समाचारमा बालबालिका

मावि पढ्न ६ किमि टाढा जानुपर्ने बाध्यता

उपमहानगरपालिकामा शिक्षा, स्वास्थ्यसहित विकासका न्यूनतम पूर्वाधार हुन्छन् भन्ने आम बुझाइ छ । सरकारले उपमहानगरपालिकाको मापदण्ड निर्धारण गर्दा पनि सडक, बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षालगायतका पूर्वाधारलाई प्राथमिकता दिने गरेको छ । तर, प्रदेश ७ को अस्थायी राजधानी धनगढी उपमहानगरपालिका–१७ डमौलियामा भने मावि तहको विद्यालय छैन । गाउँमा मावि तहको विद्यालय नहुँदा स्थानीय बालबालिका पढ्नका लागि करिब ६ किलोमिटर टाढा जाने गरेका छन् । चार सय घरधुरी रहेको डमौलियामा मावि तहसम्म पढाइ हुने विद्यालय नहुँदा करिब ५० जना विद्यार्थी गाउँबाट ६ किलोमिटर टाढा गौरिगंगा नगरपालिकाको चौमालास्थित मालिका माविमा पढ्न जाने गरेका छन् । जंगलको बाटो दैनिक साइकल चलाएर बालबालिका विद्यालय जाने गरेका वडाध्यक्ष माधव रानाले बताए । विद्यालय पुग्न साइकलमा पौने घन्टा लाग्ने गरेको कक्षा १० का विद्यार्थी रमेश चौधरीले बताए ।

गाउँमा आधारभूत तहको मात्र विद्यालय
डमौलियामा आधारभूत तहको विद्यालय मात्र छ । कतिपय विद्यार्थी कक्षा ९ देखिमाथि पढ्न डमौलियाबाट चौमालाजत्तिकै दूरीमा पर्ने धनगढीको सेहरी र उर्मासमेत जाने गरेका स्थानीय खेमा ओझाले बताइन् । सेहरी र उर्मा जाँदा नदी तर्नुपर्ने भएकाले अधिकांश विद्यार्थी चौमाला नै जाने गरेका छन् । गाउँमा मावि तहको विद्यालय नहुँदा पठन–पाठनमा सास्ती भएको विद्यार्थीको भनाइ छ । दैनिक विद्यालय जान समस्या हुने भएपछि कतिपयले अभिभावकले भने आफ्ना छोराछोरीलाई धनगढी, चौमालालगायत ठाउँमा डेरामा राखेर पढाउने गरेका छन् ।

जंगलको बाटोमा डर
विद्यालय जाँदा–आउँदा दैनिक डेढ घन्टा साइकल चलाउनुपर्ने बाध्यता रहेको अर्का विद्यार्थी झकेन्द्र बीसीले बताए । विद्यालय टाढा हुँदा विद्यार्थी समयमै विद्यालय पुग्नसमेत भ्याउँदैनन् । डमौलिया र चौमालाबीचमा जंगल पर्छ । जंगलमा एक्लै जान डर लाग्ने भएकाले समूहमा जाने गरेको कक्षा १० की छात्रा करुणा चौधरीले बताइन् । ‘एक्लै भएको दिन विद्यालय नै जाँदिन । जंगलको बाटोमा डर हुन्छ,’ उनले भनिन् । वडाध्यक्ष रानाले गाउँमा विद्यालय नभएपछि आफ्ना बालबालिकालाई अन्यत्र पठाउनु अभिभावकको बाध्यता भएको बताए । छिमेकी गाउँ पथरीमा १० सम्म पढाइ हुने विद्यालय भए पनि बीचमा पर्ने शिवगंगा नदी र चरी खोलामा पुल नहुँदा विद्यार्थीलाई चौमाला जानुपर्ने बाध्यता भएको हो । वडाध्यक्ष रानाले गाउँमै मावि तहसम्मको विद्यालय स्थापनाका लागि वडा कार्यालयले सरोकारवाला निकायमा पहल गरिरहेको दाबी गरे। डमौलिया धनगढीबाट १६ किलोमिटर टाढा पर्छ । डमौलियामा विद्युत्, स्वास्थ्यचौकी, खानेपानीलगायतका सुविधाको समेत अभाव छ । तत्कालीन उर्मा गाविसअन्तर्गत पर्ने डमौलिया उपमहानगरपालिका गठन हुँदा धनगढीमा गाभिएको हो ।

२०७५ असोज २ गते प्रकाशित