समाचारमा बालबालिका

प्रधानाध्यापकलाई ५ वर्ष कैद

स्कुले बालिकालाई अप्राकृतिक मैथुन गराएको अभियोगमा पक्राउ परेका ५० वर्षीय खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतले ५ वर्ष कैद सजाय सुनाएको छ । गत साउन पहिलो साता पक्राउ परेका पौडेल फलेबास–६ देवीस्थानको माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन् । पुर्पक्षका लागि थुनामा रहेका उनीविरुद्ध जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले बुधबार कैद सजाय सुनाएको हो । उनीमाथि एक वर्षदेखि ७, १० र १२ वर्षीया बालिकालाई यौन हिंसा गरेको आरोप लागेको थियो । ससाना बालिकालाई ललाइफकाइ र डर, त्रास देखाएर धेरै समयअघिदेखि एउटै क्रियाकलाप दोहोर्‍याएपछि अभिभावकहरूले थाहा पाएर घटना बाहिर आएको हो । अभिभावकको उजुरीका आधारमाप्रहरीले पौडेललाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो ।प्रहरीका अनुसार पौडेलविरुद्ध जबरजस्ती करणी (अप्राकृतिक मैथुन) शीर्षकमा मुद्दा दर्ता भएको थियो । पौडेल २०४२ सालदेखि सोही विद्यालयमा अध्यापनरत थिए । ०६१ मा शिक्षक सेवा आयोग पास गरेर स्थायी नियुक्ति लिएपछि उनी प्रधानाध्यापक बनेका थिए । सामान्यतयाः उनको व्यवहार नकारात्मक नदेखिएको सहकर्मी बताउँछन् । ‘विद्यालयको शैक्षिक र भौतिक उन्नतिमा निकै चासो राख्नुहुन्थ्यो । हामीले बाहिरी नजरले हेर्दा नकारात्मक थिएन,’ एक सहकर्मीले भने, ‘भित्रभित्रै त्यस्तोव्यवहार छ भन्ने हामीले सुइँको पाएकै थिएनौं। स्थानीयका अनुसार पौडेलले आफूमाथि गरेको दुर्व्यवहारबारे करिब डेढ महिनाअघि नै एक बालिकाले अभिभावकलाई सुनाएकी थिइन् । एउटीले घटना सार्वजनिक गरेपछि अरू तीनलेपनि आफूमाथि त्यस्तो घटना भएको बताएका थिए । उक्त मुद्दामाथि अदालतले ७ वर्षीया दुई बालिकालाई यौन अपराध गरेको अभियोगमा ५ र त्यसभन्दा माथिकालाई यौनजन्य अपराध गरेको अभियोगमा ४ वर्ष अधिकतम कैद सजाय हुने गरी फैसला गरेको हो ।

२०७५ फागुन १७ गते ८:१४ मा प्रकाशित