समाचारमा बालबालिका

शिक्षकको यातनाका कारण यूकेजीमा अध्ययनरत बालकको मृत्यु

झन्डै डेढ महिनाअघि शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका चरिकोटस्थित गौरीशंकर इंग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत ६ वर्षीय बालक सुदीप बस्नेतको मृत्यु भएको छ । यूकेजीमा अध्ययनरत सुदीपको आइतबार उपचारका क्रममा काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो । दोलखाको झ्याँकु निवासी सो स्कुलका शिक्षक दाबा के शेर्पाले गत २९ जेठमा सुदीपलाई कक्षा कोठामै गम्भीर घाइते हुने गरी कुटपिट गरेका थिए । कुटपिटका कारण उनको खुट्टा, हात र ढाडमा गम्भीर चोट लागेको थियो । कुटपिटपछि घाइते भएका बालक सुदीपलाई चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा तीन दिन तथा सामुदायिक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा १/१ दिन राखेर जुँगुस्थित घर लगिएको थियो । तर, घरमा एक्कासि गम्भीर बिरामी परेपछि सुदीपलाई १६ असारमा हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको थियो । सुरुमा ग्रान्डी अस्पतालमा उपचार गरेपछि उनलाई शिक्षण अस्पताल रिफर गरिएको थियो । शिक्षण अस्पतालमै उपचारका क्रममा उनको मृत्यु भएको हो ।

सुदीपका परिवार र आफन्तले शिक्षक शेर्पाको कुटाइबाटै उनको मृत्यु भएको दाबी गर्दैै क्षतिपूर्ति र पीडकमाथि कारबाही माग गरेका छन् । तर, सुदीप अध्ययनरत विद्यालयले भने आफ्ना शिक्षकको कुटाइका कारण मात्रै मृत्यु नभएको दाबी गरेको छ । सो विद्यालयका प्रधानाध्यापक सूर्यकृष्ण श्रेष्ठका अनुसार बालक सुदीपको मृत्यु ‘भ्यास्कुलिटिज र मेनिङगोयन्सफ्यालिटी’ नामक रोगका कारण भएको बताए । ‘बालक सुदीपको मृत्युमा शिक्षक शेर्पाको मात्र दोष देखिन्न, उनमा गम्भीर प्रकृतिको रोग पनि रहेछ,’ प्रधानाध्यापक श्रेष्ठले भने । मृतक बालकका मामा शंकर बस्नेतका अनुसार सुदीपको उपचारका क्रममा करिब १० लाख रुपैयाँ खर्च भइसकेको छ । जसमध्ये गौरीशंकर इंग्लिस बोर्डिङ स्कुलले २ लाख ७१ हजार र यातना दिने शिक्षक शेर्पाले १ लाख ६६ हजार बेहोरेका छन् । शिक्षकको यातनाकै कारण आफ्नो छोराको मृत्यु भएको भन्दै सुदीपका बाबु महेश बस्नेतले यातना दिने शिक्षकलाई कर्तव्य ज्यान मुद्दासरहको सजाय हुनुपर्ने माग राखेका छन् । साथै सम्पूर्ण उपचार खर्च यातना दिने शिक्षक र विद्यालयले बेहोर्नुपर्ने बताएका छन् । उनीहरूले कारबाही र क्षतिपूर्तिको माग गर्दै मृतक सुदीपको शव बुझ्न मानेका छैनन् ।  यातना दिने शिक्षक शेर्पालाई भने दोलखा प्रहरीले हिरासतमा राखेको छ ।

२०७५ साउन ८ गते प्रकाशित