समाचारमा बालबालिका

आत्मरक्षा तालिम लिँदै किशोरी

तानसेन वसन्तपुरकी स्मृति थापा टुँडिखेल छेउमा ‘एस् सर’ भन्दै मज्जाले चिच्याइन् । समूहमा आवाज आयो, समूहमा आफू सिक्दै र साथीलाई पनि सिकाउँदै उनले ‘हुन्छ’ भनेकी थिइन् । टुँडिखेलमा झन्डै ३ सय किशोरी थिए । त्यसमा पनि उनले आफ्नो साथीलाई जोगिन सिकाएपछि ‘हुन्छ’ भन्दै चिच्याएकी थिइन् । माइकबाट नेपाली सेना गोरख दल गणका सेनानी मनोज डंगोल भन्दै थिए, आफैंले सिकेपछि साथीलाई पनि सिकाउनु पर्छ । यति भन्दा उनको आवाज आएको थियो, ‘एस् सर’ । थापा तानसेनको सेन्ट कपितानियो स्कुलमा पढछन् । कक्षा ९ की विद्यार्थी उनलाई आत्मसुरक्षा ‘सेल्फ डिफेन्स’सम्बन्धी यसअघि कुनै ज्ञान थिएन । उनी यसअघि कुनै त्यस्ता जोगिने खेलसमेत खेलेकी थिइनन् । तर, अहिले भने उनलाई पूर्ण रूपमा आत्मबल बढेको छ । जसले गर्दा उनलाई जोश, जाँगर र केही समस्या आए समाधान गर्न सक्छु भन्ने आँट आएको छ । गोरख दल गणको आयोजनामा आत्मसुरक्षा तालिममा डब्लुटीएफ ते–क्वान्डो संघले सघाएको छ । विभिन्न विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई आत्मरक्षाको तालिम दिइएको हो । तालिममा झन्डै तीन सय सहभागी भए । मैले आफ्नो सुरक्षा कसरी गर्नुपर्छ भन्ने कुराको ज्ञान भयो,’ बेथल स्कुलकी अनिसा पुलामीले भनिन्, यस्तो तालिम धेरैलाई दिनुपर्छजस्तो लाग्यो । कक्षा ९ मा पढ्ने उनले सबै बालबालिकालाई यस्तो तालिम आवश्यक छ भन्ने लागेको बताइन् । उनले आफूले सिकेको कुरा साथीहरूलाई पनि बताउने र सिकाउने बताइन् ।राष्ट्रिय सेवा दल ९एनसीसी०को तालिमसमेत लिएकी उनले आत्मवल बढाउनलाई पनि यस्ता तालिम दिनुपर्ने जस्तो लाग्यो । ‘मलाई आत्मबल बढेको छ,’ उनले भनिन्, पहिलोपटक यस्तो तालिम पाउँदा खुसी पनि लागेको छ ।’ कसैले हात समात्यो भने कसरी बच्नुपर्दो रहेछ भन्ने अहिले बल्ल थाहा पाएको पुलामीले बताइन् । आफूलाई कसैले समात्न खोजे कसरी डिफेन्स गर्ने, आत्मबल कसरी बढाउने, समात्ने मान्छेको कुन ठाउँमा हान्यो वा टोक्यो भने फुत्किन सकिन्छ भन्ने विषयमा जानकारी पाएका छन् । यस्तै, कसैले समात्यो वा समात्न खोजे कसरी चिच्याउने, चिच्याउँदै भीड वा मानिस भएको स्थानतिर जाने जस्ता कौसल तालिममा सिकाइएको छ । म एकदमै एक्साइटेड छु,’ पुलामीले भनिन्, ‘महिला हिंसाका घटना बढिरहेका छन् । त्यसका लागि अब हामीले पनि किक र पन्च हानेरै भए पनि जोगिनुपर्छ भन्ने कला सिकेका छौं ।’ विद्यार्थी तथा किशोरीहरूलाई सात दिनको आत्मरक्षा तालिम दिइएको गणले जनाएको छ ।पछिल्लो समय गाउँ समाजमा महिला हिंसा, बलात्कार, यौन दुर्व्यवहारका घटना बढेकाले यस्तो तालिमको आवश्यकता ठानेको गोरख दल गणका प्रमुख सुरज थापाले बताए । ‘हामीले उनीहरूलाई मोटिभेसन तालिम पनि दिएका छौं,उनले भने, ‘सामान्य आत्मरक्षा गर्ने टिप्स दिएका छौं । अनि, बालिका र महिलामाथि हिंसा गर्नेको प्रतिकार कसरी गर्ने सिकाइएको छ । मनोबल बढाएर महिला पनि पुरुष जत्तिकै बलिया छन् भन्ने आत्मविश्वास दिने काम गरेको गण प्रमुख थापाले बताए । जिल्लामै पहिलोपटक सप्ताहव्यापी आत्मसुरक्षा तालिम दिइएको हो । तालिमले छात्रालाई भावनात्मक रूपमा बलियो बनाएको आफूले पाएको प्रशिक्षकसमेत रहेका डब्लूटीएफ तेक्वान्दोका नीराजन कार्कीले बताए । तालिममा सेन्ट कपितानियो स्कुल, बेथल, विजु, वृन्दावन, पाल्पा आवासीय, विज्डम स्कुलबाट सहभागी भए । गोरखदल गणका अनुसार केही महिनाभित्र पुनः अर्को समूहलाई पनि आत्मसुरक्षा तालिम दिने जनाएको छ।

२०७६ बैशाख ३० गते १०:२९ मा प्रकाशित