समाचारमा बालबालिका

बालबालिकामा कडा कुपोषण

पूर्व र पश्चिम नवलपरासीका ४ सय २४ बालबालिकामा कडा खालको कुपोषण देखिएको छ । नियमित पौष्टिक आहारको कमीले विपन्न समुदायका बालबालिकामा यस्तो कुपोषण पाइएको हो । दुवै जिल्लाका ३२ हजार बालबालिकामा गरिएको परीक्षणका क्रममा यो नतिजा सार्वजनिक भएको थियो ।समस्याग्रस्त बालबालिकालाई नियमित पौष्टिक आहार खुवाएर उपचार भइरहेको छ । ६ महिनादेखि ५ वर्षमुनिकालाई परीक्षण गरिएको थियो । गाउँमा स्थानीय स्वयंसेविका परिचालन गरेर परीक्षण सञ्चालन गरिएको छ । सुनवल, पाल्हीनन्दन, नर्सही, सरावल, प्रतापपुर, गुठीप्रसौनी, परासी, कोल्हुवालगायत २४ स्थानमा उपचार केन्द्र सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अरुणकुमार महतोले जानकारी दिए । ‘खानपानमा ध्यान नदिएकाले बालबालिकामा कुपोषण भएको पाइयो, उनले भने, ‘घरघरमा गएर स्वयंसेविकाले परीक्षण गरेपछि निस्शुल्क उपचारको व्यवस्था गरेका छौं।’ आवश्यक पौष्टिक आहार नपाउँदा शरीर पुड्को, ख्याउटे, उमेर अनुसार तौल नबढ्ने समस्या देखिन्छन् । यस्तो कुपोषणले बालबालिकालाई छिट्टै सिकिस्त बनाउने स्वास्थ्यकर्मी बताउँछन् । नयाँ भेटिएका बिरामीमध्ये ८६ जना उपचारपछि निको भएको, १४ जना स्वास्थ्य संस्थाको सम्पर्कमा नआएको र अन्यको उपचार भइरहेको छ । जिल्लाको दक्षिणी भेगका विपन्न समुदाय दिनभरि मजदुरी गर्न जाने भएकाले आफ्ना छोराछोरीलाई उपचारका लागिसमेत ल्याउँदैनन् । गाउँमा यस्ता बिरामीलाई भूतप्रेत लागेको भन्दै झारफुक गर्ने चलन छ । त्यसैले घरघरमा स्वयंसेविका खटाएर निगरानी गर्न लगाइएको जनस्वास्थ्यले जनाएको छ । कुपोषित भेटिएमा सरकारी स्वास्थ्य संस्थाले निस्शुल्क पौष्टिक आहार खुवाएर उपचार गर्छन् ।

२०७५ जेठ २८ गते १०:५७ मा प्रकाशित