समाचारमा बालबालिका

कक्षाकोठा र कार्यालय एउटै शौचालय नहुँदा चौरमा शौच

जिल्लाका अधिकांश विद्यालयमा पर्याप्त कक्षाकोठा र  भवन अभाव रहेको पाइएको छ । कतिपय विद्यालय भवनबिना नै सञ्चालनमा रहेको समेत पाइएको छ । पछिल्लो समयमा विभिन्न बहानामा खोलिएका विद्यालयका व्यवस्थापन समितिले ध्यान दिन नसक्दा अधिकांश विद्यालयमा भवनबिना नै पठनपाठन भइरहेका छन् । भवन नहुने विद्यालय प्रायः जिल्ला शिक्षा कार्यालयबाट विद्यालय सञ्चालनका लागि अनुमति पाएका स्वीकृत नभएका छन् । यसका साथै  पहुँचवाला व्यक्तिहरूले मात्र जिल्ला शिक्षा कार्यालयबाट भवन निर्माणका लागि योजना पाउने भएकाले पनि पहुँच पु¥याउन नसक्ने विद्यालयहरू भवनबिना नै सञ्चालनमा रहेका छन् ।

धेरैजसो निजी स्रोतबाट सञ्चालित विद्यालयहरूको भवन कक्षाकोठा छैन । भवन अभावमा कतिपय विद्यालयले बहुकक्षासमेत सञ्चालन गरिरहेका छन् भने कतिपय विद्यालयको कार्यालय र कक्षाकोठा एउटै कोठामा रहेको पाइएको छ । जिल्लाको मेल्लेख गाउँपालिका–५ स्थित खापर आधारभूत विद्यालयमा कक्षा ४ को पढाइ र विद्यालयको कार्यालय एउटै कोठामा सञ्चालन भइरहेका छन् । विद्यालयलाई भवन आवश्यक रहेको भन्दै जिल्ला शिक्षा कार्यालयसँग पटकपटक माग गर्दा पनि माग सुनुवाइ नभएको सो विद्यालयका प्रधानाध्यापक नन्दबहादुर खड्काको गुनासो छ । पहुँचवालाले मात्र योजना पाउने प्रवृत्ति भएकाले आफ्नो विद्यालयको भवन निर्माणमा जिल्ला शिक्षा कार्यालयको ध्यान नपुगेको उनले गुनासो गरे । यस्तै, मेल्लेख गाउँपालिकामै रहेको भवानी आधारभूत विद्यालयले शान्ति मन्त्रालयबाट पाएको भवनबाहेक हालसम्म भवन निर्माणका लागि कुनै पनि योजना पाएको छैन । त्यसबाहेक शौचालय र विद्यालयको भवन स्थानीयले जनश्रमदान गरी निर्माण गरेको प्रधानाध्यापक मनिराम खड्काले जानकारी दिए ।

जिल्ला शिक्षा कार्यालय अछामका शाखा अधिकृत चक्रबहादुर कुँवरले यसपछि स्थानीय तहबाट नै योजना वितरण हुने भएकाले आवश्यक पर्ने संरचना स्थानीय तहमै माग गर्न विद्यालयलाई आग्रह गरेका छन् । यदि त्यसपछि पनि जिल्ला शिक्षा कार्यालयले भवन वितरण गर्न पाउने अवस्था रहे ती विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर भवन निर्माण योजना वितरण गरिने कुँवरले बताए । विद्यालय सरसफाइको अवस्थाबारे स्थलगत अनुगमन गर्न गत मंगलबार जिल्लाबाट गएको सरोकारवालाको टोलीले ती विद्यालयहरूमा खानेपानी र सरसफाइको अवस्था अत्यन्तै राम्रो रहेको निष्कर्ष निकाले पनि विद्यालयलाई भवन अभाव देखिएको टोलीको निष्कर्ष छ । यस्तै, कमलबजार नगरपालिका–७ फल्टानेस्थित मनकामनादेवी माध्यमिक विद्यालयमा शौचालयको उचित व्यवस्था हुन नसक्दा शिक्षक र विद्यार्थी खुला चौरमै दिसापिसाब गर्न बाध्य छन् । विद्यालयमा रहेको एक मात्र शौचालय १२ वैशाख २०७२ का दिन गएको भूकम्पका कारण भत्किएपछि हालसम्म पुनर्निर्माण हुन नसक्दा विद्यालयलाई नै समस्या परेको प्रधानाध्यापक हेमन्तप्रसाद खतिवडाले गुनासो गरे । ‘शौचालय नहुँदा दिसापिसाब लागेका विद्यालयका शिक्षक र विद्यार्थी सबै खोल्साखोल्सी तथा रूखबुट्यान खोज्दै हिड्न विवश छौं,’ उनले भने ।

२०७४ पुस २१ गते प्रकाशित