एकसाथ विद्यालयका दुई सय विद्यार्थी बिरामी
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ बुङको पेल्माङ आधारभूत विद्यालयमा अध्ययनरत दुई सय भन्दा बढी बालबालिका एक साथ बिरामी भएका छन् । शनिबारदेखि एक दुईजनामा रुघाखोकीको लक्षण देखिएको भए पनि आइतबारसम्म दुई सय भन्दा बढी बालबालिका प्रभावित भएपछि अभिभावकमा त्रास फैलिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सोताङबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले फ्लू हुन सक्ने आशांका गरेको छ । डा। सन्डु शेर्पाले सोमबार र मंगलबार गरी दुई सय भन्दा बढी बिरामीको परीक्षण गरिएको जानकारी दिनुभयो । उहाँले बालबालिकामा देखिएको लक्षणका आधारमा उपचार गरिरहेको बताउनुभयो । उच्च ज्वरो आउने, छाती पोल्ने, वाकवाकी आउने, खुट्टा झमझमाउने, टाउको दुख्ने, झाडापखाला लाग्ने लक्षण देखिएको छ । बिरामीको उपचारका लागि अहिले प्राथमिक स्वास्थ्य केन्द्र सोताङबाट डा। शेर्पाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटिएको छ । यसैबिच पेल्माङ आधारभूत विद्यालय माघ ६ गतेसम्मका लागि बन्द गरिएको प्रधानाध्यापक टंकबहादुर दाहालले जानकारी दिनुभयो ।
२०७४ माघ ३ गते ८:४५ मा प्रकाशित