समाचारमा बालबालिका

विद्यार्थी कक्षा छाडेर चरेस बनाउन थालेपछि स्थानीय चिन्तित

खेतबारीमा उम्रिएको गाँजाले समाजमा नकारात्मक प्रभाव पार्न थालेपछि बैजनाथ गाउँपालिका– ८ लुन्द्री र करेलीभाग्राका स्थानीय चिन्तित भएका छन् । विद्यालय गएका विद्यार्थी कक्षा छोडेर गाँजाबाट चरेस बनाएर बिक्री गर्ने र स्वयं प्रयोग गर्न थालेपछि स्थानीय चिन्तित भएका हुन् । खेतबारीमा फैलिँदै गएको गाँजाले समाज र परिवारमा दिनप्रतिदिन नकारात्मक असर देखिन थालेको करेलीभाग्राका धनबहादुर घर्तीले बताए । उनले विद्यालय जाने उमेरका युवा र किशोर विद्यालय नगएर गाँजा तथा चरेस बनाएर दिन बिताउन थालेको बताए । ‘गाँजाबाट चरेस बनाएर बिक्री गर्ने र आफूले पनि प्रयोग गर्ने क्रम बढेको छ,’उनले भने । गाँजाले विद्यालयमा अध्ययनरत बालबालिकामा नकारात्मक असर परेको सरस्वती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमाया गुरुङले बताइन् । उनले विद्यालयमा अध्ययनरत बालबालिकाले पैसा कमाउने नाममा कक्षाबाट भागेर गाँजाबाट चरेस बनाउने गरेको बताइन् । ‘गाँजाले समाज भाँड्न थाल्यो,’ उनले भनिन् ।अध्ययनका लागि विद्यालय आएका विद्यार्थीले गाँजाबाट चरेस बनाएर ५० देखि एक सय रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । पैसाको लोभले विद्यार्थी कक्षामा नबसेर गाँजाबाट चरेस बनाउन खेतबारीमा जाने गरेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रत्नप्रसाद शर्माले बताए । उनले विद्यालयबाट भागेर विद्यार्थीले चरेस टिप्ने गरेको बताए । उनले विद्यार्थी गाँजा र चरेसको कुलतमा फस्ने क्रम बढेको बताए । ‘साथीको लहैलहैमा लागेर पिउने र गाँजाबाट चरेस बनाएर बिक्री गर्छन्,’ शर्माले भने । पढ्ने उमेरका किशोर तथा युवा गाँजाबाट चरेस बनाएर बिक्री गर्ने र बाहिरबाट चरेस खान गाउँमा आउने गरेको निमसरा थापाले बताइन् । उनले गाँजाका कारण गाउँ असुरक्षित बन्दै गएको बताए । ‘विभिन्न ठाउँबाट युवा र किशोर गाँजा, चरेस खान गाउँमा आएर होहल्ला गर्छन्,’ उनले भनिन् । उनले पहिले बेवास्ता गरिएका कारण गाँजाले समाज बिगार्न थालेको र उत्पादनमा ह्रास आएको बताइन् । ‘पहिले नियन्त्रणको पहल नगरेको फल अहिले भोग्दै छौँ,’ उनले भनिन्, ‘गाँजाले विद्यार्थीलाई गाँजिसकेको छ ।

गाँजा उन्मूलनका लागि सहयोगको याचना

खेतबारीमा फैलिँदै गएको गाँजा उन्मूलनका लागि स्थानीयले सहयोगको याचना गरेका छन् । एक–दुई दिन गाँजा नष्ट गर्दैमा केही नहुने बताउँदै स्थानीय टुना खत्रीले गाँजा उन्मूलनका लागि योजनाबद्ध रूपमा अभियान चलाउन स्थानीय सरकारसँग माग गरिन् । ‘खेतबारीमा दिनप्रतिदिन गाँजा बढ्दै जाँदा अन्न उत्पादनमा कमी आएको छ । साथसाथै, छोराछोरी पनि बिग्रिन थालेका छन्,’ उनले भनिन् । बैजनाथ गाउँपालिका– ८ को दुई सय बिघा क्षेत्रफलमा गाँजा उम्रिएको स्थानीयले बताएका छन् । गाँजा नष्ट गर्न गाउँपालिकासँग रकम माग गरेको वडाध्यक्ष भग्गन थारूले बताए । उनले पूर्ण रूपमा निर्मूल पार्न सकिने उपाय खोजी गरेर योजना बनाउने आश्वासन दिए । ‘गाउँपालिका र कृषि कार्यालयसँग समन्वय गरेर उन्मूलनको पहल गरिनेछ,’ उनले भने ।

२०७५ जेठ ११ गते प्रकाशित