बाटोमा कपाल कोर्दै स्कुल पुग्छन् छात्रा
रोल्पा नगरपालिका ९ फाल्जाकी १४ वर्षिया फुलमाया परियार बिहान साढे सात बजे विद्यालय जानका लागि दौडन्छिन्। उनलाई बिहानको खाना खान सधै हतार हुन्छ। करिब ३ घण्टा पैदल हिडेपछि बिद्यालय पुग्छिन्। विद्यालय टाढा हुँदा उनी जस्तै रोल्पाका धेरै विद्यार्थीले अहिले पनि सास्ती भोग्दै आएका छन्। दुर्गम भू–भाग रहेको यहाँ लामो अनि उकालो ओरालो बाटो पार गर्दै समयमै विद्यालय हातामा प्रवेश गर्नु पर्ने बाध्यता छ। सहरमा जस्तो नजिक विद्यालय तथा स्कुल बस सुविधा नहुँदा लामो पैदल यात्राले कक्षा कोठामै बिद्यार्थीहरु थाक्ने गर्दछन्। उनीहरु साँझ बिहानको घर धन्दा र हतारको विद्यालय तयारीले दिक्क बनेका हुन्। ‘बिहान उठेर अलि अलि घरको काम गर्नुपर्छ। कहिले त एकै छिन पनि किताब हेर्ने फुर्सद हुँदैन। बिहान साढे सात बजे खाना खाएर हिड्न सकिएन भने समयमा स्कुल पुगिदैन।’ नेपाल राष्ट्रिय आधारभुत विद्यालय होमामा कक्षा ८ मा पढ्ने फाल्जा गाउँकी छात्रा फुलमाया भन्छिन् ‘हिजो आज छोटो दिन भएकाले घर आउदा त झपक्कै रात पर्छ।’ विद्यार्र्थी घरमा अरु पढ्ने भन्दा पनि गृहकार्य नै नभ्याउने अवस्थामा छन्। विद्यालय पोशाकमा कपाल कोर्दै उकाली ओराली गर्नै फुलमाया जस्ता दर्जनौ विद्यार्थी सधै हतार हतारमा पाइला चाल्छन्। ‘घरमा कपाल कोर्न थाल्ने हो भने त स्कुल छुट्छ। झोलामा काइयो राख्छौ। सधै यस्तै हो सर। कपाल कोर्ने कपडा मिलाउने सधै बाटो मै हो। हतार हुन्छ।’ अर्की छात्रा आजिमला घर्ती भन्छिन् ‘मुख धुने पनि बाटो मै हो।’बिस्तारै गयो भने स्कुल भ्याइदैन त्यसैले दौडिनु पर्छ। बिहान साढे सात बजे घरबाट हिडेका उनीहरु ४ बजेसम्म स्कुल पढ्छन। ‘बेलुका घर पुग्दा त ७ बज्छ। राति हुन्छ। अध्यारोमा घर पुग्छौ। के गर्नु नजिक स्कुल छैन। घर गयो खाना खाएर पढ्दा पढ्दै थकाइले निद्रा लाग्छ। कहिले काहि त कक्षा कोठामा पनि निद्रा लाग्छ।’ छात्रा मनकुमारी पुनले भनिन् ‘हामी त ठूला छौ। ६ कक्षामा पढ्न आउनेलाई झनै समस्या छ।’
नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययनरत यि छात्रा जस्तै रोल्पामा धेरै विद्यार्थी छन् जसलाई विद्यालय पुगेर घर फर्किन दैनिक करिब करिब ३ देखि ५ घण्टा पैदल हिड्नु पर्छ। विद्यार्थी दैनिक लामो हिडाइले आजित छन्। कक्षा ५ सम्म घर छेउको विद्यालयमा अध्ययन गरेका यिनिहरु माथिल्लो कक्षाको पढाइका लागि समस्यामा पर्ने गरेका हुन्। ‘बिहान हतार हतार खाना खाएर स्कुल गयो। घरबाट लगेको नास्ताले दिनभरि त धान्छ तर बेलुका फर्कदा उकालोमा भोकले हैरान बनाउछ। घर आयो थकाई लागेको हुन्छ। होमवर्क गर्दा गर्दै निद्रा लाग्छ। बिहान घरको कामले ठिक्क। चाहेर पनि राम्रोसंग पढ्ने समय नै हुदैन।’ फुलमायााले थपिन ‘कपाल कोर्ने, कपडा मिलाउने बाटो मै हुन्छ भने जुत्ता पालिस गर्न शनिबार नै कुर्नु पर्छ।’घर भन्दा टाढा विद्यालय भएका कारण अविभावक पनि चिन्तीत रहने गर्दछन्। ‘डेरा गराउनु खर्चले धान्न सकिदैन। नगराउनु केटाकेटीको हत्ते छ। साँझ घर आउदा भोक र थकाइले गलेर आउछन्। नपढाएर पनि भएन।’ एक अविभावकले दुखेसो पोखे। ‘नेताले बाटो मात्र भन्छन्। हाम्रा छोराछोरीले पढ्न पाए पो हुन्थ्यो। आठ कक्षासम्म पढेर फेरि माथिल्लो पढाइका लागि कि अझै टाढाको स्कुल धाउनु पर्नेछ नभए सदरमुकाममा डेरा गरेर बस्नु पर्ने बाध्यता छ। ‘डेरा गरेर बस्नु भन्दा त परको स्कुलमा जाने हो।’ विद्यार्थीहरु भन्छन ‘डेरामा बस, खाना पकाउने, स्कुल जाने गाह्रो हुन्छ भनेर अरु पनि यतै परको स्कुलमा जान्छन्।’४ सय ४० शैैक्षिक सस्था रहेको जिल्लामा निजी र सरकारी गरी ६२ वटा माध्यमिक विद्यालय छन्। यहाँ रहेका ६७ हजार ५९ सय ८८ विद्यार्थीमध्ये धेरै बालबालिका दैनिक लामो पैदल यात्रा गरेर विद्यालय पुग्ने गर्दछन्। गत निर्वाचनहरुमा शिक्षासंग सम्बन्धित पठन पाठनको विषय कुनै पनि दलले आफ्नो प्रतिवद्धता पत्रमा राखेनन् भने स्थानीय तहले अहिलेसम्म पनि विद्यालय र विद्यार्थीको विषयमा कुनै छलफल पनि गरेका छैनन्। चुनावमा भोट माग्न सडक, बत्ति, पानी, रोजगारी जस्ता विषयलाई प्राथमिकतामा राखिए पनि आधारभुत शिक्षा जस्ता विषयमा दलहरु मौन रहे।
२०७६ पुष ३ गते १०:०१ मा प्रकाशित