समाचारमा बालबालिका

लकडाउनमा बालबालिकाको अत्यासलाग्दो आत्महत्या : केही गंभिर प्रश्नहरु

कोभिड–१९ को विश्वव्यापी प्रभाव अहिले पनि कायम छ । यसले मानव जीवनलाई प्रत्यक्ष र परोक्ष रुपमा दीर्घकालसम्मै असर पु¥याउने छाँट देखिन्छ । यो वैश्विक संकटबाट नेपाल अछुतो छैन ।

यसले आर्थिक÷सामाजिक क्षेत्रलाई जसरी छियाछिया बनाइरहेको छ त्यसैगरी मनोवैज्ञानिक समस्या पनि बढाइदिएको छ । कोभिड–१९ को संकट र त्रासादीले कुन तह र तप्कालाई बढी असर गरेको छ ? कुन वर्ग र उमेर समूहले यसको बढी मार खेपिरहेका छन् ? यस सम्बन्धमा अध्ययन-अनुसन्धान गर्न बाँकी नै छ ।

तर, यसबीचमा आएको एउटा तथ्यांक भने अत्याउने खालको छ । लकडाउन सुरु भएको गत चैत्र ११ गतेदेखि यही जेठ १७ गतेसम्म लगभग दुई महिनको अवधिमा १ हजार १ सय पाँच जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये ५ सय ७१ ज्ना पुरुष छन् भने ३ सय ९६ जना महिला । बाँकी संख्या भने बालबालिकाको हो । अर्थात दुई महिने लकडाउनमा १ सय ३८ बालबालिकाले आफैलाई सिध्याएका छन् ।

लकडाउनको समयमा किन यत्तिका धेरै बालबालिका आत्महत्याको मोडमा पुगे ? यो निकै गंभिर र सोच्नुपर्ने प्रश्न हो ।

प्रहरी तथ्यांक अनुसार आर्थिक वर्ष २०७४÷७५ मा दुई सय ५० जना बालबालिकाले आत्महत्या गरेका छन् । त्यसअघिको आर्थिक बर्षमा १ सय ५० जना बालबच्चाले आत्महत्या गरेका थिए । यी अनुपातलाई केलाउने हो भने अहिले बालबच्चाको आत्महत्या दर उच्च देखिन्छ । लकडाउनकै अवधिमा यत्तिका धेरै बालबालिकाले आत्महत्या गर्नुको पछाडि कुनै जटिल कारण पक्कै लुकेको छ ।

त्यसो त नेपाल आफैमा यस्तो मुलुकमा पर्छ, जहाँ धेरैले आत्महत्या गर्छन् । नेपाल प्रहरीको तथ्यांकलाई हेर्दा औसत दिनमा १५ जनाले आत्महत्या गर्छन् । यो अंक बढेर लकडाउनको समयमा औसत १८ जना पुगेको छ । यस संख्याभित्र बालबालिकाको संख्या पनि अधिक छ । बालबालिकाको यो अत्यासलाग्दो आत्महत्या दरले केही गंभिर प्रश्नहरु खडा गरिदिएको छ ।

आमाबुवासँग बस्न पाएका थिए

लकडाउनको कारण सर्वत्र अनेकन संकट देखिएपनि बालबच्चालाई एक हिसाबले राम्रो भएको थियो । उनीहरु आफ्नो बुवाआमाको सामिप्य पाएका थिए । अन्य दिनमा बुवाआमासँग टाढिदै गएका उनीहरुको दैनिकी लकडाउनकै कारण फेरिएको थियो । बालबालिकाहरुले आफ्ना आमाबुवासँग पर्याप्त समय बिताउने अनुकुलता पाएका थिए ।

अन्य दिनमा उनीहरुलाई विद्यालय जाने हतारो हुन्थ्यो, आमाबुवालाई कामधन्दाको चटारो हुन्थ्यो । यसबीचमा उनीहरुले पर्याप्त मात्रामा आपसी समय बिताउने अनुकुलता पाएकै थिएनन् । तर, लकडाउनले आमाबुवा र छोराछोरीलाई अरु एकाकार हुने मौका दियो ।

यसरी आमाबुवासँग बस्न पाउँदा बालबच्चा रमाएको हुनुपर्छ । आमाबुवासँग आफ्नो भावना साझेदार गरेको हुनुपर्छ । उनीहरु आफुलाई मनो–सामाजिक रुपमा सुरक्षित महसुष गरेको हुनुपर्छ । सामान्य हिसाबले सोच्दा यस्तै लाग्छ । तर, नतिजा अर्कै देखियो ।

आमाबुवासँग भलाकुसारी गर्दै, खेल्दै रमाउँदै बस्नुपर्ने बालबच्चाले यही अवधिमा किन आत्महत्या गरे होलान् ? के हाम्रो परिवार बालबच्चाको मनो–सामाजिक विकासका लागि अयोग्य छन् ?

कारण के होला ?

उनीहरुले किन आत्महत्या गरे ? यसको स्पष्ट र ठोस कारण त कतै फेला परेको छैन । तर, हाम्रो सामाजिक मनोविज्ञान, पारिवारिक संरचना र प्रवृत्ति, बालबालिकाको अवस्था हेरेर केही कारण पहिल्याउन सकिन्छ ।

. मानविय भावनाको अनुभूति सबैले गर्छन् । चाहे बालबच्चा हुन् वा वयस्क, सबैमा संवेदनशिलता हुन्छ । अनुभूति गर्ने, स्पर्श गर्ने, ग्रहण गर्ने शैली, अभिव्यक्ति गर्ने जस्ता विषयवस्तु बालबालिकाको हकमा पनि महत्वपूर्ण हुन्छ । जन्मजात आउने यी गुणहरु उमेरसँगै परिपक्क र विकसित हुन्छन् । उनीहरुले प्रकट गर्ने खुसी, निरासाको पनि आफ्नो शैली र भाषा हुन्छ । परिवारभित्रको वतावरणले बालबालिकाको मनो–सामाजिक विकासमा ठूलो भूमिका खेल्छ । परिवार भित्र नै परवारको सदस्यवीचका सम्बन्ध, भाषा, व्यवहार, जस्तो कुरको प्रभाव बालकालिकामा पर्छ । परिवारभित्रको द्वन्द्वमा सबैभन्दा प्रभाव बालबालिकामा पर्छ । घरेलु हिंसा, लैंगिक हिंसा, जाड–रक्सीले निम्त्याउने समस्याको प्रभाव घरमै बसेका बालबालिकामा परेको हुन्छ । कोभिड–१९ को कारण परिवारमा परेको आर्थिक संकटको प्रभावले उनीहरुलाई पनि पिरोलेको हुन्छ । यही कारणले उनीहरुलाई निरास र दुःखी बनाएको हुनसक्छ ।

अहिलेको प्रतिकुल अवस्था, संकट, अभाव आदिबारे घर परिवारभित्र चर्चा परिचर्चा भइरहँदा त्यसको असर उनीहरुमा परेको हुनसक्छ । यसरी उनीहरुको निरासा र दुःखको उचित व्यवस्थापन हुन नसक्दा भावनात्मक रुपले विचलित हुन पुगेका हुनसक्ने एउटा कारण देखिन्छ ।

. लकडाउनको समयमा बालबालिका घरभित्रै बस्नुपर्ने भयो । उनीहरु विद्यालय, बजार, साथीभाईकहाँ जान पाएनन् । यसले उनीहरुमा एक्लोपन महसुष भएको हुनुपर्छ । एक्लोपनले निरासा पैदा गर्छ । उनीहरु मनो–सामाजिक रुपमा कमजोर हुन पुग्छन् । साथीभाईसँग बोलचाल गर्न नपाउने, खेल्न नपाउने, बाहिर घुमफिर  गर्न नपाउने प्रतिकुलताले उनीहरुमा तनाव उत्पन्न भएको हुनसक्छ । यही तनावको उचित व्यवस्थापन गर्न नसक्दा गलत निर्णय गर्ने संभावना रहन्छ ।

. बालबालिकाहरु लामो समय घरभित्रै बस्दा उनीहरुले अधिकांश समय स्क्रीनमा बिताए । मोवाइल, टेलिभिजन, ल्यापटपमा उनीहरु लिप्त भए । सामाजिक सञ्जाल, युट्युब लगायतमा आउने नकारात्मक, हिंसात्मक सामाग्रीहरु हेरे । खासगरी कोरोनाकै विषयमा आउने नकारात्मक र भ्रामक सामाग्रीहरुले उनीहरुमा अन्यौल पैदा ग¥यो । यस्तै नकारात्मक र भ्रमपूर्ण सामाग्रीहरुकै कारण उनीहरु चिन्तित र भयभित भएका हुनसक्छन् ।

. इन्टरनेटको लतले गर्दा बालबालिकाको धैर्यता हराउँदै गएको छ । उनीहरुलाई हरेक कुरा तुरुन्तै हुनुपर्छ भन्ने लाग्न थालेको छ । आफुले चाहेको, खोजेको, मागेको कुरा तत्काल पाउनुपर्छ भन्ने लाग्छ । यसरी बढेको उनीहरुको अपेक्षा र पारिवारिक यर्थाथताबीच तालमेल नमिल्दा पनि बालबच्चाले आवेगमा आएर गलत निर्णय लिएको हुनसक्छ ।

के हुनसक्छ हाम्रो दायित्व ?

आत्महत्या आफैमा दुखद हुन्छ । त्यसमाथि बालबालिकाले आफ्नो जीवनको अन्त्य आफैले गर्नु गंभिर विषय हो । समस्याले डढेलोको रुप लिँदा पनि यसमा कसैको ध्यान नजानु र यो विषयमाथि पर्याप्त वहस नुहुन अर्को दुखलाग्दो पक्ष हो । यसले परिवार र समाज नै गैर जिम्मेवार बन्दै गएको संकेत देखाउँछ । यसमा राज्य वा सम्बन्धित पक्षले आँखा चिम्लेर बस्नु आफैमा उदेगलाग्दो छ ।

बालबालिकाको आत्महत्या आफैमा एउटा भयानक संवेदनशिल विषय हो । यसले भोलिका दिनमा निम्त्याउने संकट अरु डरलाग्दो छ । यति हुँदाहुँदै पनि यस विषयमा खास सरोकार राखेको पाइदैन ।

कपिय मुलुकमा बालिबालिकाको मानो–सामाजिक समस्या सुन्नकै लागि राज्यको तर्फबाट उचित व्यवस्था गरिएको हुन्छ । उनीहरुको जटिलता, समस्या सुन्नका लागि हटलाइनको व्यवस्था गरिएको हुन्छ । तर, हामीकहाँ त्यस्तो व्यवस्था छैन । लामो समयसम्म घरभित्र बसिरहेका बालबच्चाहरुको मनस्थिती कस्तो छ ? उनीहरुको दैनिकी कसरी गुज्रिरहेको छ ? उनीहरु भय, त्रासमा पो छन् कि ? यस सम्बन्धमा चासो राखिएन ।

बालबलिकाको आत्महत्या बढ्नुले हाम्रो मनो–सामाजिक शिक्षामाथि चुनौती थपिएको छ ।

आमाबुवा बालबच्चासँग घरभित्रै थिए । तर, उनीहरुले बालबच्चालाई रचनात्मक समय नदिएको हो कि ? उनीहरुको बोली–व्यवहार बालबच्चालाई सताउने किसिमको पो थियो कि ? यसमा अभिभावकले सोच्नुपर्छ ।

बालबच्चा कस्तो मनोदसाबाट गुज्रदैछन् ? उनीहरुको मनस्थिती कस्तो छ ? उनीहरुको मनमा कस्तो भुँमरी चल्दैछ ? आफुसँगै बसिरहेका बालबच्चाको भावना बुझ्न नसक्नु अभिभावकको ठूलो गल्ती हो ।

बालबालिकाले खाने खाना, लगाउने लुगा, स्कुल आदि कुराले मात्र बाल मनोविज्ञानको प्रतिनिधित्व गर्दैन । उनीहरु कस्तो खेल्छन्, कति समय सुत्छन्, तपाईंको व्यवहार कस्तो छ, कस्तो समाजमा हुर्किरहेका छन् जस्ता यावत कुरा बालमनोविज्ञानका आधारहरु हुन् ।

उनीहरुले जीवनयापनका विभिन्न सीप आमाबुवाबाट सिकिरहेका हुन्छन् । जीवनोपयोगी सीहरुले उनीहरुलाई मनो सामाजिक रुपमा परिपक्क बनाउँछ । जीवनका अनुकुलता वा प्रतिकुलतामा कसरी अगाडि बढ्ने भन्ने अभ्यास गराउँछ । यी सबै कुरा उनीहरुले आमाबुवाबाटै सिक्ने हो । त्यसर्थ बालबच्चाको मार्गदर्शन वा परिवर्तनका लागि आमाबुवाको बोली–व्यवहारले खास अर्थ लाग्छ ।

बालबालिकालाई सही मार्गदर्शन गराउनका लागि आमाबुवाले आफुलाई सही रुपमा प्रस्तुत गर्न सक्नुपर्छ ।

बालबालिकालाई जीवनोपयोगी कुराहरु सिकाउने, अभाव वा समस्यासँग जुध्न सिकाउने, आशावादी र उत्साहित बनाउने कुरामा आमाबुवाले खास भूमिका खेल्नुपर्छ । यसले उनीहरुभित्र मानसिक लचकता बढ्छ । जस्तोसुकै प्रतिकुलतामा पनि आफुलाई सम्हाल्न वा त्यससँग जुध्न सक्ने क्षमताको विकास हुन्छ । यस्तो क्षमता भएपछि उनीहरु सानोतिनो कुराबाट विचलित हुने भय रहँदैन । आफ्ना अप्ठ्यारा, समस्याहरुलाई मनन गर्ने र त्यसको सामना गर्न सक्छन् ।

त्यसैले बालबालिकासँग क्वालिटी समय बिताऔं । उनीहरुलाई घर व्यवहारको काम सिकऔं । उनीहरुसँग बातचित गरौं । दुःख र समस्याहरु पनि अवगत गराऔं । भोक, कष्ट, अभाव पनि खेप्न सिकाऔं । आवश्यक परेको अवस्थामा मनो सामाजिक परामर्श दिलाऔं । उनीहरुको भौतिक आवश्यक्ता मात्र पुरा गरिदिने होइन, मानसिक आवश्यक्ताहरु पनि सम्बोधन गरौं ।