समाचारमा बालबालिका

मालिकको घरबाट दुई कम्लहरीको उद्धार

बैजनाथ गाउँपालिका–४, बानियाभारमा कम्लहरी राखिएको दुई बालिकाको उद्धार गरिएको छ। पढ्ने र घरायसी काममा सघाउने शर्तमा राखिएका ११ र १२ वर्षका दुई कम्लहरीको सोमबार उद्धार गरिएको हो।  जिल्ला बाल कल्याण समितिको नेतृत्वमा केन्द्रीय बाल कल्याण समिति, महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रहरी, श्रम कार्यालय, सिविन, मुक्त कम्लहरी विकास मञ्चलगायत सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारीको टोलीले बैजनाथ गाउँपालिका–४, बानियाभारकी ११ र १२ वर्षीया बालिकालाई उद्धार गरेर पुनर्स्थापना केन्द्रमा राखेको छ। उनीहरु दिदीबहिनी हुन्। घरमा बालश्रमिक राखेको गोप्य सूचनाको आधारमा दुई बालिकाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत खगेन्द्र पौडेलले बताए।  उनले बानियाभारका विनिता शाह र मुकुन्द शाहको घरमा कम्लहरी बसेका दुई बालिकाको उद्धार गरी नेपालगञ्ज ल्याएको जानकारी दिए। ‘विनिता शाहले लक्ष्मी नाम गरेको बालिकालाई कम्लहरी राखेको भन्ने उजुरीको आधारमा घरमा पुग्दा लक्ष्मीकी दिदी पनि नजिकैको घरमा कम्लहरी बसेको जानकारीमा आएपछि दुवैजनालाई उद्धार गरेर ल्याएका छौं,’ उनले भने। दुई बालिकामध्ये एक जना एक वर्षदेखि र एक जना एक महिनादेखि कम्लहरी बसेका थिए। 

२०७४ पुस १७ गते प्रकाशित