समाचारमा बालबालिका

५ वटा कक्षाका विद्यार्थी एउटै कोठामा

छत्रेश्वरी गाउँपालिकाको भोटचौरस्थित त्रिभुवन जन माविमा सञ्चालित सुस्तश्रवण स्रोत कक्षाका विद्यार्थी एउटै कोठामा बसेर अध्ययन गर्न बाध्य छन् । स्रोत शिक्षाअन्तर्गत कक्षा १ देखि ५ सम्मका बालबालिका एउटै कक्षामा बसेर पढिरहेका छन् । एउटै कक्षामा बसालेर पढाउँदा विभिन्न समस्या आउने गरेको छ । शिक्षक अभावले ५ वटै कक्षाका बालबालिकालाई सँगै राखेर पढाउनुपर्ने बाध्यता भएको विद्यालयको भनाइ छ । ‘सँगै राखेर पढाउँदा बुझिँदैन,’ एक विद्यार्थीले सांकेतिक भाषामार्फत भने, ‘हामीले पटकपटक छुट्टाछुट्टै कोठामा पठनपाठन गराउन माग गरे पनि सम्भव भएको छैन । प्रधानाध्यापक जितबहादुर भण्डारीका अनुसार कक्षा १ देखि ५ सम्म ११ छात्र र ४ छात्रा अध्ययनरत छन् । विद्यार्थी संख्या बर्सेनि बढ्दै गए पनि सुस्तश्रवणका बालबालिकालाई पढाउने एक मात्र शिक्षक हुँदा पठनपाठनमा समस्या भएको उनले जनाए । ‘स्रोत कक्षाका लागि एक मात्र शिक्षक कार्यरत भएकाले समस्या भएको हो,’ उनले भने, ‘स्रोतकक्षाका बालबालिकालाई अध्ययन गराउन शैक्षिक सामग्री, पाठ्यपुस्तक, फर्निचर, खेलकुद सामग्रीलगायत समस्या पनि छ । २०५९ सालमा साबिक जिल्ला शिक्षा कार्यालयले विद्यालयमा सांकेतिक कक्षा सञ्चालन गरेको थियो । विद्यालयमा १० विद्यार्थीको मात्र कोटा कायम गरिए पनि अहिले १५ जना अध्ययनरत छन् । गाउँपालिकाको सहयोगमा स्मार्ट टीभीअन्तर्गत पठनपाठन हुन थालेपछि सुस्त श्रवण कक्षाका बालबालिकासमेत थपिएको विद्यालयले जनाएको छ । भाषा शिक्षकै नहुँदा पठनपाठन अन्योलमा परेको उनले जनाए । ‘पहिले बालबालिकाले हाउभाउबाटै पठनपाठन गर्दै आइरहेका थिए,’उनले भने, ‘सांकेतिक भाषाकै शिक्षिका आएपछि पठनपाठनमा धेरै परिवर्तन आएको छ ।’ उनले विभिन्न अभावबीच पनि बालबालिकाको शैक्षिक गुणस्तर बढ्दै गएको दाबी गरे । सांकेतिक भाषा शिक्षक शान्ता केसीले सबैलाई सँगै राखेर पढाउँदा कठिनाइ हुने बताइन् । अरू शिक्षकको व्यवस्था भए छुट्टाछुट्टै कक्षामा बालबालिकालाई पढाउन सकिने उनले बताइन् । अहिले गाउँपालिकाको सहयोगमा स्मार्ट टीभीमार्फत आफूले अध्यापन गराइरहेको उनले जानकारी दिइन् । सुस्तश्रवण कक्षा सञ्चालन गरेपछि बालबालिकालाई खान–बस्न व्यवस्था सरकारले गर्दै आएको उनको भनाइ छ ।

२०७५ फागुन २९ गते १२:२१ मा प्रकाशित