समाचारमा बालबालिका

महिनावारी हुँदा विद्यालयमा भोग्नु पर्ने समस्या छात्राहरु आफैले मेटाए

बिद्यालय तहमा अध्ययन गर्ने छात्राहरु महिनावारी भएको बेला बढी समस्यामा पर्ने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । महिनावारी भएको समय धेरैजसो छात्रा विद्यालय जाँदैनन् । बिद्यालयमा महिनावारी भएको बेला प्रयोग गरिने सेनिटरी प्याड सहज उपलब्ध नहुनु र प्याड फेर्ने सुरक्षित स्थान नहुने समस्याले धेरै छात्रा महिनावारी भएको बेला बिद्यालय जाँदैनन् । 

यस्तै समस्या भोगेका ओखलढुङ्गाको एक बिद्यालयका छात्राहरुले भने आफैले रकम संकलन गरे प्याड खरिद गरेर प्रयोग गरिरहेका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर १२ मा जाल्पा माध्यमिक विद्यालय छ । जुन बिद्यालयमा छात्राहरुको संख्या धेरै छ । तर, कहिलेकही छात्राहरुको उपस्थिति कम हुन्छ । विशेषगरी महिनावारी भएको बेला बिद्यालयमा छात्राहरुको उपस्थिति कम हुने गरेको छ । महिनावारी भएको बेला प्रयोग हुने सेनेटरी प्याड सहज उपलब्ध नहुनु र प्याड प्रयोगका लागि सुरक्षित स्थान नहुँदा महिनावारी भएको बेला छात्राहरुको उपस्थिति कम हुन्थ्यो ।

त्यसैले, बिद्यार्थीहरु आफैले रकम संकलन गरेर बिद्यालय आएको बेला महिनावारी भए प्रयोग गर्ने प्याड खरिद गरेका छन् । बिद्यार्थी आफैले प्याड खरिद गरेपछि बिद्यालयले भण्डारण र प्रयोगका लागि छुट्टै कोठा व्यवस्था गरेको छ । बिद्यायलमै सेनेटरी प्याड प्रयोग गर्ने वातावरण बनेपछि छात्रा अनुपस्थित हुने समस्या समाधान भएको प्रधानाध्यापक रत्नबहादुर खत्रीले बताए । महिनावारी भएको समयमा विद्यार्थी नआउने समस्या हटाउन विद्यार्थीहरुले नै प्याड खरिद गरेका हुन । विद्यार्थीकै पहलमा विद्यालयमै सेनेटरी प्याडको व्यवस्थापन भएको यो ओखलढुङ्गाको पहिलो बिद्यालय हो । यस अघि महिनावारी भएको समयमा बिद्यालयनै छोड्नुपर्ने बाध्यता रहेपनि अब त्यस्तो समस्या हटेको विद्यार्थीको भनाइ छ । सुरुमा बिद्यार्थीहरु बिद्यालयमा सेनेटरी प्याड मागेर प्रयोग गर्न असहज मान्थे । तर, पछिल्लो सयम भने बिद्यार्थीहरुले सहज मान्न थालेका छन् । आवश्यक परेको बेला सहजै मागेर प्रयोग गर्ने गरेको शिक्षिका मैया श्रेष्ठ बताउँछन् । महिनावारी समाजमा अनेक बुझाई छन् । अझै पनि, कतिपय सामाजिक र धार्मिक मुल्य मान्यताका कारण महिनावारी भएको बेला महिलाहरु अछुत बन्नुपर्ने बाध्यतामा छन् । तर, महिनावारी प्रजननको नियमित प्रकृया मात्र हो भनेर बुझ्ने जमात पनि बढ्न थालेको छ । यसैका उदारण हुन, जाल्पा माध्यमिक विद्यालयका बिद्यार्थी र शिक्षक, शिक्षिका ।

२०७४ पुस १९ गते प्रकाशित