समाचारमा बालबालिका

भोको पेट विद्यालय जान्छन् बालबालिका

सानो झुपडी । एकातिर भित्ता चर्किएको छ । कतै बोराले बारेको छ । भाँडाहरु असरल्ल छरिएका छन् । वरिपरि झिँगा भन्किएका छन् । विद्यालयको घण्टी बजेको आवाज झुपडी भित्रै सुन्ने बित्तिकै सुर्खेतको वीरेन्द्रनगर–२ कोलडाँडाकी नौ वर्षीया अञ्जली विकलाई विद्यालय जान हतार भयो । पुरानो र ठाउँ ठाउँमा च्यातिएको थियो उनको विद्यालयको पोशाक । यता उता पल्टाएपछि अन्ततः घरमा बस्दा लगाएको कपडासँगै उनी विद्यालयका लागि निस्किन् । त्यसपछि सात वर्षीया शोभा बिक र १४ वर्षीया पुष्पा बिक पनि भोकै पेट पछि लागे । घरमा खाने अन्न केही थिएन । मजदूरी गरेको पैसा नआएपछि त्यसकै जोहो गर्न आमा शान्ति बिक बाहिर निस्किएकी थिइन् । भोकै पेट पुष्पाका भाइबहिनीहरु कतिसम्म पढ्न सक्थे र रु खाजा खाने समय भन्दा अगाडि नै उनीहरु शिक्षकसँग सोधेर खाना खान जान्छौ भनेर घरमा आए ।  चार वर्ष अघि भारत कमाउन गएका पुष्पाका बुबा उतै बेपत्ता भए । आमाले मजदूरी गरेर पाँच भाइबहिनीको खर्च जोहो गर्दै आएकी छन् । बिहान खाए साँझ के खाउँ र साँझ खाए बिहान के खाउँ भन्ने समस्यामा छन् उनीहरु । त्यसमाथि धुलो र धुवाँमा काम गर्नुपर्दा शान्ति बिरामी छिन् । ‘बुबा विदेश गएर घर आउनुभएन,’ पुष्पाले भनिन् – ‘आमा बिरामी हुनुहुन्छ । धुलो धुवाँमा काम गरेर हामीलाई पाल्नुहुन्छ ।’ साँझ बिहानको दुई छाक जुटाउन मुश्किल रहिआएकाले विद्यालयको पोशाक नभएको उनले बताइन् । ‘कहिले भोकै विद्यालय जानुपर्छ, लगाउने डे«स पनि छैन,’ उनले भनिन् – ‘कहिलेकाहीँ हामी आमालाई सघाउन काममा पनि जानुपर्छ ।’पुष्पा माइली छोरी हुन् ।  उनी प्रभात मावि कोलडाँडामा ६ कक्षामा पढ्छिन् । घरमा खानै नपुग्ने भएपछि जेठी दिदी स्वस्तिकाले १६ वर्षमै विवाह गरिन् । उनका बहिनीहरु अञ्जली र शोभा दुई कक्षामा पढ्छन् । सानो भाइ आयुषको मुटुमा समस्या भएपछि रोग पाल्नुको विकल्प छैन । आयुष आमासँगै काममा जान्छन् । सोही गाउँका ओमबहादुर विकको पनि अवस्था उस्तै छ । भोको पेट विद्यालय जान्छन् । न त उनीसँग विद्यालयको पोशाक छ न कापीकलम नै । शिक्षकले लेख्न लगाउँदा कापी नभएपछि कहिले साथीहरुले लेखेको हेर्छन्, कहिले घरतिर फर्कन्छन् । ६ वर्ष अघि बुवा बितेपछि आमा विवाह गरेर अन्तै गइन् । ओमप्रकाशका तीन भाइबहिनी बिचल्लीमा परे । अहिले ओमबहादुर हजुरआमासँगै बस्दै आएका छन् भने उनका दुई बहिनी आफन्तले पाल्न लगेका छन् । गिट्टी कुटेरै हजुरआमाले उनको पालनपोषण गरेकी छन् । ‘कहिले भोकै स्कुल जान्छु,’ ओमप्रकाशले भने –  ‘हजुरआमाले गिट्टी बेचेको पैसाले राम्रोसँग खान पुग्दैन ।’सोही गाउँकी १७ वर्षीया कोपिला र उनको दाजु यामराज पनि चार कक्षामा पढ्दापढ्दै पूर्णविराम लाग्यो । सानो छँदा नै बुवा बिते र आमा अर्को विवाह गरेर गइन् । कोपिलाका पाँच भाइबहिनी छन् । कोपिलाकी दिदी कलिलै उमेरमा विवाह गरेर गइन् । उनले एउटी बहिनी उतै पाल्छु भनेर लगेको कोपिलाले बताइन् । घरमा अहिले कोपिला र यामराजले मजदूरी गरेर सपना र पार्वतीलाई पढाइआएका छन् । ‘दाइ मजदूरी गर्नुहुन्छ, कहिले भारत पनि जानुहुन्छ, कहिलेकाहीँ म पनि मजदूरी गर्न जान्छु,’ कोपिलाले भनिन् – ‘आफूले नपढे पनि भाइबहिनीलाई पढाएर ठूलो मान्छे बनाउने धोको छ ।’बाल्यकालमै अभिभावक बन्नु पर्ने जिम्मा आइलागेपछि पढ्न नपाएकी उनी यो नियतिप्रति दुःख व्यक्त गर्छिन् । ‘पढ्ने रहर भएर के गर्नु रु’ उनी भन्छिन् – ‘कसैले सहयोग गरे म पनि पढ्ने थिएँ ।’ गाउँका यी त प्रतिनिधि पात्र हुन् । आर्थिक अवस्था कमजोर भएका र बुबाआमा नभएका यस्ता बालबालिका भोकै विद्यालय जाने गरेका छन् । उनीहरुसँग पोशाक र कापीकलम हुँदैन । यसकारण उनीहरु विद्यालय नियमित जाँदैनन् । कतिपय बालबालिका भाइबहिनीलाई पढ्ने अवसर दिन आफैं नपढेर बसेका छन् । अधिकाँश दलित समुदायको बसोबास रहेको यस बस्तीमा धेरैजसो बालबालिका बेसहारा रहेको स्थानीयवासी अमृता कार्कीले बताए । उनका अनुसार बुबाआमा वैदेशिक रोजगारमा जाने र छोराछोरी बिचल्लीमा पर्ने गरेका छन् । ‘यहाँका धेरैजसोलाई मजदूरी गरेर साँझ बिहानको छाक जुटाउन धौ धौ छ,’ उनले भने– ‘पेट भोकै भएर यहाँका सबै बालबालिकाले राम्रोसँग पढ्न पाएका छैनन् । गरीबीका कारण यहाँका बालिकाहरु कलिलै उमेरमा विवाह गर्ने गर्छन् ।’भोको पेटमा बालबालिका विद्यालय आउन बाध्य भएपछि प्रभात मावि कोलडाँडामा शिक्षकलाई नै पढाउन समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक भीमबहादुर खड्काले बताए । विद्यालयमा  अध्ययनरत करीव ५०० विद्यार्थीकै आर्थिक हैसियत कमजोर छ । तीमध्ये एक चौथाई जति बुबाआमा नभएका तथा बुबा वा आमा नभएका छन् । ‘विद्यालयमा पढाइरहेका बेला भोक लाग्यो भन्छन् र घरतिर जान्छन्,’ प्रध्यानाध्यापक खड्काले भने– ‘कसैलाई लेख भन्दा कापी छैन भन्छन् ।’ कतिपयलाई त शिक्षक आफैंले नै कापीकलम जुटाइदिने गरेको उनले बताए ।

२०७६ जेठ १६ गते प्रकाशित