प्रदेश नं २ मा खोपको मात्रा पूरा गर्ने बालबालिकाको संख्या न्यून
सरकारले विभिन्न ३३ जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषित गरेपनि २ नम्बर प्रदेशका कुनै जिल्ला अहिलेसम्म समेटिन सकेका छैनन् । मानव सूचकांकमा पछाडि परेका प्रदेश नम्बर २ का ८ जिल्लाका बालबालिकाले खोपको सम्पूर्ण मात्रा पुरा गर्न नपाएका हुन् । खोपको पहुँच र मात्रा पूरा गर्ने बालबालिकाको संख्या प्रदेश नम्बर दुईमा सबै भन्दा कम रहेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको एक अध्ययनले पनि देखाएको छ । सो क्षेत्रमा खोपको मात्रा पूरा गर्नुपर्ने चेतनाको कमी तथा पछिल्लो समय भएका बन्द हड्ताल र प्राकृतिक विपत्तिका कारण बालबालिकाले खोपको मात्रा पूरा गर्न नसकेको शाखाका प्रमुख कृष्णबहादुर चन्दले बताउनुभयो । दाङ, सोलुखुम्बु, रामेछाप र गोरखा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषित हुने अन्तिम चरणमा रहेको महाशाखाले जनाएको छ । सरकारले २०७० साल फागुन १३ गते पाल्पालाई पहिलो पटक पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेको थियो ।
२०७४ पुस १९ गते प्रकाशित