समाचारमा बालबालिका

बालविवाहबिरुद्ध रणनीति

अछाममा बालविवाह बढेपछि स्थानीय तह बालविवाहविरुद्ध रणनीति बनाउन जुटेका छन् । मेल्लेख गाउँपालिका र बिनायक पञ्चदेवल नगरपालिकाले बालविवाहविरुद्ध रणनीति तयार गर्न सुझाब संकलन गरेका छन् । मेल्लेख गाउँपालिकाअन्तर्गत आठ वटै वडाका जनप्रतिनिधी, वडामा गठित बालक्लबले रणनीतिक योजनाका लागि मस्यौदाको खाका निमार्ण गरेको छ । मस्यौदालाई अध्ययन गरी आवश्यक काटछाँट गरेर मुर्त रुप दिइने मस्यौदा खाका निर्माण समितिका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष नरपति रावलले बताए । खाका तयार भइसकेको छ, छलफलपछि अन्तीम रुप दिन बाँकी छ’, उनले भने, ‘समाजमा बढ्दो बालविवाह न्युनीकरण गर्न रणनीतिक योजना निर्माण गर्न लागेका छौ । अछाममा गर्न लागेको यो अभियान सबै तहका लागि सिको गर्न लायक र उदाहरणीय हुने उनको भनाइ छ । रणनीतिक योजना निर्माणपछि अछाममा बढ्दो बालविवाहमा कमि आउने गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराको विश्वास छ । उनले भने, ‘बालविवाहको मुद्धामा कोहि एक व्यक्तिको पहलले न्युनीकरण हुन सक्दैन । सबै मिलेर यसलाई निर्मुल पार्नु पर्छ । बालविवाह न्युनीकरण गर्न गाउँपालिकामा आउने सेवाग्राहीलाई लक्षित गर्दै बालविवाहसम्बन्धी परामर्श कक्ष समेत स्थापना गरिने उनले बताए । बिनायक पञ्चदेवल नगरपालिले पनि रणनीति तयार गर्न मस्यौदा समिति बनाएको छ । वडा नम्बर ६ का अध्यक्ष पुर्णबहादुर रावलको संयोजकत्वमा १९ सदस्यीय मस्र्यादा समिति बनेको छ । बालबालिका तथा अभिभावकलाई कानुनी बिषयका जानकारी गराउने, विद्यालय पाठ्यक्रममा बालविवाहविरुद्ध कक्षा सञ्चालन गर्ने, कानुनी प्रकृयाबारे जानकारी गराउने गरी मस्यौदा बनाउने काम भइरहेको उनले बताए । मेल्लेख स्वास्थ्य चौकीका इन्चार्ज अनिता खड्काका अनुसार बालविवाहका कारण मानसिक समस्या धेरै हुने गरेको छ । सानै उमेरमा गर्भवती हुँदा डिप्रेसन हुनुका साथै ज्यान गुमाउनेको संख्या पनि धेरै छ । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार अछाममा ११ वर्ष मुनिका ५ सय ७७ जनाले विवाह गरेका छन् । बालक दुई सय १४ र बालिका तीन सय ६३ जनाले बालविवाह गरेका छन् । त्यस्तै ११ देखि १४ वर्ष उमेर समुहका बालक दुई सय तीन र बालिका चार सय जना गरी छ सय तीन जनाले बालविवाह गरेका छन । १५ देखि २० वर्ष उमेर समुहका ८ सय २२ बालिका र ८ सय बालक गरी १ हजार ६ सय २२ जनाले बालविवाह गरेका छन् । तथ्यांकअनुसार २ हजार ८ सय २ जनाले बालविवाह गरेका छन् । बालविवाह गर्नेमा गरिब, दलित र विपन्न परिवारका बालबालिका बढि छ।

२०७६ बैशाख २५ गते १०:३९ मा प्रकाशित