समाचारमा बालबालिका

दुई महिनादेखि किशोरी बेपत्ता

झापाको बुद्धशान्ति ७ सुनमाईकी १३ वर्षीया एलिसा गदाल डेढ महिनादेखि बेपत्ता छिन् ।उनी वैशाख २ गते बुधबारे बजार जान्छु भनेर घरबाट निस्किएकी थिइन् । आमा भीममाया र बुवा हेमबहादुर छोरी फर्किने आशामा सधैं बाटो हेरिरहन्छन् । छोरीको चिन्ताले आमाबुवाको न दिनमा भोक छ न रातमा निद्रा नै । ‘छोरी टुप्लुक्क आइपुग्छे कि जस्तो लाग्छ’, भीममायाले भनिन्, ‘सानै थिइ, कसले कहाँ पुर्‍यायो होला, के गर्दै होला ।’एलिसाको अनुहारमा दुवी निस्किएको थियो । त्यही दुवीको औषधि गर्न भनी उनी बुधबारे गएकी थिइन् । उनको साथमा दुई सय रुपैयाँ थियो । बुधबारे बजार हिँडेकी एलिसालाई एक जना छिमेकीले भारतको पानीट्यांकीतिर जान रिक्सा चढदै गरेको देखेका थिए । भीममायाले भनिन्, ‘छोरी पानीट्यांकीतिर जाँदै गरेको छिमेकीले देखेका थिए । तर, त्यसपछि कहाँ गइ थाहा छैन ।’एलिसा यसअघि घरबाट कहीं कतै गएकी थिइनन् । बाटो पो विराइन कि भन्ने आशंका पनि अभिभावकलाई छ । तर, पछिल्लो समय एलिसा छिमेकी अलिजा लोहारसँगको निरन्तर सम्पर्कमा रहेकी थिइन् । उनीहरूबीचको मित्रता निक्कै घनिष्ट थियो । त्यही कारण परिवारले अलिजाकै मिलेमतोमा छोरी बेपत्ता पारिएको भन्दै इलाका प्रहरी कार्यालय बुधबारेमा किटानी जाहेरी पनि दिइएको छ । प्रहरीले अलिजालाई अनुसन्धानको घेरामा राखेको जनाएको छ । प्रहरी नायव निरीक्षक पदम सुन्दर लिम्बूका अनुसार पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा अलिजालाई अनुसन्धानको घेरामा राखिएको बताए । ‘अलिजाको फोनको कल डिटेल मगाएका छौँ’, लिम्बूले भने, ‘त्यो आएपछि थप अनुसन्धान सुरु गर्छौँ।

२०७५ जेठ २४ गते ७:२६ मा प्रकाशित