समाचारमा बालबालिका

किशोरी बेचबिखन प्रयासको अभियोगमा दुई जना पक्राउ

१७ बर्षकी किशोरी बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेका ७१ बर्षका भीमप्रसाद ढकाल र ३९ बर्षका रामवावु दूतराज (बिक) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वासुदेव खतिवडाले बताए । उनीहरुले चितवनतर्फ लैजाँदै गर्दा किशोरीलाई शंका लागी भागेर घर फर्किएकी थिइन् । त्यसपछि घटनाबारे आमालाई सुनाएकी थिइन् । आमाले आफन्तसँगको सल्लाहमा ढकाल र दूतराजविरुद्ध प्रहरीमा जाहेरी दिएका डीएसपी खतिवडाले बताए । ‘कक्षा ९ मा पढ्ने बालिकालाई तिम्रो हाइट पनि रहेछ, हत्केला पनि राम्रो छ, चितवन गयौ भने तिम्रो भाग्य चम्किन्छ, एक करोड पाउछौ भनेर ललाइफकाइ गरेछन्,’ डीएसपी खतिवडाले भने ।उनका अनुसार माघ २३ गते ढकाल र दूतराजले उक्त व्यक्तिहरुले बालिकाको हाइट नापेर भिडियोसमेत बनाएका थिए । ‘अघिल्लो दिन भिडियो बनाए, भोलिपल्ट ९माघ २४ गते० बालिकालाई लिएर उनीहरु घरबाट हिँडे,’ उनले भने, ‘बाटोमा पुगेपछि बालिकालाई शंका लागेछ अनि भागेर घर आइछिन् र आमालाइ भनिछन् ।’प्रहरीमा जाहेरी परेपछि ढकाल र दूतराजलाई प्रहरीले गाउँबाटै पक्राउ गरेको हो । उनीहरु विरुद्ध बेचविखन तथा मानव ओसारपसार कसूर अन्तर्गत प्रहरीले अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतबाट ७ दिनको म्याद लिएको छ।

२०७६ माघ २७ गते १२:४७ मा प्रकाशित