समाचारमा बालबालिका

खाजाले बढे विद्यार्थी

विद्यालयमा खाजा कार्यक्रमले विद्यार्थी नियमित रुपमा आउन थालेका छन् । हरेक दिन फरकफरक खाजा खान पाउने भएपछि सामुदायिक विद्यालयमा विद्यार्थीहरू नियमित आउन थालेका हुन् । सरकारले प्राथमिक तहका विद्यार्थीका लागि दैनिक १५ रुपैयाँ बराबरको खाजा दिने व्यवस्था गरेको छ । कार्यक्रमले बालबालिका पूरा समय विद्यालयमै रहने गरेको टीकापुर–३ मा रहेको पशुपतिनाथ प्राथमिक विद्यालयका शिक्षक पूर्ण बिकले बताए । उनले भने, ‘खाजा कार्यक्रम नहुँदा भोक लाग्यो भनेर टिफिनको समयमा घर जान्थे र फर्कंदैनथे । अहिले उनीहरू पूरा समय विद्यालयमै बस्ने गरेका छन् ।’ विद्यार्थीको दिवा खाजा कार्यक्रमका लागि तीन तरिका अपनाइएको छ । अभिभावकले पोषणयुक्त खाजा बनाएर उनीहरूलाई दिने, प्रत्येक दिनको खाजाबापत शिक्षा शाखाले विद्यालयमार्फत प्रतिविद्यार्थी १५ रुपैयाँका दरले अभिभावकलाई दिने र अर्को विद्यार्थीले खाजा खाएबापत अभिलेख हेरेर शिक्षा शाखाले विद्यालयको खातामा रकम निकासा गरिदिने प्रक्रिया छ । स्थानीय तहले भने आफ्नै तरिकाले यो नीति लागू गरेका छन् । जानकी गाउँपालिकामा अभिभावकले खाजा बनाउने र विद्यालयले अभिभावकलाई प्रतिविद्यार्थी १५ रुपैयाँ दिने व्यवस्था गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कलम खड्काले बताए । टीकापुर नगरपालिकामा खाजा बनाउने र खुवाउने जिम्मा विद्यालयलाई दिइएको छ । दिवा खाजा कार्यक्रम लागू भएको पशुपतिनाथ प्राथमिक विद्यालयमा विद्यालयले नै खाजा बनाएर खुवाइरहेको शिक्षक पूर्ण बिकले बताए ।उनका अनुसार विद्यालयले आइतबारदेखि शुक्रबारसम्म फरकफरक खाजा बनाएर दिने गरेको छ । विद्यालयका कार्यालय सहयोगीले खाजा बनाउँछन् । सामुदायिक विद्यालयमा आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका धेरै छन् । १ देखि ५ कक्षासम्मका बालबालिकाहरू दिनभर भोकै बस्न नसक्ने भएकाले पूरा समय विद्यालयमा टिक्ने गरेका थिएनन् । खाजा व्यवस्थाले त्यो समस्या टारेको कर्णाली मावि टीकापुरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष खडक शाहले बताए ।खाजा कार्यक्रमले विद्यालयलाई थप आर्थिक भार भने परेको अध्यक्ष शाहले सुनाए । उनले भने, ‘विद्यालयका कार्यालय सहयोगीले बच्चाका लागि खाजा बनाउने गरेका छन् । उनीहरूलाई यसबापतको केही रकम थप्ने निर्णय गरेका छौं ।’ खाजा व्यवस्था गर्न थप जनशक्तिको व्यवस्था नगरेर सहयोगीमार्फत काम चलाइएको उनले सुनाए । उनले भने, ‘शारीरिक र मानसिक रुपमा बच्चा स्वस्थ बनाउन पनि यो कार्यक्रम सहयोगी हुन सक्छ । आउँदो शैक्षिक सत्रमा जनशक्ति थप्ने कि भन्ने सोचिरहेका छौं ।

२०७६ माघ १८ गते ९:३७ मा प्रकाशित