समाचारमा बालबालिका

विद्यालय अवधिमा शिक्षकले मोबाइल बोक्न नपाउने गाउँपालिकाको निर्णय

जिल्लाको पचालझरना गाउँपालिकाको शिक्षा विभागले शैक्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शिक्षाको गुणस्तर वृद्धि गर्न शैक्षिक नीति बनाएको हो। गाउँपालिकाले शैक्षिक नीति सार्वजनिक गर्दै अभिभावकले आफ्नो आम्दानीको २० प्रतिशत र गाउँपालिका ३० प्रतिशत लगानी गर्ने शिक्षा नीति सार्वजनिक गरेको छ। गाउँपालिका भित्रका सबै विद्यालयमा दरबन्दी पूर्ण गर्ने, विद्यालयमा अनिवार्य बालमैत्री खानेपानी, छात्र/छात्रा शौचालयको व्यवस्था, कक्षा ८ सम्मको परीक्षा गाउँपालिकास्तरीय गर्ने, हरेक विद्यालयमा शैक्षिक क्रियाकलाप र शुक्रबारीय कार्यक्रम अनिवार्य गर्ने शिक्षा नीति सार्वजनिक गरेको छ।

त्यस्तै, कम्प्युटर र अंग्रेजी भाषा शिक्षा अनिवार्य बनाउने, विद्यालयमा प्रधानाध्यापकबाहेक अन्य शिक्षक शिक्षिकाहरुलाई विद्यालय अवधिमा मोबाइल निषेध गर्ने नीति पनि सार्वजनिक गरेको गरेको छ। विद्यालयमा ट्युसन बन्द गरी कोचिङ कक्षा सञ्चालन गर्ने त्यसका लागि गाउँपालिकाले विद्यालय वार्षिक ५० हजार रुपैयाँ उपलब्ध गराउने नीति लिएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए। ‘बिद्यार्थी मासिक हाजिरीका आधारमा बिद्यालयले विद्यार्थी घरमा पत्रचार गर्नुपर्नेछ।’ उनले भने,‘गाउँपालिकाको शैक्षिक गुणस्तर बढाउन शिक्षा नीति नयाँ बनाउनुपरेको हो। विद्यालय परीक्षामा राम्रो नतिजा ल्याएमा शिक्षकलाई पुरुस्कृत गर्ने नीतिसमेत लिएको गाउँपालिका अध्यक्ष सेजुवालले बताए। ‘शैक्षिक सुधार नगरी गाउँपालिकाको अन्य विकास सम्भव नै छैन।’ उनले भने,‘शैक्षिक गुणस्तर वृद्धिका लागि सबै प्रकारका नयाँ कानुन बनाइएको छ।’ गाउँपालिका भित्रका सबै विद्यालयका प्रधानाध्यापक, शिक्षक, राजनीतिक दल, जनप्रतिनिधि, अभिभावक, गाउँपालिकाका पदाधिकारी र शिक्षासँग सराकोरवालाहरुको गोष्ठीको आयोजना गरेर शिक्षा नीतिलाई गाउँपालिकाले पारित गरेको गाउँपालिका उपाध्यक्ष तारा न्यौपानेले बताइन्। ‘गाउँपालिका सबै सरोकारवालाहरुको गोष्ठीले यो निर्णय गरेको हो।’ उनले भनिन्, ‘यसले गाउँपालिका भित्रको शिक्षा नीतिमा एकरुपता कायम गर्नेछ । 

२०७४ माघ ८ गते प्रकाशित