समाचारमा बालबालिका

आत्मरक्षा सिक्दै किशोरी

बालिका र किशोरीले आफूमाथि आक्रमण भए कसरी प्रतिरक्षा गर्ने ? पश्चिम र पूर्वी नवलपरासीमा प्रतिरक्षा तालिम नै सुरु हुन थालेको छ । दिनदिनै बढेका हिंसा र बलात्कारका घटनाबाट जोगिन टोल–टोलमै यस्तो अभियान थालिएको हो । महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउने उद्देश्यले सञ्चालित तालिममा कुन संवेदनशील अंगमा प्रहार गर्दा आफू उम्किन सकिन्छ र गोप्य अंगको सुरक्षाका लागि के गर्ने भन्ने सिकाउने गरिएको छ ।सरकारी सहकार्यमा सञ्चालित पहुँच कार्यक्रमअन्तर्गत नवलपरासीका बाल क्लब प्रतिनिधि र युवा क्लबमा आबद्ध किशोरीलाई आत्मरक्षा तालिम दिइएको हो । तालिम लिइसकेका किशोरीले अहिले गाउँघरमा अभियान नै चलाएका छन् । उनीहरूलाई गल्र्स किकका अध्यक्ष नीरज न्यौपानेसहितको विज्ञ टोलीले प्रशिक्षण दिएको छ । तालिममार्फत शारीरिक प्रतिरक्षाका साथै महिला हिंसाका कारण, कानुनी उपचार र अन्यायमा परे कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा पनि परामर्श दिइएको छ । धम्क्याएर बलात्कार प्रयास भए प्रतिरक्षाका लागि किशोरीको मनोबल उच्च पार्न के–कस्ता उपाय अपनाउन सकिन्छ भन्नेबारे किशोरीलाई सिकाइएको छ । आत्मबल उच्च राखेर तत्काल उम्कन सकिने गरी आक्रमण गर्ने तरिकाका विषयमा शारीरिक प्रशिक्षण दिइएको न्यौपानेले बताए ।

आफ्नो क्षमता आफूले पहिचान गर्ने, हिंसाका किसिम के–के हुन्, परिस्थितिजन्य अवस्थामा आफूलाई कसरी सुरक्षित गर्न सकिन्छ र कानुनी उपचारका लागि कहाँ जाने भन्ने विषय प्रशिक्षणका मूल सिकाइ भएको उनले जनाए । तालिममा सहभागी किशोरीले आफ्नो विद्यालय, कलेज, क्लब तथा समुदायमा गएर आ–आफ्नो क्षेत्रका बालिका, किशोरी तथा महिलालाई प्रशिक्षण दिने गरेका छन् । रामग्राम नगरपालिका–१ की २२ वर्षीया रेनुका चौधरी दुई पटक आत्मरक्षा तालिममा सहभागी भइन् । महिला हिंसा नबुझेकी उनी अहिले अभिभावकलाई महिला हिंसा, किशोरी सुरक्षा र मनोवैज्ञानिक परामर्श दिन सक्ने भएकी छन् । उनीसहित १५ जनाले किशोरी आत्मरक्षा समूह नै गठन गरेका छन् । उनीहरूले बलात्कारबाट कसरी बच्न सकिन्छ, प्रतिरोध कसरी गर्ने र यो जघन्य अपराध हो भन्ने गाउँ–गाउँमा बुझाइरहेका छन् । आफ्नो समूहले यस्ता अमानवीय कार्य कसैले पनि गर्नु हँ‘दैन भन्ने सन्देश दिइरहेको रेनुले बताइन् । ‘पहिलेपहिले एक्लै हिँडदा कसैले दुव्र्यवहार गर्छ कि भन्ने डर लाग्थ्यो, प्रतिरोध गर्ने आत्मविश्वास थिएन,’ उनले भनिन्, ‘अहिले यस्ता घटना रोक्न समाजमा कस्तो सचेतना फैलाउनुपर्छ भन्ने जानकारी भएको छ ।’ कसरी सुरक्षित हुने भन्ने शारीरिक र मानसिक उपायबारे पनि सिकाइरहेको उनले बताइन् । उनीजस्तै यस क्षेत्रका किशोरीले अभिभावक, महिला अधिकारकर्मी र पुरुषको सहायतामा बलात्कार र महिला हिंसाविरुद्ध अभियान चलाउनुका साथै शारीरिक प्रशिक्षणसमेत दिइरहेका छन् । बालअधिकार र युवा सचेतना अभियानकर्ता दीपक शर्माले किशोरीको अभियान प्रभावकारी भएको बताए । विभिन्न संघसंस्था, सुरक्षा निकाय र स्थानीय सरकारले पनि यस अभियानलाई साथ दिएका कारण स्थानीयमा सचेतना फैलिएको छ ।

२०७५ असोज ४ गते ७:१८ मा प्रकाशित