समाचारमा बालबालिका

विद्यार्थीको नियमित उपस्थिति न्यून

बेलौरी नगरपालिका १० भुडास्थित भगवानपुर माविमा यस वर्ष ६० जना नयाँ विद्यार्थी भर्ना भएका छन् । आधाभन्दा बढी त निजी विद्यालय छाडेर आएका पनि छन् । ग्रामीण भेगको उक्त विद्यालयमा विद्यार्थी संख्या बढे पनि नियमित स्कुल आउने संख्या भने एकदमै न्यून भएका कारण पठनपाठनमा समस्या हुने गरेको छ । खासगरी तल्लो कक्षामा अध्ययनरत बालबालिकाहरू नियमित विद्यालय नआउँदा धेरै दिन पढाइ नै रोकिने गरेको छ । ‘खेतीपातीको सिजन होस् वा चाडपर्व र विवाह व्रतबन्ध, यो अवधिमा विद्यालयमा आधा विद्यार्थी पनि हाजिर हुँदैनन्,’ भगवानपुर माविका प्रधानाध्यापक ज्ञानु आग्रीले भने, ‘विद्यार्थी नियमित स्कुल नआउँदा धेरै दिन पढाइ रोक्नुपरेको छ । उनका अनुसार गाउँमा विवाह भए वरिपरिका विद्यार्थी एक हप्तासम्म विद्यालय आउँदैनन् । आधारभूत तहका कक्षाहरूमा कुनै दिन ४र५ जना विद्यार्थीसमेत नआउने गरेको शिक्षकहरू बताउँछन् । उक्त विद्यालयमा अधिकांश थारू समुदायका बालबालिका अध्ययन गर्छन् । वर्षायाम सुरु हुनेबित्तिकै खेतीपातीको काम सुरु हुने भएकाले विद्यार्थीहरू स्कुल आउन छाड्छन् । ‘असार सुरु भएदेखि त आधा विद्यार्थी पनि आउँदैनन्’ प्रअ आग्रीले भने, ‘विद्यार्थीलाई नियमित स्कुलमा हाजिर गराउनै समस्या भएको छ ।

सोही वडाको शिवनगरमा रहेका सिद्धेश्वर माविमा पनि विद्यार्थी अनुपस्थित हुने समस्या उस्तै समस्या छ । ४ सयको हाराहारीमा विद्यार्थी संख्यामा अधिकांश थारू समुदायका नै छन् । खेतीपातीका बेला धेरै दिनसम्म विद्यार्थी स्कुल आउँदैनन्,’ शिक्षक दीपेन्द्रबहादुर शाहले भने,, ‘यसलाई काम गर्न बेलामा अभिभावक भेला र गाउँटोलमै गएर सम्झाउने काम पनि गरेका छौं ।’ तर, भेलामा अभिभावकको उपस्थितिसमेत न्यून हुने गरेको उनले बताए । थारू समुदायमा खेतीपातीकै काम बढी हुन्छ । आफ्नो जमिनसँगै अधिया कमाउने चलन छ । आफ्नो खेतीपातीको काम सकिए ज्याला मजदुरीमा जाने गर्छन् । ठूला बालबालिकाहरू काममा जाने र सानाले घरको काम गर्ने भएकाले स्कुल कम उपस्थित हुन्छन् । काम गर्न सक्ने उमेरका हुनेबित्तिकै कतिपय स्कुल छाड्ने गरेको समेत पाइन्छ । भगवानपुर माविमा मात्रै यस वर्ष २६ जना विद्यार्थीले स्कुल छाडेको प्रअ आग्रीले बताए । बेलौरी नगरपालिकाका अधिकांश विद्यालयमा विद्यार्थी अनुपस्थित हुने समस्या रहेको स्रोत व्यक्ति हिक्मत ऐरले बताए । यही अवस्थालाई मध्यनजर गरी खेतीपातीको समयमा नगरपालिकाभित्रका विद्यालयमा बिदा दिने निर्णय भएको उनले जानकारी दिए । ‘असार पहिलो हप्ताबाटै बिदा दिने निर्णय भएको छ,’ उनले भने, ‘चाडपर्वका बेला पनि स्थानीय बिदा दिने गरिएको छ ।’एक शैक्षिक सत्रमा १ सय ९२ दिन पढाइ हुन्छ । निरन्तर सिकाइ मूल्यांकनका लागि कम्तीमा ७५ प्रतिशत विद्यार्थी उपस्थित हुनुपर्छ । निरन्तर सिकाइ मूल्यांकन प्रणाली लागू भएपछि न त विद्यार्थी नियमित स्कुल आउँछन् न पढाइमा खासै ध्यान दिन्छन् । ‘बालबालिकालाई नियमित उपस्थित गराउन दिवा खाजालगायत आकर्षक कार्यक्रमहरू लागू गरिनुपर्छ,’शिक्षकहरू भन्छन्, ‘बेलाबेलामा अभिभावक भेला र घरदैलो अभियान चलाउनुपर्छ । बेलौरीमा रहेका ३१ वटा सामुदायिक विद्यालयमा करिब ३ हजार विद्यार्थी अध्ययनरत छन् । यहांँ विद्यालय छाड्ने दर पनि जिल्लाको औसतभन्दा उच्च ६ प्रतिशत रहेको छ । थारू समुदायका बालबालिकाहरू ७र८ कक्षा नपुग्दै विद्यालय छाड्ने चलन छ,’ स्रोत व्यक्ति ऐरले भने, ‘स्कुल छाडेर केही भारततिर जान्छन्, कतिपय गाउँमै खेतीपातीको काम गर्छन् ।

२०७५ जेठ १५ गते ११:०३ मा प्रकाशित