समाचारमा बालबालिका

विद्यालयमै दाँत माझ्छन् विद्यार्थी

ढोकामै साबुन, बाल्टीभरि पानी र त्यसमाथि मग झुन्डयाइएको छ। भित्र कपडामा लहरै खोपाखोपा बनाई ब्रस राखिएको छ । त्यसमाथि काइँयो छन् । सानो ढकियामा नेल कटर छ । हेर्दै सरसफाइप्रति निक्कै सचेतना अपनाइएको अनुभव गर्न सकिन्छ । कपिलवस्तु नगरपालिका–३, जमोहरामा रहेको राधाचन्द्र प्रावि बालविकास केन्द्रमा विद्यार्थीलाई आकर्षण गर्न राखिएका ब्रस र काइँयो । सरसफाइकै कारण कपिलवस्तु नगरपालिका–३ जमोरहाको राधाचन्द्र प्रावि बालविकास केन्द्र छोटो समयमै नमुना बन्दै गएको छ । यहाँ बालबालिका भर्ना गराउन अभिभावक अनुनयविनय गर्दै आउँछन् । गाउँभरिका बालबालिका भर्ना भएका छन् । सरसफाइकै कारण अभिभावक आफैं भर्ना गराउन विद्यालय जान्छन् । भर्ना गर्दैनौं भनेपछि चिनजान र पहँुच प्रयोग गर्दै पुग्छन् । बिहान १० बजे विद्यालय आउने बालविकासका सबै विद्यार्थी ब्रस गर्छन् । ब्रसमा नाम लेखिएको छ । त्यो पढेर चिन्छन् । त्यसपछि साबुनपानीले हात धुन्छन् । ब्रस माथि राखेको काइँयो झिकेर कपाल कोर्छन् । त्यसपछि पढ्न थाल्छन् । यो सबै काम गर्दा शिक्षकले सघाउँछन् । ‘अधिकांश अभिभावक विपन्न छन्,’ प्रधानाध्यापक गीता त्रिपाठीेले भनिन्, ‘त्यसमाथि सचेतना छैन । त्यही भएर सरसफाइमा बढी जोड दिएका छौं । टाठाबाठाहरू नजिक सदरमुकामको राम्रो स्कुलमा पढ्न जान्छन् । दलित र साँझबिहान चुलोचौको समस्या हुने नै हाम्रा विद्यार्थी हुन् । विद्यार्थीलाई सिकाउने सरसफाइको प्रभाव अभिभावकमा पनि पर्न थालेको छ । विद्यार्थीले आफ्ना आमाबालाई फोहोर चलाएरपछि साबुनपानीले हात धुन र दाँत माझ्न भन्न थालेका छन् । २०७२ मा स्थापना भएको बालविकास केन्द्र २०७३ वैशाखदेखि राम्ररी चल्न थालेको छ । ‘सुरुमा सञ्चालन हँुदा ७/८ विद्यार्थी थिए, बोलाउँदा कोही आउँथेनन्,’ शिक्षक कमला घिमिरेले भनिन्, ‘अहिले आफैं आउँछन् ।’ अहिले ३–५वर्षका ३० बालबालिकापढिरहेका छन् । उनीहरू खेल्दै, खाँदै रमाउँदै पढ्छन् । सरकारी अनुदानबाहेक कुनै आय स्रोत नहुँदा विद्यालयको भौतिक पूर्वाधार कमजोर छ । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा राहत र बालविकास सहयोगी गरी चार शिक्षक छन् । दिनानुदिन दयनीय र कमजोर बन्दै गएको विद्यालय सुधार गर्न सकिएन भने बन्द हुने अवस्था आउँछ । त्यसका लागि लाग्नुपर्छ भन्दै शिक्षिकाहरू कम्मर कसेर लागेका छन् । विभिन्न निकायमा गई उनीहरूले विद्यालय राम्रो बनाएका छन् । डेढ वर्षयता नयाँ प्रअ आएपछि विद्यालयले गति लिएको छ । अपुरो रहेको बालविकास केन्द्र चिरिच्याँट्ट बनाइएको छ । विद्यार्थीलाई झोला पुस्तक पनि दियो । त्यस्तै, भर्खर बिजुली पनि जडान गरिएको छ । बालविकासका विद्यार्थीलाई झोला र दैनिक खाजा दिने गरिएको छ । बालविकासका लागि चाहिने सबै सामग्री सरसहयोगमै जुट्ने गरेका छन् । ‘ठूलो कक्षालाई राम्रो बनाउने प्रयासमा छौं,’ प्रधानाध्यापक त्रिपाठीले भनिन्, ‘सानैबाट सुरुवात गरेका छौं । बालविकासकालाई पूरै व्यावहारिक शिक्षा दिन्छौं ।‘मकैका घोगा, काठको टुक्रा र स–साना ढुंगा प्रयोग गरेर जोड, घटाउ, गुना र भाग सिकाउँछौं । दाल, चामल, गहुँ, पिठो र चिनी पनि राखेका छौं,’ सहयोगी शिक्षक शारदा पराजुलीले भनिन्, ‘त्यसैबाट कडा, नरम र खस्रो वस्तु भनेर सिकाउँछौं । पढाउने अधिकांश पाठयसामग्री स्थानीय स्तरमै निर्माण गरेका छौं, बडो चाखमानेर सिक्छन् ।

२०७४ पुस १४ गते ०८:४२ मा प्रकाशित