समाचारमा बालबालिका

विद्यार्थी भुइँमा, शिक्षकलाई सोफा

धनुषा, बिदेह नगरपालिका–१ माध्यमिक विद्यालय ठाढी झिझाको कार्यालयमा डिजिटल हाजरी मसिन जडान गरिएको छ । शिक्षकलाई बस्न सोफा छ । शिक्षक र विद्यालय सञ्चालर्कको नामावली प्रिन्ट गरेर राखिएको छ । भारतीय सीमावर्ती गाउँ ठाढीस्थित कार्यालय हेर्दा व्यवस्थित विद्यालयको झल्को दिन्छ । तर, कार्यालयभन्दा कक्षा कोठाको अवस्था उल्टो छ । विद्यार्थी धुलाम्मे भुइँमा बसेर पढ्छन् । डिजिटल हाजरी र सोफा राखिएको विद्यालयका विद्यार्थी धुलाम्मे भुइँमै बसेर पढ्दै गरेको भेटिन्छ । विद्यार्थी प्लास्टिकका बोरा बोकेर विद्यालय आउछन् । विद्यालयमा डेस्क बेञ्च नहुँदा विद्यार्थी घरबाटै बोरा बोकेर आउने गरेका छन् । यहाँ विद्यार्थी घरबाट बस्नका लागि ल्याउने बोरामै किताब कापी बाँधेर ल्याउछ र बोरामै बाधेर घर फर्किन्छ । कक्षा ४ मा अध्ययनरत सोनी कुमारी ठाकुरले भुइँमा बस्दा लुगा एक दिनमै फोहर हुँदा घरबाटै बोरा लिएर आउने गरेको बताए । बस्ने बेञ्च र किताब राख्ने झोला प्लास्टिकको बोरा नै हो, सोनिले भनिन ‘भुइँमै बस्नु पर्दा पढ्न अप्ठ्यारो हुन्छ । धुलोका कारण लुगा फोहर हुन्छ । फोहर लुगा लगाएरै विद्यालय आउनु पर्ने बाध्यता हुन्छ । लुगा फोहोर हुँदा विद्यालय आउन समेत समस्या भएको कक्षा ४ मा अध्ययनरत पूजा कुमारी सहनिले बताइन् । बालविकास कक्षामा कार्पेट राखिएको छ । तर, धूलो लामो समयदेखि बडारिएको छैन । विद्यार्थी धूलोको कारण घर फर्किदा अनुहार चिन्नै नसक्ने अवस्थामा हुन्छन् । बालविकास ६२ जना, कक्षा १ का १ सय जना, कक्षा २ का १ सय ८ जना, कक्षा ३ का ८३ जना र कक्षा ४ का ९९ जना गरी ४ सय ५२ जना विद्यार्थी धुलाम्मे भुइँमै बढ्न बाध्य छन् । विद्यालयको कक्षा ४ सम्मका विद्यार्थी धुलामे भुइँमै बसेर पढनु परेको छ । विद्यालयको ९ सय ४७ विद्यार्थी भर्ना छन् । तर उनीहरूका लागि फर्निचर छैन । गत वर्ष घर दैलो गरी विद्यालयमा विद्यार्थी भर्ना गरे पनि उनीहरूका लागि बस्ने डेक्स बेञ्च व्यवस्थापन हुन नसकेको प्रधानाध्यापक उमेश पाण्डेले बताए । माथिल्लो कक्षामा विद्यार्थीको चाप बढी भएका काणर तल्लो कक्षाका विद्यार्थीका लागि फर्निचर अभाव भएको पाण्डेले बताए । कक्षा कोठामा विद्यार्थी बस्ने डेस्क बेञ्च नहुँदा १ सय भर्ना भएका कक्षामा २०/२५ जना विद्यार्थी मात्र उपस्थित हुन्छ । तल्लो कक्षामा विद्यार्थी भर्ना हुने तर भौतिक संरचना अभावमा विद्यालय छोडने विद्यार्थीको संख्या उच्च छ । विद्यालयको आन्तरिक आम्दानी न्यून नरहेको र सम्बन्धित निकायले चासो नदिंँदा कक्षा ४ सम्मका विद्यार्थी धुलाम्मे चिसो भुइँमै पढ्न बाध्य भएको पाण्डेले बताए । नगरपालिकासँग विद्यार्थीका लागि बस्ने फर्निचर माग गरेका छौं, प्रधानध्यापक पाण्डेले भने । विदेह नगरपालिकाका उपमेयर निलम देवीले विद्यालयबाट फर्निचरको माग भए पनि उपलब्ध गराउन नसकिएको बताए ।

२०७५ फागुन २१ गते ९:४८ मा प्रकाशित