समाचारमा बालबालिका

हिंसाविरुद्ध उत्रिए छात्रा

कलैया उपमहानगरपालिका–४ को एक निजी विद्यालयमा पढ्दै गरेकी १४ वर्षीया बालिका मंगलबार विद्यालय जाँदै थिइन् । बीच बाटामै अर्को निजी विद्यालयका ३ छात्रले उनलाई अश्लील व्यवहार गर्न खोजे । छात्राले रिसले गाली गरिरहिन् र प्रतिकारमा उत्रिइन् । उनलाई बटुवाहरूले सहयोग दिए । प्रयोगमा नभएका एक निर्माणाधीन भवनमा ती छात्रहरूको लागूऔषध सेवन गर्ने अखडा रहेछ । त्यही भवन अगाडि उनलाई दुर्व्यवहार गर्दा छात्रा र बटुवाले दुर्व्यवहार गर्ने छात्रहरूको समूहलाई पक्रिन खोज्दा झोला छाडेर भागे । घटनास्थलमा भीड लाग्यो ।घटनाबारे जानकारी पाएका प्रहरीले झोलाको आधारमा छात्रको समूहलाई पहिचान गर्‍यो । पीडित छात्रा गाउँबाट सदरमुकाम कलैयामा बाबुआमासाथ कोठा लिएर पढ्छिन् । प्रहरीले घटनालाई सामसुम पार्न अभिभावकलाई ‘लबिइङ’ गर्दै छ । डरले छात्रा दुई दिनदेखि विद्यालय गएकी छैनन् । ‘कसरी छोरीचेलीलाई शिक्षा दिने रु’ छात्राका अभिभावकले भने, ‘संस्कार परिवर्तनको लागि सहरमा छोरीलाई पढाउन ल्याएँ तर छोरीलाई उपद्रो भयो । हामी परिवार तनावमा छौं, डरत्रास छ । प्रसौनी गाउँपालिका–५ को बेलहीया माविमा छात्रा बस्ने बेन्चडेस्कमा सुतिदिने, विद्यालय प्रवेशअघि र छुट्टीपछि छात्रालाई जिस्क्याउने, अश्लील शब्दले गिज्याउने सामान्य भइसकेको थियो । सहन नसकेर छात्राहरू प्रतिकारमा उत्रेपछि शिक्षकले छात्रालाई सहयोग गर्दा तिनै छात्रहरूले शिक्षकको टाउको फुटाइदिए । ‘शिक्षकको टाउको फुट्नुअघि यस्ता दुर्व्यवहारबारे प्रहरीलाई जानकारी गराउँदा चासो दिएको थिएन,’ गाउँले अभिभावक लुकेश सिंहले भने, ‘जब टाउको फुट्यो, छात्राहरू कलैया आएर प्रशासन र प्रहरी कार्यालय घेराउ गरे । चक्काजाम र नाराबाजी गर्दै जुलुस निकाले । त्यसपछि दुर्व्यवहार गर्ने छात्रसहित ३ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलायो।

जिल्लाका यी दुईवटा उदाहरण मात्र हुन् । विद्यालयहरूमा छात्राहरूको संख्या अधिक रहेको यस जिल्लामा पछिल्लो केही बर्षयता प्रेम सम्बन्धको आवरणमा छात्राहरूप्रति दुर्व्यवहार हुने क्रम बढेको छ । बाटो चोक, मन्दिर, होटल छेउछाउ र बजार, प्रयोगमा नभएका कलैया नगरमा निर्माणाधीन पुराना भवनहरूमा लागू औषध खाने अखडा बनाएका छात्राहरूले छोरीचेलीलाई विद्यालय जाँदा र आउँदा जिस्क्याउने सामान्य भइसकेको छ । यस्ता घटना अभिभावक र छात्राहरू दिनहुँ खेपिइरहेका छन् । कतिपय अभिभावक र छात्राले दुर्व्यवहार सहेर प्रतिष्ठा जाने डरले प्रहरीमा उजुरी दिन जाँदैनन् । कतिपयले प्रहरीलाई जानकारी गराउँदा प्रहरीले सामान्य ठानेर बेवास्ता गर्छन् । कतिपय सामसुम गरी मिलाइन्छ तर कारबाहीको दायरामा ल्याइँदैन । नाबालिक छात्रालाई भगाएर लगिएको घटनाबारे प्रहरीमा उजुरीको लामै सूची भेटिन्छ । चार वर्षअघि कलैयामा बलात्कारको शृंखला चल्दा बेटी बचाउ आन्दोलन चलाइएको थियो । यौन दुर्व्यवहार, यौनहिंसा र यौनजन्य क्रियाकलापले कलैया संवेदनशील मानिन्छ । ‘प्रहरीले छात्रामाथि दिनहुँ भइरहने दुर्व्यवहारका घटनालाई सामान्य ठान्छ,’ एक अभिावकले भने, ‘कहिले उजुरी ल्याउनु भन्छ, कहिले मिलोमतोमा भागेपछि केही गर्न सकिन्न भन्छ । महिला अधिकारकर्मी कृष्णा बस्नेतले प्रदेश सरकारले ‘बेटी बचाऊ, बेटी पढाऊ’ विशेष कार्यक्रम ल्याए पनि दुर्व्यवहारका घटनाले छोरीचेलीलाई पढाउन पठाउन अभिभावकलाई तनाव भइरहेको बताइन् । ‘त्रासले हरेक अभिभावक छोरीलाई विद्यालय प्रुयाउन र ल्याउन अनिवार्य झै भइसकेको छ । होटलहरूमा स्कुले छात्रहरूको चुरोट खाने लस्कर देखिन्छ । यस्तो गतिविधिले स्कुले छात्राहरूप्रति नाकारात्मक असर परिरहेको उनको भनाइ छ । ‘छोरीहरूलाई जोगाउन प्रहरी र समाजले सचेतनामुलक कार्यक्रम फैलाउन सक्नुपर्छ,’ उनले भनिन् । मधेसमा पछिल्लो केही बर्षयता छोरीहरूप्रति मोह बढेको छ । छोरा जस्तै छोरीलाई पढाउन अभिभावकहरू आकर्षित हुँदैआएका छन् ।

यसरी सुधार्न सकिन्छ
अध्ययनरत स्कुले बालिकामाथि यौन दुर्व्यवहार रोक्न धार्मिक र नैतिक शिक्षा आवश्यक भएको वीरगन्ज हरिखेतान बहुमुखी क्याम्पसका अपराधशास्त्री सहप्राध्यापक शम्भु चौरसिया औल्याउँछन् । यो शिक्षा नभए राज्य र समाज राक्षस हुने उनले बताए । ‘त्यसैले समाजमा यो दुबै शिक्षा अनिवार्य छ,’ उनले भने, ‘समाजमा यसैको कमी छ । यसबाहेक कतिपय त्यस्ता घटना असंवेदनशीलता र आत्मीयताको अभावले हुने गरेको उनको भनाइ छ । अश्लिल फिल्म प्रदर्शन, नैतिकताको ह्रासले सही गलत छुट्याउन सक्ने क्षमता अभाव र चेतना कमीले यस्ताखाले गतिविधिले प्रश्रय पाइरहेको उनले बताए । त्यसबाट अभिभावक र छात्र आफैं सजग रहनुपर्ने उनले सुझाए । ‘राज्यले समेत त्यस्ता हर्कतविरुद्ध कडा कानुन ल्याई सशक्त कार्यान्वयन गर्नुपर्छ,’ उनले भने, ‘अभिभावक र छात्राले सामाजिक रीतितिथिलाई ख्याल राख्नुपर्छ ।’ वीरगन्ज ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक समाजशास्क्री वीरेन्द्र साहका अनुसार समाजमा दण्डहीनताविरुद्ध राज्य सशत्त रूपमा प्रस्तुत नहुनुले यस्ता अराजकता बढेको छ । जे गरे पनि केही नहुने मनोविज्ञानले समाज ग्रसित भएको छ, त्यसैको चपेटामा छात्राहरू परेका छन्,’उनले भने, ‘समाज ‘बाउन्ड्री’ बाहिर हुन खोजिरहेको छ । त्यसैले कडा कारबाही र कानुन आवश्यक छ । यस्ता घटना रोक्न सामाजिक सद्भाव र आत्मीयता विषयमा समाजमा संवाद चलाउनुपर्ने उत्तिकै रहेको उनले सुझाए । पढ्ने जाने छात्रालाई त्रास देखाउने प्रवृत्ति रोक्न समाज विभक्त हुनबाट जोगाउन सक्नुपर्छ,’ उनले भने।

२०७५ फागुन ३० गते १०:११ मा प्रकाशित