समाचारमा बालबालिका

लगनखेलस्थित ललितपुर माध्यमिक विद्यालयमा भएको यौन दुर्व्यवहार छानबिन गर्न समिति

लगनखेलस्थित ललितपुर माध्यमिक विद्यालयका तीन शिक्षकमाथि लागेको यौन दुर्व्यवहार आरोपबारे छानबिन गर्न ललितपुर महानगरपालिका ५ वडा कार्यालयले छानबिन थालेको छ । उक्त विद्यालयका पूर्वछात्राले आफू पढदाताका दुर्व्यवहार गरेको आरोप लगाएपछि वडाध्यक्ष विकास श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । विद्यमान व्यवस्थाअनुसार विद्यालय सञ्चालन जिम्मेवारी नगरपालिकाअन्तर्गत छ । घटनाका विषयमा प्रहरी प्रभाग जावलाखेलमा समेत उजुरी परेको छ । उक्त विद्यालयका ३ शिक्षकमाथि यौन दुर्व्यवहारको आरोप छ । पहिले विद्यालयका गणित शिक्षक बोधराज त्रिपाठीमाथि आरोप लागेको थियो । पछिल्लोपटक पूर्वछात्राहरूले शिक्षकहरू सुशान्तबहादुर खत्री र गोकुल शर्मामाथि पनि आरोप लगाएका हुन् । शिक्षकले गरेको दुर्व्यवहारबारे ‘दि काठमान्डु पोस्ट’ दैनिकमा सार्वजनिक भएपछि विद्यालयमा तनाव बढेको छ । समाचार सार्वजनिक हुनु २ दिनअघि नै आरोपित गणित शिक्षक बोधराज त्रिपाठी विद्यालयमा अनुपस्थित थिए । समाचार आएपछि उनलाई ‘निलम्बन गरिएको’ भाइस प्रिन्सिपल गीता सिटौलाले जनाएकी थिइन् ।

विद्यालय प्रशासनले स्वतन्त्र छानबिन समिति गठन गर्ने पूर्वविद्यार्थीसित सम्झौता गरेको छ । दुर्व्यवहार गर्ने शिक्षकलाई कानुनी कारबाही गरिनुपर्ने, विद्यालयले विद्यार्थी र अभिभावकसँग सार्वजनिक रूपमा माफी माग्नुपर्नेलगायत छबुँदे माग पूर्वविद्यार्थीले राखेका छन् । ‘हामीले काठमान्डु पोस्टमा समाचार आएपछि दस–बाह्र वर्षअघिको यौन दुर्व्यवहार घटनाबारे थाहा पायौं,’ वडाध्यक्ष श्रेष्ठले भने, आरोपित शिक्षक निलम्बन गरिएको छ । फेरि पनि अरू शिक्षकमाथि आरोपसहितको समाचार आयो । हामी आजै (बिहीबार) छानबिन समितिको बैठक बस्यौं । भोलि (शुक्रबार) देखि शिक्षकहरू, विद्यालय प्रशासनसँग क्रमशस् बैठक बसेर सत्यतथ्य बुझ्नेछौं । तर, उक्त घटनाबारे लगनखेलमै रहेको ललितपुर शिक्षा विकास तथा समन्वय इकाइ ९तत्कालीन जिल्ला शिक्षा कार्यालय० मा कुनै उजुरी परेको छैन । शिक्षा इकाइ प्रमुख गुणराज पोखरेल ललितपुर माविको घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताउँछन् । ‘त्यस्तो कुनै उजुरी आएको छैन, अन्य विद्यालयबाट पनि यौन दुर्व्यवहारबारे कुनै उजुरी नआएको उल्लेख गर्दै पोखरेलले भने, ‘जमाना पारदर्शी छ । चेतना बढेको छ । सबै आआफ्ना ठाउँमा सचेत रहेर काम गर्नुपर्छ ।

प्रिन्सिपल अमेरिकामै
उक्त विद्यालयका प्रिन्सिपल माधव सिटौला लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । भाइस प्रिन्सिपल गीता सिटौलीले विद्यालय प्रशासन सम्हाल्दै आएकी छन् । उनीहरू नाताले दाजु र बहिनी हुन् । उक्त विद्यालय २०५२ सालदेखि निजी गुठीअन्तर्गत सञ्चालन हुँदैआएको छ । स्रोतका अनुसार दाजु माधवले बहिनी गीतालाई विद्यालयको स्वामित्व एकलौटी सुम्पन चाहेका छन् । अभिभावकहरूले छात्रामाथि दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाही हुनुपर्ने माग गर्दै कसैलाई विद्यालयको स्वामित्व सुम्पने वातावरण बनाउन पुराना शिक्षकमाथि आरोप भने लगाउन नहुने बताउँछन् । ‘त्यसरी छात्रामाथि यौन हिंसा गर्ने शिक्षकमाथि कारबाही हुनुपर्छ,’ एक अभिभावकले भने, ‘तर, वर्षौंसम्म त्यस्ता शिक्षकलाई कारबाही गरिएन । अहिले एकाएक आएर एकपछि अर्को शिक्षकलाई यौन दुर्व्यवहारको आरोप लगाउनु गम्भीर विषय हो । शैक्षिक संस्था सबैको साझा भएकाले शिक्षकको दुश्चरित्रका कारण विद्यालय बिगार्न नहुने ती अभिभावकको कथन छ । प्रतिक्रिया लिन खोज्दाभाइस प्रिन्सिपल सिटौला सम्पर्कमा आउन चाहिनन् ।

२०७५ माघ २५ गते ८:१५ मा प्रकाशित