बिहे गरम् भनेर लग्यो, फेरि पनि रमाइलो गरम् भनेर छोडिदियो
बुटवल उपमहानगरपालिका–११, देवीनगरकी सरिता विक मंसिर १६ मा विद्यालयबाट घर फर्किनन् । मजदुरीमा गएका बाआमा घर फर्के । रात पर्यो। अर्कोदिन उज्यालो भयो । तर, १४ वर्षे सरिता कहाँ गइन्, अत्तोपत्तो भएन । अत्तालिएका आमाबाबु प्रहरीमा खबर गर्न जाँदै थिए । मोबाइलमा म्यासेज आयो, ‘म राजीखुसीमा बिहे गरेर गएकी छु । मलाई नखोज्नुहोला । उहाँ सारै राम्रो मान्छे हुनुहुन्छ । केही दिनमा फर्कन्छौं । बाबुआमा प्रहरी कार्यालय नगई बीच बाटोबाटै घर फर्के । सरिताका स्कुले साथलाई सोधे । उनी केही महिनायता बस चालक बताउने एक अधबैंसेसित नजिक थिइन् । चालकले कहिलेकाहीं पैसा दिन्थे । कहिले खानेकुरा लिएर घरमै आउँथे । कहिले घुम्न लैजान्थे । पछिल्लो समय मोबाइल किनेर दिएका थिए । स्कुलको टिफिन समय र घर आउजाउ गर्दा फोनमा कुराकानी गर्थे । मोबाइल बाबुआमालाई भने देखाएकी थिइनन् । छोरीको नालीबेली थाहा पाएपछि बाबुआमा बिहे गरेर गएकामा ढुक्क भए । खोजी गरेनन् । तर, बाबुआमाले सोचेजस्तो भएन । सरिता पुस २ मा एक्लै सानीमाको घर शंकरनगर फर्किन् । उनी निराश, चिन्तित र ख्याउटे भएकी थिइन् । मानसिक विचलनले उनका क्रियाकलाप अस्वाभाविक थिए । कतिबेला टोलाउँथिन् । कतिबेला रुने गर्थिन् । ‘उसले मलाई धोका दियो । बिहे गर्न होइन, रमाइलो गर्न लगेको रे,’ बुधबार संवाददातासँगको भेटमा उनले भनिन्, ‘बिहे गरम् भनेर लगेको थियो । तर, बिहे होइन, फेरि फेरि पनि रमाइलो गरम् भनेर छोडिदियो ।’ सरिता कोसँग गएकी हुन्, उनैले चिन्दिनन् । ‘नाम प्रेम हो । गुल्मीतिर घर हो भन्थ्यो । घरमा श्रीमती र बिहे गर्ने उमेरका छोराछोरी छन् रे,’ उनले भनिन्, ‘यहाँबाट सुनौली हुँदै दिल्लीसम्म लग्यो । त्यसपछि सुनौली ल्याएर छोडिदियो ।’सरिता फर्केपछि अभिभावक झन् चिन्तित छन् । सरितामाथि भएको हिंसाको उजुरी गर्ने कि उनलाई सम्हाल्ने भन्नेमा उनीहरू दोधारमा छन् । एकातिर अधबैंसे को हो भन्ने थाहा छैन, अर्कोतिर अशिक्षित र विपन्न परिवार आफैंले कसरी कानुनी उपचार खोज्ने थाहा छैन । छिटो न्याय नपाइने र मान्छे पत्ता नलाग्ने भय अझ बढी छ ।
‘केही छिमेकीले शरीर बन्धक र जबरजस्ती करणीमा उजुरी गर्न सल्लाह दिएका छन्,’ सानीमा कौशिलाले भनिन्, ‘तर, हामी उजुरबाजुरभन्दा पहिले छोरी सम्हालेर पुरानै अवस्थामा फर्काउन चाहन्छौं ।’ कक्षा ८ की विद्यार्थी सरिताको पढाइ राम्रै थियो । बाबुआमाको उनलाई पुनः विद्यालय फर्काउने सपना छ । पछिल्लो समय सरिताजस्तै प्रेममा पर्ने र समस्यामा झेलिने किशोरी बढेका छन् । जानाकारहरू किशोरकिशोरी लक्षित यौन तथा प्रजनन शिक्षा अभावमा यस्तो भएको बताउँछन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीको तथ्यांकमा यस वर्षको पुस ३ सम्म ८१ बालिका हराएका छन् । हराउनेमध्येका ८० प्रतिशत यस्तै किशोरी छन् । २७ बलात्कार र ९ बलात्कार प्रयास तथा यौन हिंसाका उजुरी प्रहरीमा परेका छन् । यिनमा पनि धेरै किशोरी नै छन् । उमेरका हिसाबमा १३ वर्षदेखि १७ वर्षसम्मका किशोरी धेरै छन् । ‘उमेरसँगै आएको परिवर्तन नबुझ्ने किशोरीलाई लोभ्याउन र फकाउन सहज हुने भएकाले यस्ता घटना बढी भएका छन्,’ जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी निरीक्षक मीना आचार्यले भनिन्, ‘त्यसमध्ये पनि मनोरञ्जन र प्रेमका नाममा शोषणमा परेका धेरै छन् ।’१० देखि १९ वर्षको उमेर समूह किशोरकिशोरी समूह हो । यस अवस्थामा प्रजनन अंगको विकास हुन्छ । तिनको विकाससँगै विपरीत लिंगीसँगको आकर्षण बढ्छ । यौन कौतूहल जाग्छ । भावनात्मक आवेग पनि बढी हुन्छ । यस्तो अवस्थामा किशोरीलाई यौन र प्रजनन स्वास्थ्यबारे खुलेर समस्या र जिज्ञासा राख्ने वातावरण नबनाउँदा सामान्य समस्या पनि जटिल हुन्छ । लुम्बिनी प्रादेशिक अस्पतालमा लैंगिक हिंसामा परेका महिला तथा पुरुषको उपचार तथा उद्धारका लागि ओसीएमए सेवा अर्थात् अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र छ । यहाँको सेवा लिनसमेत अधिकांश किशोरी नै आउने गरेको फोकल पर्सन जमुना पन्थीले बताइन् । ‘मैले के गर्दा के हुन्छ भन्ने नजान्ने किशोरीलाई यौन हिंसा गरेका, गर्भवती बनाएका, बिहेको बहानामा बन्धक बनाएर बलात्कार गरेका घटना धेरै आउँछन्,’ पन्थीले भनिन्, ‘गर्भवती भएको लामो समयसम्म पत्तो नपाएका कतिपय किशोरीलाई प्रसूति गराएर समेत पठाएका छौं ।’किशोर किशोरी लक्षित यौन जिज्ञासा मेटाउन नेपाल सरकारले दुई वर्षअघि खुलदुली मोबाइल्स एप्स सार्वजनिक गरेको थियो । त्यसमा उमेर समूहअनुसार हुने प्रजनन अंगको विकास, भावनात्मक परिवर्तन र यौन जिज्ञासा मेटाउने सामग्री छन् । तर, धेरै किशोरकिशोरी मोबाइल एप्सबारे जान्दैनन् । किशोरकिशोरी लक्षित यौन तथा प्रजननसम्बन्धी समस्या हटाउन प्रदेशका १२ जिल्लाका १८ स्वास्थ्य संस्थाले किशोरकिशोरी परामर्श केन्द्र चलाएका छन् । त्यसमा किशोरीको असुरक्षित तथा अनिच्छित गर्भ पतन गर्ने, यौन तथा प्रजनन स्वास्थ्य सेवा दिने र किशोरकिशोरीका कुनै पनि भावनात्मक समस्या समाधान गर्ने सेवा उपलब्ध हुन्छ । ‘किशोरकिशोरीजन्य समस्या समाधान गर्न यस्ता केन्द्रलाई आगामी आर्थिक वर्षमा दोब्बर पुर्याउने लक्ष्य छ,’ प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले भने, ‘जसले किशोरीका लागि यौन तथा प्रजनन शिक्षाबारे खुलेर कुरा गर्ने, समस्या समाधान गर्ने र जटिलतामा पर्न दिनेछैन ।
२०७६ पुष ४ गते ९:१८ मा प्रकाशित