शैलेन्द्र पोखरेलले बताए । ‘खोप नलगाएपछि बालबालिकालाई जुनसुकै बेला टिबी, इन्फ्लुएन्जा, पोलियो, निमोनिया र अन्य गम्भीर रोग लाग्न सक्छ’ उनले भने, ‘पोषणको मात्रा नपुग्दा ख्याउटे हुने र बौद्धिक तथा शारीरिक रुपमा अपांग बन्ने खतरा पनि छ ।’ उनले तत्कालै उपचारको लागि अस्पतालमा पुर्‍याउन आग्रह गरे ।आफ्नै वडामा खोप नलगाएका बालबालिका भएको थाहा नपाएको वडाध्यक्ष युवराज महतले बताए । ‘यस्तो नहुनुपर्ने हो, म खोजी गर्छु’ महतले भने । स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाईजर देवप्रकाश घिमिरेले खोप र रोगबारे तत्कालै बुझ्ने बताए ।साबित्राको ५ छोरा रहेकामा जेठो सुवास २१ बर्षका भए । १७ वर्षकी बुहारी चिजा गर्भवती छिन् । उनलाई हेपाटाइटिस रोग लागेको छ । उनले पनि सबै प्रकारको खोप लगाउन भ्याएकी छैनन्।

२०७६ असोज ९ गते १०:४३ मा प्रकाशित