समाचारमा बालबालिका

अब स्मार्ट छोरी

देशका विभिन्न भागमा भइरहेका बालिका अपहरण, बलात्कार र हत्याका घटनाले किशोरीलाई त्रस्त बनाइरहेको छ । अधिकांश छोरीले सामाजिक विभेद, हिंसा, दुव्र्यवहार र शोषणका कारण पनि आफूलाई कमजोर ठानिरहेका छन् तर तुलसीपुरका छोरीहरू भने अब आफूलाई कमजोर महसुस गर्नेछैनन् । उनीहरू छातीमा ‘स्मार्ट छोरी’ को लोगो लगाएर निर्धक्क हिँड्नेछन् । विद्यालय आउँदा–जाँदा उनीहरूको पहिचान नै बेग्लै हुनेछ । सबैले भन्नेछन्, ‘हाम्री स्मार्ट छोरी । स्मार्ट सहरको योजना बनाइरहेको तुलसीपुर उपमहानगरपालिकाले स्मार्ट छोरी अभियान थालेको हो । छोरीहरूमा समाजमा भइरहेको विभेद, हिंसा, दुव्र्यवहार र शोषणविरुद्ध सामना गर्न सक्ने आत्मविश्वास बढाउँदै स्मार्ट बनाउने योजना बनाइएको स्वास्थ्य महाशाखा प्रमुख डा। गोकर्ण दाहालले बताए । ‘छोरीहरूले जान्नैपर्ने आधारभूत ज्ञान दिएर उनीहरूको आत्मबल बढाउँदै छौं । उनीहरूले जीवनमा आवश्यक पर्ने उपयोगी सीप पनि सिक्दै छन्,’ उनले भने, ‘एउटा असल, विवेकी र आँटिली छोरी बन्न प्रेरित गर्दै छौं ।’ तुलसीपुर–४, रक्षाचौरस्थित गुरुजजुर माविबाट सोमबारदेखि यसको सुरुवात गरिएको छ । उपमहानगरका ५ सय छोरीलाई स्मार्ट बनाउने उद्देश्यले अभियान थालिएको दाहालले जानकारी दिए । उपमहानगरका विभिन्न क्षेत्र समेटिने गरी ५ विद्यालयका छात्रालाई यसमा सामेल गरिने उनले बताए । स्मार्ट छोरीका लागि २ दिनको तालिम दिइनेछ । उक्त तालिमपछि स्मार्ट छोरीको प्रमाणपत्र दिएर हौसला प्रदान गरिने दाहालले जानकारी दिए । तालिममा नेतृत्व, स्वास्थ्य सचेतना, बालअधिकार, महिला अधिकार, बालविवाह, हिंसा, शोषण, साइबर अपराध, दुव्र्यसन, यौन तथा प्रजनन अधिकार, जीवन उपयोगी सीप, तनाव व्यवस्थापनका साथै आत्मरक्षाका सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गरिएको उनले बताए।

कक्षा ९ मा अध्ययनरत छात्राहरूबाट यसको सुरुवात गरिएको र बिस्तारै अन्य किशोरीलाई पनि यसमा सामेल गर्दै जाने स्वास्थ्य शाखाका विमल केसीले बताए । सहर स्मार्ट हुनलाई छोरी पनि स्मार्ट हुनुपर्ने उद्देश्यअनुसार यस्तो अभियान थालिएको उनले बताए । छोरीहरू आत्मविश्वासी भएको घर स्मार्ट हुने भएकाले सबै अभिभावकले छोरीलाई उचित अवसर र हौसला दिन आवश्यक रहेको उपमहानगरपालिका उपप्रमुख माया आचार्यले बताइन् । ‘सामाजिक संरचनै विभेदकारी भएकाले छोरीहरू हीनताबोध गर्छन् । आफूलाई कमजोर ठान्छन्,’ उनले भनिन्, ‘स्मार्ट छोरी अभियानले उनीहरूलाई मनोवैज्ञानिक रूपमा नै बलियो बनाउनेछ ।’ सधैं आफूलाई कमजोर ठान्ने छात्राले तालिमपछि आत्मबल बढेको बताए । ‘विद्यालय आउँदा–जाँदा पनि डर लाग्थ्यो । जंगलको बाटो हिँड्नुपर्छ,’ गुरुजजुर माविमा ९ कक्षामा अध्ययनरत सविना डाँगीले भनिन्, ‘अब सानातिना समस्याको सामना गर्न सकिन्छ भन्ने आत्मबल बढेको छ । हामी पनि केही गर्न सक्छौं भन्ने साहस थपिएको छ । छोरीको जुनी पाएको भन्दै आफूलाई कमजोर ठान्ने बालिकाहरू पनि अब आफूलाई स्मार्ट भन्न सक्ने भएका छन् । घरपरिवार र समाजमा छोरीलाई दोस्रो दर्जाको व्यवहार गर्ने गरिएकामा दुस्खी हुने बालिका अब केही उपलब्धिमूलक काम गर्न सक्ने आँट आएको बताउँछन् । ‘स्मार्ट भन्नेबित्तिकै म केही गर्न सक्षम छु भन्ने महसुुस हुन्छ,’ ९ कक्षाकी सुनीता केसीले भनिन्, ‘हामी पनि समाजमा उदाहरणीय बन्न सक्छौं भन्ने आत्मविश्वास बढेको छ । कमजोर मानसिकताका कारण बालिकामाथि आक्रमण हुने भएकाले आत्मबल वृद्धि गर्दा पनि धेरै सुरक्षाको महसुस हुन सक्ने आत्मरक्षा तालिमका प्रशिक्षक नीरज न्यौपानेले बताए । ‘मानसिक रूपमा जस्तोसुकै जोखिम पनि सामना गर्न सक्छु भन्ने सोच आउनु पनि जटिलताबाट मुक्ति पाउने उपाय हो,’ उनले भने, ‘जीवन उपयोगी सीप स्मार्ट बन्न सहयोगी हुन्छन् । स्मार्ट छोरी अभियान निकै रचनात्मक अभियान भएको र यसले अन्य छोरीहरूलाई पनि हौसला प्रदान गरेको अर्की प्रशिक्षक विद्या विष्टले बताइन् । बिस्तारै उपमहानगरका सबै विद्यालयमा यो अभियानलाई विस्तार गर्दै लैजाने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारूले बताए । छोरीहरूलाई सिर्जनशील बनाउन यो अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।

२०७५ फागुन ७ गते ८:२० मा प्रकाशित