समाचारमा बालबालिका

किशोरीको शव उत्खननपछि प्रहरीले भन्यो : हत्या होइन, आत्महत्या नै

शव गाडिएको अवस्थामा फेला परेकी जिराभावनी गाउँपालिका १ कि १५ वर्षीया भुट्टी भनिने निधवा धाँगडले आत्महत्या गरेको प्रहरीले बताएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान र शवको पोष्टमार्टम रिपोर्टले उनको कसैबाट हत्या नभएको देखाएको हो । पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले निधवाको हत्या नभएर आत्महत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताए ।‘किशोरीको हत्या नभएको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । पोष्टमार्टम रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको कुरा छ । तर घटना प्रहरीबाट लुकाउन खोजिएको छ’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ । कानुनी ज्ञान नभएका कारण प्रहरीसँग डराएर घटना लुकाउन खोजेको जस्तो देखिएको उनको भनाइ छ । गत फागुन २२ गतेदेखि गाउँबाट हराएकी किशोरीको शव चैत २ गते फेला परेको थियो । उनको शव ठोरी-५ स्थित गडुवा लाइन आर्मी पोष्टदेखि पश्चिम उत्तर पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र गुहृये खोला नजिकैबाट उत्खनन गरिएको थियो । किशोरीको शव गाडेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले घटनास्थललाई नियन्त्रणमा राखेको थियो । त्यसपछि हेटौंडाबाट तालिम प्राप्त कुकुरसहितको विशेष टोली बोलाएर उत्खनन् गरी शव निकालिएको थियो ।

घटना लुकाउने ५ जनाविरुद्ध मुद्दा
प्रहरीलाई जानकारी नदिई शव गाड्नमा संलग्न ५ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । प्रहरीले किशोरीका बाबु बुधन धाँगड, गाड्नमा सहयोग गर्ने मुनीलाल धाँगड र पनियाँ धाँगड, रामरतिदेवी र बबीकुमारीविरुद्ध मुद्दा चलाएको हो । घटनामा प्रत्यक्ष संलग्न भनिएकी निधवाकी दिदी इन्दवा भने फरार छिन् । प्रहरीलाई जानकारी नदिई घटना लुकाउने प्रयास गरिएकोले उनीहरु विरुद्ध मुद्धा चलाइएको पर्साका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । आत्महत्या गरेपछि घटनाबारे प्रहरीलाई जानकारी गराउनुपर्नेमा त्यसो नगरिएको देखिएको छ’ उनले भने ‘सूचना नदिएर जिम्मेवार नागरिकको कर्तव्य निर्वाह नगरेकोले उनीहरु विरुद्ध कारबाही पक्रिया अघि बढाएका हौं । प्रहरी उपरीक्षक रेग्मीका अनुसार घटना लुकाउनमा संलग्नविरुद्ध ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको छ । ‘कर्तव्य ज्यान त होइना तर ज्यान सम्बन्धी मुद्दा दर्ता गरेका छौं’ उनले भने ।

यसरी भयो घटना
प्रहरीका अनुसार फागुन २२ गते बिहान निधवा ७ जना महिलाहरुसँग दाउरा टिप्न जंगल गएकी थिइन् । जाने बेलामा उनी रुँदै गएकी थिइन् । साथीहरुले किन रोएको भनेर सोध्दा उनले केही बताइनन् । विवाह गरिदिन लागेकोले होला भनेर कसैले वास्ता गरेनन् । जंगल पुगेपछि सबैले आ-आफ्ना लागि दाउरा संकलन गरे । दाउरा संकलन गरिसकेपछि घर र्फकन जम्मा हुने क्रममा सबै जना आइसक्दा निधवा फर्किनन् । खोजतलास गर्ने क्रममा उनी त दाउरा बोक्न लिएर गएको पटुकाको पासो लगाएर रुखमा झुण्डिएकी पो रहिछन् । हत न पत्त उनीसँगै गएकी उनकी दिदी २८ वर्षीया इन्दवा धाँगडले डोरी काटिन, सबै मिलेर उनलाई भुइँमा उतारे । उनको सास चल्दै थियो । महिलाहरुले अस्पताल पुर्या उन सकिन्छ कि भनेर बोकेर दुई किलोमिटर अगाडि ल्याए । उनको सास रोकियो ।
त्यसपछि उनीहरुले शव त्यही छोडेर आएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् । सोही दिन बुधनको परिवारलाई घटनाको बारेमा जानकारी भएको भए पनि राति परेकोले कोही गएनन् । भोलिपल्ट निधवाको बाबु बुधन अरु तीन जना सहयोगी लिएर जंगल गएर शव गाडेर आए । त्यसको एक सातापछि प्रहरीले जानकारी पायो र शव उत्खनन गरेर निकाल्न सफल भयो ।

२०७४ चैत ५ गते १:२६ मा प्रकाशित