समाचारमा बालबालिका

निसानामा बालिका

बोल्दा काँपिरहिन् । आत्तिएर वाक्य पूरा हुँदैनथ्यो । घरी एउटा, फेरि अर्को कुरा गर्थिन् । बाँकेको खजुराकी १५ वर्षीया किशोरी पहिले हक्की स्वभावकी थिइन् । पढाइ राम्रो थियो । चार दिदीबहिनीमा उनी माइली हुन् । मजदुरी गरे मात्र परिवारको गुजारा चल्छ । परिवारलाई सघाउने जिम्मेवारी थियो । त्यही बेला नचिताएको भयो । बाबुबाटै यौन दुर्व्यवहार भोगिन् । त्यसले मनोबल खस्क्यो । त्यसपछि व्यवहारमा असामान्य परिवर्तन देखियो । परिवार तीन वर्षअघि बर्दियाबाट बसाइँ सरेर खजुरा आएको थियो । आमा आफन्तको घर गएको मौका छोपेर बाबुले उनीमाथि दुर्व्यवहार सुरु गरे । ‘त्यो दिनररातभर सुत्न सकिनँ,’ उनले भनिन्, ‘छुटकारा पाउन रातभरि ट्वाइलेटमा बसें ।’ बाबुको डरले १२ घण्टा शौचालयमा बिताएको उनले बताइन् । बाबुको त्यस्तो व्यवहारबारे काकाकी छोरीलाई भन्दा नपत्याएपछि उनी निराश भइन् । ‘घटना भुल्न खोजे पनि बाउको व्यवहारमा परिवर्तन आएन,’ उनले भनिन्, ‘प्रतिकार गर्न खोज्दा उल्टै आमालाई मारिदिन्छु भन्नुभयो । त्यसपछि नियमित दुर्व्यवहार सहें ।’ घटना सुनाउँदा आमाले उनलाई नै सम्झाइन् । बाबुलाई कानुनी दायरामा ल्याउन परिवारले मानेन । गाइँगुइँ सुरु भएपछि बाबु भागेर भारत पसेका छन् । ‘अहिले घर फर्किने कुरा पनि गर्छन्,’ किशोरीले भनिन्, ‘मलाई डर लाग्न थालेको छ ।’ उनले आमालाई पीडाबाट मुक्ति दिलाउन राजी गराएकी छन् । बाबु फर्किएमा आमाले प्रहरीको जिम्मा लगाउने बताएको उनले सुनाइन् । ‘एक वर्षसम्म पीडा सहें,’ उनले भनिन्, ‘अब सहन्नँ ।’बाँकेकै आठ वर्षीया एक बालिकाको पीडा पनि उस्तै छ । उनी आफ्नै बाबुबाट बलात्कृत हुन् । पतिसँग झगडा भएपछि छोरी बोकेर आमा माइत गइन् । तीन महिनापछि बाबुले छोरीलाई घर ल्याए । बाबुको मायामा फुर्किनुपर्ने छोरी जबर्जस्ती करणीमा परिन् । बालिकाले प्रतिकार गर्ने अवस्था भएन । एक दिन उनले विद्यालयका प्रधानाध्यापकसित घर नपठाउन आग्रह गरिन् । त्यसपछि मात्रै बालिका तीन महिनादेखि आफ्नै बाबुबाट अत्याचारमा परेको खुल्यो । स्वास्थ्य परीक्षण गराउँदा उनको गुप्तांगमा भएको घाउ पाकेको थियो । उक्त घटना अध्ययन गरेकी अधिकारकर्मी पुष्पा सुनार भन्छिन्, ‘अहिले बालिकालाई नियमित परामर्शमा राखेका छौं ।’ आमाले पतिविरुद्ध जाहेरी दिइन् । उनका बाबु सजाय भोगिरहेका छन् । अहिले आमालाई मानसिक समस्या देखिएको छ । बालिका पनि सामान्य अवस्थामा छैनन् । त्यसैले सामाजिक संस्थाले संरक्षणमा सघाएको छ ।कोहलपुर–११ का ३८ वर्षीय विजय भनिने गोविन्द दमाई गत असार २१ मा ६ वर्षीयालाई जबर्जस्ती करणी गरेर फरार भए । प्रहरीले उनको खोजी थाल्यो । उनी भने पीडितलाई क्षतिपूर्ति भन्दै पैसा दिएर घटना मिलाउने प्रयासमा लागे । पीडित परिवारका अनुसार गोविन्दको परिवारले क्षतिपूर्ति लिएर बारम्बार मिलापत्र गर्न दबाब दिएको थियो । घटना थामथुम पार्न पीडक पक्ष तीनदेखि चार लाख रुपैयाँ दिन तयार भएको सार्वजनिक भयो । मिलापत्रका लागि गाउँका अगुवाले समन्वय गरे । क्षतिपूर्ति लिएर मिल्न दबाब दिए पनि आफू सहमत नभएको पीडितका बाबुले बताए ।गोविन्दविरुद्ध जबर्जस्ती करणी र मिलापत्रका आरोपीलाई सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए । अधिकारकर्मीहरूका अनुसार धेरैजसो जघन्य अपराधका घटनामा अगुवाले नै मिलापत्र गराउन खोज्ने प्रवृत्ति छ । एकातिर पीडक पक्राउ नपर्दा बालिका असुरक्षित हुन्छन्, अर्कोतर्फ यौन हिंसाले बालिकामा दीर्घकालीन असर पुग्ने गरेको छ । ‘यौनहिंसामा परेकालाई खुसीसाथ जीवनयापन गर्ने वातावरण मिलाउन जरुरी छ,’ मनोविमर्शकर्ता विमला काउचाले भनिन्, ‘नकारात्मक विचार आउने हुन्छ । आफैंले बढी ख्याल गर्नुपर्छ ।’ दुई वर्षयता प्रहरीमा बालिका हिंसामा परेका उजुरी धेरै छन् । आर्थिक वर्ष २०७५र७६ मा जिल्ला प्रहरी कार्यालय बाँकेमा जबर्जस्ती करणीका ५६ उजुरी दर्ता भएका छन् । तिनमा बाल यौन दुर्व्यवहारका १७ घटना छन् । साउनयता त्यस्ता दुईवटा घटनाका उजुरी दर्ता भएका छन् । बालिका तथा शारीरिक रूपमा अक्षम व्यक्ति आफन्तबाटै असुरक्षित रहेको तथ्यांकले देखाएको छ । विभिन्न प्रविधिको विकाससँगै विकृति भित्रिएकाले बालिका पीडित भएको प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए ।

नौ वर्षीया अलपत्र
लगातार बलात्कारमा परेकी पश्चिम नवलपरासीको सुनवल–४ की नौ वर्षीया बालिका अलपत्र परेकी छन् । उनलाई स्थानीयले उद्धार गरेर गत साउन १३ मा प्रहरीको जिम्मा लगाएका थिए । जिल्ला प्रहरीको आग्रहमा ती बालिकालाई ३५ दिनसम्म अल्पकालीन सुरक्षित आवासगृहमा राखियो । तर, गृहले त्यसभन्दा धेरै दिन राख्न नमिल्ने जनाएपछि स्थानीयले रूपन्देहीमा रहेको मानव सेवा आश्रममा ल्याए । आश्रमले बेवारिसलाई मात्र राख्न सकिने बतायो । छिमेकी विमला अर्यालका अनुसार परिवार विपन्न भएकाले बालिकालाई घर पठाउने स्थिति छैन । सरकारी संयन्त्रले पनि बेवास्ता गरेको छ । आश्रमले नमानेपछि अर्यालसहितका मानवअधिकारकर्मी बुटवल उपमहानगरको जितगढीस्थित बालगृहमा राख्न सकिन्छ कि भन्ने कोसिसमा लागे । ‘त्यसको प्रक्रिया लामो र झन्झटिलो रहेछ । संघीय सरकारमै पुगेर सिफारिस स्वीकृत गराउनुपर्दो रहेछ,’ अर्यालले भनिन्, ‘बालिकालाई कहाँ पठाउने, के गर्ने समस्या भएको छ ।’ बालिका हाल बुटवलको कदम नेपालको आश्रममा छिन् । आश्रम आर्थिक अभावबाट गुज्रिरहेकाले कति दिन बालिकालाई यसरी राख्ने भन्ने समस्या भएको आश्रम अध्यक्ष इन्दिरा आचार्यले बताइन् । प्रहरीका अनुसार गत साउन १३ मा बालिका रगताम्य अवस्थामा भेटिएकी थिइन् । बाबुले छोरी महिनावारी भएको र पेट दुखेर रोएको ठाने । त्यसपछि सेनेटरी प्याड र कट्टु किन्न गए । पसलेले यस्तो सुनेपछि नौ वर्षीया बालिका महिनावारी नहुने, अरू नै कुनै समस्या हुन सक्ने भन्दै आफैं भेट्न आए । सोधपुछमा बालिकाले तीन जनाले पालैपालो करणी गरेको बताइन् । त्यसपछि स्थानीय मिलेर प्रहरीमा उजुरी दिए । स्वास्थ्य परीक्षण गराए । पटकपटक बलात्कारमा परेको पुष्टि भएपछि आरोपीलाई पक्राउ गरी कानुनी कारबाही थालिएको छ । पक्राउ पर्नेमा सुनवल–४ का ६० वर्षीय नारायण श्रेष्ठ, ४१ वर्षीय लोकबहादुर क्षत्री र ५० वर्षीय शिव श्रेष्ठ छन् । तीनै जनालाई अहिले पुर्पक्षका लागि थुनामा राखिएको जिल्ला प्रहरीका अनुसन्धान अधिकृत डीएसपी विक्रम सुवेदीले बताए । बालिकाको स्वास्थ्य जटिल रहेकामा विस्तारै सामान्य बन्दै छ । ‘रगत बग्न रोकिएको छ,’ आश्रमकी सहजकर्ता सुष्मा अर्यालले भनिन्, ‘तर तल्लो पेट दुख्यो भनेर मूर्च्छा पर्न रोकिएको छैन ।’ बालिकाको पाठेघरमा घाउ भएको चिकित्सकले बताए । पारिवारिक अवस्था दयनीय छ । उनी तीन वर्षकी हुँदा आमाले दोस्रो बिहे गरिन् । आमाले छोरी लगे पनि बाबुले अर्को वर्षै फर्काएका थिए । त्यसपछि अलपत्र सानी छोरी अहिले आफन्तको घरमा छिन् । बलात्कारमा परेकी ठूली छोरी बाबुसँगै थिइन् ।

दुर्व्यवहार बढ्दै

दाङ । गत आइतबार मुलुकभर बाल दिवस मनाइयो । वर्षमा एकदिन बाल अधिकारबारे चर्चा गरियो । बाँकी दिन बालबालिकाका समस्याबारे छलफल गरिँदैन तर दिनहुँजसो बालबालिकामाथि हिंसा र दुर्व्यवहार भएका घटना सार्वजनिक भइरहन्छन् । बालबालिका संरक्षणमा समस्या बढेको छ । दाङको घोराही–२ की पाँच वर्षीया एक बालिका गत माघ १६ मा बलात्कृत भइन् । स्थानीय मुकेश विकले जबर्जस्ती करणी गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिए । विकविरुद्ध मुद्दा चल्यो । जिल्ला अदालतले गत वैशाख २७ मा दोषी ठहर गर्दै १६ वर्ष कैद र पीडितलाई स्थानीय तहबाट ५० हजार क्षतिपूर्ति उपलब्ध गराउने फैसला गर्‍यो । गत पुस २५ मा तुलसीपुरकी १० वर्षीया बालिकालाई ५५ वर्षीय हजुरबुबाले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी पर्‍यो । मादक पदार्थ सेवन गरी यौन दुर्व्यवहार गर्ने गरेको अभियोगमा मुद्दा चल्यो । जिल्ला अदालतले गत फागुन २२ मा उनलाई दोषी ठहर गर्दै ६ महिना कैद, दुई हजार जरिवाना र पीडितलाई पाँच हजार क्षतिपूर्ति उपलब्ध गराउने फैसला गर्‍यो ।यी बालिकामाथि भइरहेका यौन दुर्व्यवहारका प्रतिनिधि घटना हुन् । जिल्ला अदालतको तथ्यांकअनुसार एक वर्षमा जबर्जस्ती करणीका १ सय ३७ मुद्दा दर्ता भएका छन् । दाङ जिल्ला प्रहरीमा २०७० मा २० वटा बलात्कार तथा यौन दुर्व्यवहार मुद्दा दर्ता भएकामा २०७१ मा ४०, ०७२ मा ५०, ०७३ मा ५१, ०७४ मा ५८ र ०७५ मा ८४ पुगेका छन् । घोराही कारागारमा सबैभन्दा बढी कैदीबन्दी जबर्जस्ती करणी मुद्दाका छन् । २ सय ७४ मध्ये ८२ जना जबर्जस्ती करणीका दोषी करार भएकाहरू छन् । तुलसीपुर कारागारमा पनि सबैभन्दा बढी कैदीबन्दी जबर्जस्ती करणीका छन् । ४ सय ११ कैदीबन्दीमध्ये तीन विदेशीसहित १ सय ४३ जना बलात्कार मुद्दाका छन् । बालबालिकाको संरक्षणमा ठूलो चुनौती रहेको मानव अधिकार सञ्जालका संयोजक केशवकुमार शर्माले बताए ।‘बालबालिकामाथि विभिन्न खालका हिंसा भइरहेका छन् । त्यसमा पनि बालिका बढी असुरक्षित छन् । घरभित्रै असुरक्षित छन्,’ उनले भने, ‘अभिभावक र राज्य जिम्मेवार नभए बालबालिका बचाउन सकिँदैन ।’ बलात्कारका घटना बढ्न थालेपछि यसबाट बच्ने उपाय तथा आत्मरक्षासम्बन्धी तालिमसमेत सञ्चालन गरिएका छन् । तैपनि समाजमा बालबालिकामाथि हिंसाका घटना हुन नछाडेको नागरिक समाजका संयोजक चन्द्रराज पन्तले बताए ।

२०७६ असोज १० गते १०:३२ मा प्रकाशित