समाचारमा बालबालिका

दैनिक ६ घण्टा हिँडेर पढाइ

बिहान उठनेबित्तिकै उनी आँखा मिच्दै हतारहतारमा स्कुल जाने पोसाक लगाउँछिन् । झोलामा किताबकापी पनि ठीक पार्छिन् । बेलुका पकाएर राखेको ढिँडो होस् वा गिठ्ठा–भ्याकुर तताएर छिटोछिटो खाएर ननिस्के स्कुल पुग्न अबेर हुन्छ । सुशीला चेपाङ र छिमेकी उषा भ्लोन यसरी बिहान ७ बजे नै झोला बोकेर स्कुलतिर लाग्छन् ।स्कुल नजिक नभएका कारणले उनीहरू बिहानै हिँड्न बाध्य छन् । बेलुका पनि उनीहरू अँध्यारो भएपछि मात्र घर आइपुग्छन् । मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका ६ शिलाधुनीका विद्यार्थीलाई विद्यालय टाढा हुनुले सधैं आउजाउमा ६ घण्टा लाग्छ । साविकको काँकडा गाविसको कार्यालय रहेको शिलाधुनीबाट ९ र १० कक्षामा पढ्नका लागि उक्त गाउँपालिकाको सिलिङेमा रहेको राष्ट्रिय माविमा आउनुपर्छ । ८ कक्षासम्म पढ्न शिलाधुनीअर्थात् जुरेथुममा नै स्कुल छ । ९ र १० कक्षा पढ्न उक्त वडाकै सिलिङेस्थित माविमा आउनुपर्ने बाध्यता छ । उक्त स्कुलभन्दा नजिक अरु विद्यालय पनि छैनन् । ‘दैनिक ६ घण्टा आउजाउ गरेर शिलाधुनीका विद्यार्थीहरू यहाँ पढ्न आउने गरेका छन्,’ सिलिङेस्थित माविका प्रधानाध्यापक तारानाथ दुवाडीले भने, ‘यो स्कुलमा पढ्न आउने छात्राछात्राहरू दैनिक ६ र ७ हिँड्छन, यो उनीहरूको बाध्यता हो । शिलाधुनीबाट मात्र ३० जनाभन्दा बढी विद्यार्थी दैनिक ६ घण्टा पैदल आउजाउ गर्छन् । ‘दैनिक ६ घण्टा हिँड्नुपरेका कारणले गर्दा उनीहरूले होमवर्क गर्नसमेत भ्याउँदैनन्,’ प्रधानाध्यापक दुवाडीेले भने । पुस र माघका छोटा दिनमा चाँडै नै अँध्यारो हुन्छ । त्यस्ता बेला टाढाका विद्यार्थी अन्तिम पिरियड नपढी नै घरतर्फ जाने गर्छन् ।

उक्त विद्यालयमा शिलाधुनीको मात्र होइन जुरेथुम, टोडके, वाङराङ र धिराङका विद्यार्थीहरू पनि पढ्न आउने गर्छन् । स्कुलको छात्रावास छ तर, त्यसमा मुस्किलले १० जना पनि अटदैन । टाढाटाढाका केही विद्यार्थी सिलिङेका केही घरको पेटीमा बसेर पढ्ने गरेका छन् । पेटीलाई बारेर त्यही बसेर पढने गर्छन् । छात्रावासको अभावले गर्दा टाढाका विद्यार्थीले कष्ट सहेरपढ्नुपरेको छ । ‘सिलिङेमा राखेर छोराछोरीलाई पढाउन घर, होस्टल दुवै छैन,’ स्थानीय सुकलाल चेपाङले भने, ‘छोराछोरी दुवै बिहान उठ्नेबित्तिकै स्कुल जान्छन् । अँध्यारो भएपछि घर आइपुग्छन् ।’ चेपाङ बहुल बसोबास क्षेत्रको मध्यभागमा रहेको उक्त माविमा राक्सिराङ गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाका विद्यार्थीहरू पढ्न आउने गर्छन् । केही गाउँमा ८ कक्षासम्म पठनपाठन हुने स्कुलहरू छन् । तर, ९ र १० कक्षा पढ्नका लागि मावि छैन । ‘९ र १० कक्षा पढ्न सिलिङेको राष्ट्रिय मावि नै आउनुपर्छ,’ राक्सिराङ गाउँपालिका ६ का वडाध्यक्ष सिहलाल चेपाङले भने, ‘छात्रावासको समस्याले गर्दा यस क्षेत्रका ९ र १० कक्षामा अध्ययन गर्ने विद्यार्थीले दुःख पाएका छन् । प्रदेश ३ सरकारले उक्त विद्यालयनजिकै छात्रावास बनाउनका लागि १ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । ‘छात्रावास बनाउन टेन्डर पनि निकालिसकेको छ,’ वडाध्यक्ष चेपाङले भने, ‘अब एकरदुई वर्षपछि टाढाटाढाका विद्यार्थीले घण्टौं हिँड्नु पर्दैन, छात्रावासमा नै बसेर पढ्ने अवस्था सिर्जना हुन्छ । २०२२ सालमा स्थापना भएको उक्त माध्यमिक विद्यालयमा ५ सय ८२ जना विद्यार्थी अध्ययनरत छन् । ती विद्यार्थीमध्ये ९० प्रतिशतभन्दा बढी चेपाङ समुदायका बालबालिका छन् । उक्त विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएको छ । जसका कारणले विद्यार्थी भर्ना हुने दर पनि बढेको छ भने ड्रपआउट विद्यार्थीको संख्या पनि अत्यन्तन्यून छ ।

२०७६ जेठ १९ गते ७:२९ मा प्रकाशित