समाचारमा बालबालिका

७ महिने शिशुसहित थप ७ को मृत्यु, सामुदायिक विद्यालयमा थप चार दिन बिदा

चिसो बढेपछि सप्तरीमा थप सात जनाको मृत्यु भएको छ । चिसोका कारण हालसम्म जिल्लामा १४ जनाको मृत्यु भइसकेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठका अनुसार शनिबार राति कृष्णा सवरण गाउँपालिका–४ का ६० वर्षीय लखन ठाकुरको चिसोका कारण मृत्यु भएको छ ।  यस्तै, तिलाठी कोइलाडी गाउँपालिका–७२ का ३६ वर्षीय शिवु मण्डलको पनि शनिबार राति मृत्यु भएको सो वडाका वडाध्यक्ष गुलाव सिंहले जानकारी दिए । यसैगरी, कञ्चनरूप नगरपालिका–२ बरमझियाका ५५ वर्षीय बेचन शेख र ७ का ६१ वर्षीय उतम मरिक डोमको पनि मृत्यु भएको छ ।

शनिबार राति डाकनेश्वरी नगरपालिका–८ का ५५ वर्षीय झौली यादव र कञ्चनरूप–४ जगतपुरका ललित चौधरीका ७ महिने छोरा गणेश चौधरीको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् । यस्तै, खडक नगरपालिका–८ मुसरनियाका ७० वर्षीय मुसहरू चौधरीको पनि चिसोकै कारण मृत्यु भएको छ । तराईमा बढ्दै गएको अत्यधिक चिसोले जनजीवन थप कष्टकर बन्दै गएपछि सप्तरीका सामुदायिक विद्यालयमा थप ४ दिन बिदा गरिएको छ । यसअघि बिहीबार र शुक्रबार दुई दिन विद्यालय बिदा गर्ने निर्णय गरिएको थियो । अत्यधिक चिसो बढेपछि जिल्ला शिक्षा समितिको निर्णयानुसार २६ पुससम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर मण्डलले जानकारी दिए ।

एक साताअघि देखिको निरन्तर शीतलहरका कारण चिसो बढेपछि बालबालिका बढी प्रभावित भएको र कतिपय विद्यालयमा विद्यार्थी नै आउन छोडेपछि जिल्लाभरका ४ सय १२ वटै सामुदायिक विद्यालय बिहीबारदेखि नै बन्द भए पनि निजी विद्यालयहरूमा भने पठनपाठन नियमित भइरहेको छ । चिसोका कारण निमोनिया, झाडापखाला, रुघाखोकी, ज्वरोलगायतका बिरामी बढेका छन् ।  जिल्ला दैवीप्रकोप उद्दार समितिका संयोजक तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले हालसम्म सप्तरीमा दुई जनाको चिसोका कारण मृत्यु भएको बताउँदै चिसो पीडितलाई जोगाउन सक्दो प्रयास भइरहेको बताए । हालसम्म जिल्लामा ७ हजार कम्बल वितरण भएको जानकारी दिँदै उनले भने, ‘अब थप ७ हजार कम्बल बाँड्ने तयारीमा छौं । यसैबीच नेपाली सेना, जिल्ला वन कार्यालय र राजविराज नगरपालिकाले चिसोबाट प्रभावित र आर्थिक रूपमा गरिब र विपन्न समुदायलाई लक्ष्य गरी न्यानो लुगा वितरण तथा आगो ताप्ने व्यवस्था मिलाएको छ । प्रभावित बस्तीमा गएर सेना, वन कार्यालय र राजविराज नगरपालिकाले आगो ताप्ने व्यवस्थाका लागि दाउरा वितरण गरेको छ भने कम्बल र अन्य न्यानो लुगा वितरण कार्य थालेको छ । प्रजिअ पाण्डेका अनुसार अत्यधिक चिसोका कारण सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएपछि स्रोत साधनले भ्याएसम्म राहत दिने काम थालिएको छ ।

२०७४ पुस २४ गते प्रकाशित