समाचारमा बालबालिका

दुई घण्टा हिँडेर विद्यालय

 

नजिकै विद्यालय नहुँदा दुर्गमका विद्यार्थीलाई घन्टौं हिंडेर विद्यालय जानुपर्ने बाध्यता छ । बाजुराको हिमाली गाउँपालिकास्थित बोल्डिक, खापर र भिगु गाउँका करिब ४० विद्यार्थी दुई घन्टा हिंडेर मुगुको सर्वोदय मावि सुकाढिक पढ्न आउँछन् ।नजिकै विद्यालय नहुँदा बालबालिका लामो समयदेखि सास्ती भोग्न बाध्य छन् । विद्यार्थीलाई घरबाट खाना बोकेर विद्यालय आउनुपर्ने बाध्यता छ । दुई घन्टा हिंडेर विद्यालय आउँदा धेरै समस्या हुन्छ,कक्षा ६ मा अध्ययनरत बोल्डिक गाउँकी करुणा पाण्डेयले भनिन्, टाढाको बाटो भएकाले विद्यालयबाट फर्कंदाफर्कंदै रात पर्छ । गाउँमा कक्षा ५ भन्दा माथिको स्कुल नहुँदा समस्या भएको उनले बताइन् । हुम्ला कर्णाली नदी पार गरेर विद्यालय आउनुपरेको विद्यार्थीको भनाइ छ । बोल्डिक गाउँभन्दा टाढाको भिगु गाउँका विद्यार्थीलाई सर्वोदय मावि सुकाढिक पुग्न झन् समस्या छ । भिगु र खापर गाउँबाट करिब दुई दर्जन विद्यार्थी सुकाढिकमा पढ्न आउने गरेको विद्यालयले जनाएको छ । वर्षाको बेला विद्यार्थीलाई विद्यालय आउन धेरै सास्ती हुने गरेको छ । आउजाउ मुस्किल भएपछि केही विद्यार्थी सुकाढिक गाउँमै कोठा भाडामा लिएर बस्दै आएका छन् । बसाइ कर्णाली नदीपारि र विद्यालय नदीवारि हुँदा पठनपाठनमा समस्या भएको कक्षा १० मा अध्ययनरत लक्ष्मण पाण्डेयले बताए ।‘माथिल्लो कक्षा लिन घन्टौं हिंड्नुपर्ने दुस्खले गर्दा अधिकांशले कक्षा ५ पढेपछि पढाइ छाड्ने गरेका छन्,’ उनले भने, ‘आधाभन्दा कमले मात्र टाढा आएर पढाइलाई निरन्तरता दिइरहेका छौं । सर्वोदय मावि सुकाढिकका प्रधानाध्यापक लोकेन्द्रबहादुर कार्कीले विद्यार्थीलाई पढ्न आउन धेरै सास्ती भइरहेको बताए । उनका अनुसार गाउँमा प्राथमिक तह मात्र भएकाले पठनपाठनमा समस्या भएको हो । बाजुराका विद्यार्थीका कारण विद्यालयमा चाप धेरै रहेको उनको भनाइ छ । बाजुराको अति दुर्गम मानिएको हिमाली गाउँपालिकामा २३ वटा विद्यालय छन् । अधिकांश विद्यालय प्राथमिक तहसम्म मात्र सञ्चालनमा छन् । विद्यार्थीको समस्या समाधान गर्न नजिकैका विद्यालयको स्तरोन्नति गर्ने योजना बनाइएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । उनले शैक्षिक गुणस्तर सुधारका लागि योजना बनाएर कार्यान्वयको चरणमा लगेको बताए।

२०७५ मंसिर १७ गते ११:१२ मा प्रकाशित