समाचारमा बालबालिका

२६ सय बालबालिका विद्यालय बाहिरै

स्कुल जाने उमेरका करिब २ हजार ६ सय बालबालिका अहिले पनि विद्यालयको पहुँचमा आउन सकेका छैनन् । पढ्ने उमेरका बालबालिकालाई विद्यालयको भित्र्याउने उद्देश्यसाथ बर्सेनि भर्ना अभियानलगायत विभिन्न गतिविधि सञ्चालन गरे पनि उनीहरू स्कुलभन्दा बाहिर छन् । जिल्लामा १५ देखि ६० वर्ष उमेरसम्मका ९८ प्रतिशत साक्षर संख्या छ । यही कारण गत वर्ष साक्षर जिल्ला घोषणासमेत गरिएको थियो । स्कुल जाने उमेरका भने ठूलो संख्या अझै शिक्षाबाट टाढै छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका अनुसार मकवानपुरमा ५ देखि १२ वर्षसम्मका ८३ हजार ५ सय ७५ बालबालिका छन् । तीमध्ये ८१ हजार विद्यालय भर्ना भएका छन् । विद्यालय भर्ना नभएकालाई भर्ना गराउन दोस्रो चरणको अभियानसमेत सञ्चालन गरेको शिक्षा विकास समन्वय इकाइ प्रमुख कृष्णप्रसाद घिमिरेले बताए । आगामी भदौ ३१ गतेसम्म ती बालबालिकालाई विद्यालय भित्र्याउने योजना उनले सुनाए । बालबालिकालाई विद्यालयमा भर्नामात्र होइन, टिकाइराख्ने अभियानै सुरु गर्नुपर्ने छ । यही उद्देश्यसाथ पहिलो चरणको भर्ना अभियानमा मकवानपुरका ८७ जनाले बालबालिकाको अभिभावकत्व ग्रहण गरेका थिए । ‘पढ्ने उमेरका तर स्कुल नआउनेको संख्या बढीमा २६ सय रहेको अनुमान छ,’ घिमिरेले भने, ‘उनीहरूलाई विद्यालय प्रवेश गराउन सबै क्षेत्रबाट प्रयत्न भइरहेको छ, दोस्रो चरण उनीहरूमा लक्षित गरिनेछ । अभिभावकको अज्ञानता, खाद्य असुरक्षा र विद्यालय टाढा भएका कारण भर्ना हुन सकेका छैनन् । मकवानपुरका चेपाङ, तामाङ, पहरी र माझी समुदायका बालबालिका घरायसी कारण भर्ना हुन नआएको समन्वय इकाईका वरिष्ठ अधिकृत शम्भु पौडेलले बताए, ‘उनीहरूलाई विद्यालय ल्याउने कोसिस भइरहेको छ।’ चेपाङ, माझी, पहरी र वनकरिया समुदायका बालबालिकालाई विद्यालय आकर्षण गराउने उद्देश्यले सरकारले प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ खाजा खर्चसमेत दिने गरेको छ। खाँजा खर्चको रकम सम्बन्धित विद्यार्थीकै अभिभावकलाई दिने गरेकाले बालबालिकामा सकारात्मक प्रभाव परेको छैन । स्कुलले नै उनीहरूलाई विद्यालयमा दिउँसो खाजा खुवाउने गरेको भए अरू प्रभावकारी हुने थियो कि ? समन्वय इकाईका एक अधिकृतले भने, ‘सरकारले भने अभिभावकलाई नगद भुक्तानी दिने भनेको छ । उक्त रकमको विद्यालयमै खाजा खुवाउने व्यवस्था भए विद्यार्थी आकर्षित हुने उनी बताउँछन् । जिल्लामा प्रावि, आधारभूत र मावि तहका गरी ४ सय १६ सामुदायिक विद्यालय छन् । ईसीडीमा ९ हजार ६ सय ३२, प्राविमा ४९ हजार ६ सय २७, आधारभूतमा २३ हजार ८ सय ३ र ८ कक्षादेखि १२ कक्षासम्म १५ हजार ५ सय ८१ विद्यार्थी अध्ययनरत छन् । स्कुलमा उपस्थित भएका शिक्षकले पनि पूरा समय नपढाउने गरेकाले पनि सिकाइमा समस्या देखिएको छ । अधिकृत पौडेलका अनुसार मकवानपुरको सिकाइ दर ४७ प्रतिशत रहेको छ ।

 २०७५ साउन २१ गते ८:५४ मा प्रकाशित