समाचारमा बालबालिका

साथीबाट यौन दुर्व्यवहार

कालिका नगरपालिकामा एक किशोरी आफ्नै साथीबाट यौन दुर्व्यवहारमा परेकी छन् । उनीहरू दुई जना सानैदेखि निकै मिल्ने र टयुसन पनिसँगै पढ्ने साथी थिए । पछिल्लो पटक असोज ७ गते दुव्र्यवहारको घटना परिवारले थाहा पाए । त्यसपछि प्रहरीले किशोरीका साथीलाई पक्राउ गर्‍यो । कक्षा ९ मा पढ्ने उनीहरू दुवैको उमेर १५ वर्ष छ ।‘टयुसन पढेर फर्केका बेलामा त्यस्तो घटना भएको भन्ने उजुरी परेपछि हामीले केटालाई पक्राउ गरेका थियौं,’ रत्ननगरको इलाका प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) दयानिधि ज्ञवालीले भने । पीडित र पीडक दुवै नाबालिग हुन् । त्यसैले प्रहरीको अनुसन्धानपछि पीडकलाई हाल भक्तपुर सानोठिमीको बालसुधार गृह पठाइएको छ ।डीएसपी ज्ञवालीका अनुसार भदौ १० गते यता रत्ननगर र कालिका क्षेत्रमा यौन दुव्र्यवहार र बलात्कारका पाँच घटना भएका छन् । जसमा चारवटा घटनामा कम उमेरका बालिकाहरू पीडित छन् । भदौ १० मा राति आफ्नै कोठामा सुतेकी एक बालिका यौन दुव्र्यवहारमा परिन् । उनलाई दुव्र्यवहार गर्ने कालिका–४ का ३९ वर्षका जितबहादुर तमाङ पक्राउ परे ।

तमाङले रक्सी खाएर यस्तो घटना गरेका थिए । उनलाई अदालतले असोज ७ गते ५० हजार रुपैयाँ धरौटी लिएर तारेखमा छाडेको प्रहरीले जनाएको छ । यो घटना भएको साता दिनपछि भदौ १७ मा बाल यौन दुव्र्यवहारको घटना दोहोरयो । मध्यरातमा कालिका–३ की एक बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा २२ वर्षका विजय वाइबा पक्राउ परे । वाइबाले पनि मादक पदार्थ सेवन गरेको प्रहरीको भनाइ छ । बाल यौन दुव्र्यवहारको अभियोगमा मुद्दा दायर हुँदा चितवन जिल्ला अदालतले उनलाई एक लाख नौ हजार रुपैयाँ धरौटी लिएर तारेखमा छाड्ने आदेश गरेको थियो । असोज ११ गते अदालतले यस्तो आदेश गरे पनि धरौटी राख्न नसक्दा वाइबा भरतपुर कारागार चलान भएको डीएसपी ज्ञवालीले बताए ।यौन अपराधसँग सम्बन्धित अन्य दुई घटना पनि भएका छन् । डीएसपी ज्ञवालीका अनुसार जबरजस्ती करणीको आरोपमा अन्य एक जना नाबालक पनि पक्राउ परेका छन् । कात्तिक ३ गते साँझ चिने जानेकै किशोरीलाई बलात्कार गरेको आरोपमा उनी समातिएका हुन् । घटनाको विषयमा अनुसन्धान भइरहेका कारण ती किशोर हाल प्रहरीकै नियन्त्रणमा छन् । त्यस्तै, जबरजस्ती करणी गर्न खोजेको आरोपमा रत्ननगर प्रहरीले कालिका नगरपालिका–७ का सुमन गुरुङलाई पक्राउ गरेको छ । उनी कात्तिक २ गते मध्यरातमा अर्काको घरको पर्खाल नाघेर एक युवतीलाई जबरजस्तीको प्रयास गरेको डीएपी ज्ञवालीले बताए । अनुसन्धानको क्रममा सुमन पनि रत्ननगर प्रहरीको नियन्त्रणमा छन् । त्यसैगरी, उमेर नपुगेकी किशोरीलाई बिहे गरेको आरोपमा प्रहरीले कालिका–२ का मनकुमार कुमाललाई पक्राउ गरेर अदालतमा मुद्दा चलाएको छ । भदौ २८ मा कुमाल समातिएका थिए । असोज २२ गते अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न भनेपछि मनकुमार हाल भरतपुर कारागारमा रहेको डीएसपी ज्ञवालीले बताए ।

२०७५ कार्तिक १५ गते ८:२५ मा प्रकाशित