समाचारमा बालबालिका

सामुदायिकबाट उत्कृष्ट

बुटवलको कालिका मानव ज्ञान माविकी छात्रा सविना सुवेदीले ४ जीपीए ल्याएकी छन् । राम्रो अक्षरमा सिर्जनात्मक रूपले लेख्ने बानीका कारण अन्य साथीलाई उछिन्न सफल भएको विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकले बताए । ‘सामान्यज्ञानदेखि लेखनकलामा अब्बल थिइन्,’ उनले भने, ‘सानो कुरामा पनि हेलचेक्र्याइँ गर्दिनथिइन् । असाध्यै मिहिनेत गर्थिन् । सविना ४ जीपीए आउने आशामा थिइन् तर ढुक्क थिइनन् । सैनामैना नगरपालिकामा कृषि अधिकृत आमा सिर्जना घर फर्केकी थिइनन् । सूर्य लाइफ इन्स्योरेन्सका जागिरे श्यामप्रकाश बाबु दिउँसै घर आएका थिए । नतिजा आएपछि इन्टरनेटमा बाबुले नतिजा थाहा पाए । ‘आफ्नै शैलीमा सिर्जनशील उत्तर लेख्ने बानीकै कारण सानो कक्षामा म प्रथम भइनँ । अहिले पनि त्यस्तै होला कि भन्ने डर थियो,’ उनले भनिन्, ‘धन्न त्यस्तो भएन भनेर खुसीले भक्कानिएँ ।’विद्यालयमा कोचिङ क्लास हुँदैनथ्यो तर कक्षा १० मा सार्वजनिक बिदाका दिनसमेत पढाइ हुन्थ्यो । सविना विद्यालय समयबाहेक दैनिक ८ घण्टा पढ्थिन् । लेखेर अभ्यास गर्थिन् । सविनाको रेडियोलोजिस्ट बन्ने इच्छा छ । रोग पत्ता लगाउन रेडियोलोजिस्टको ठूलो भूमिका भएकाले यही पढ्ने इच्छा लागेको उनले बताइन् । कक्षा ११ भने कालिका माविमै पढ्ने उनको भनाइ छ । सविनाले कक्षा ८ देखि साविक कालिका माविमा पढेकी हुन् । यो उनको आठौं विद्यालय हो । आमा सिर्जना कृषिकी जागिरे हुन् । उनको जागिर सरुवा जहाँ हुन्छ, सविनाले त्यतैत्यतै पढिन् । कालिका मानव ज्ञान माविबाट ३ सय ६८ जनाले एसर्ईई दिएका थिए । यसमध्ये ४८ जनाले ३।८ भन्दा माथि ल्याएका छन् । ए प्लस ल्याउने १ सय १९ र ए ल्याउने १ सय २६ जना छन् । बुटवलको कान्ति माविले पनि उत्कृष्ट नतिजा ल्याएको छ । २ सय १५ जनाले एसईई दिएकामा २ जनाले ३।९५ जीपीए ल्याएका छन् । तिलोत्तमाको शान्ति नमुना माविले पनि राम्रो नतिजा ल्याएको छ । यहाँकी छात्रा दिया पाण्डेले ३।९ जीपीए ल्याएकी छन् । बुटवलको नवीन औद्योगिक कदरबहादुर माविबाट १ सय ६० जनाले एसईई दिएका थिए । त्यसमध्ये विवेकसिंह कश्यपले ३।८४ जीपीए ल्याएका छन् । रूपन्देहीका करिब एक दर्जन सामुदायिक विद्यालय निजी विद्यालयसँग प्रतिस्पर्धी देखिएका छन् । निजी विद्यालयतर्फबाट बुटवलको न्यु होराइजन उच्च माविका ७ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । यहाँका प्रवेश आचार्य, क्षितिज डुम्रे, कपिल चौधरी, रोश्ना टण्डन, अनुष्का श्रेष्ठ, सदीक्षा कुँवर र सुयल ज्ञवालीले उक्त परिणाम ल्याएको विद्यालयले जानकारी दिएको छ । देवदह बोर्डिङ स्कुलका गौरव खनालले पनि ४ जीपीए ल्याएका छन् ।

अंग्रेजी पढाइले नतिजामा सुधार
विराटनगर– पोखरिया माविका एलिसा निरौला र अर्चना पोखरेलले एसईईमा ३ दशमलव ९५ जीपीए ल्याएका छन् । अंग्रेजी माध्यमबाट पढाइ हुने यो विद्यालयबाट १ सय २५ जनाले ए प्लस, ९७ जनाले ए र ७५ जनाले बी प्लस ग्रेड ल्याएका छन् । नेपाली माध्यमबाट परीक्षा दिएका ३ जनाले ए ग्रेड ल्याएका छन् । त्यसैगरी एभरेस्ट स्कुलका ७५ जनाले ए प्लस, ७८ जनाले ए र ११ जनाले बी प्लस ग्रेड ल्याएका छन् । सगरमाथा बोर्डिङ स्कुलबाट सय जनाले ए प्लस र ८४ जनाले ए ग्रेड ल्याएका छन् । अंग्रेजी माध्यमबाटै पढाइने आदर्श माविका २१ जनाले ए प्लस, ५२ जनाले ए, ४८ जनाले बी प्लस र ३३ जनाले बी ग्रेड ल्याएका छन् । सत्यनारायण माविबाट २४ ले ए प्लस, ५३ ले ए, ३८ ले बी प्लस, ८० ले बी र १३ जनाले सी प्लस ग्रेड ल्याएका छन् ।

चार जनाको ३.९५ जीपीए
चितवन– भरतपुर–१० को नारायणी नमुना माविबाट यो वर्ष एसईई परीक्षामा सामेल विद्यार्थीमध्ये चार जनाले ३।९५ जीपीए ल्याएका छन् । विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीका अनुसार सभ्यता थपलिया, सुविनाकुमारी चौधरी, रोजसिन श्रेष्ठ र दिवस लामिछानेले ३.९५ जीपीएसहित ए प्लस ग्रेड ल्याएका हुन् । २८१ जनाले परीक्षा दिएकामा ८३ जना ए प्लसमा उत्तीर्ण भएका छन् । ९७ जनाले ए, ५३ जनाले बी प्लस, ४० जनाले बी र आठ जनाले सी प्लस ग्रेड ल्याएको दवाडीले जानकारी दिए । कक्षा ८, ९ र १० को पढाइ सञ्चालन गर्ने गरी २०२० सालमा नारायणी मावि स्थापना भएको थियो । २०२१ सालदेखि यहाँका विद्यार्थी एसएलसीमा सहभागी भइरहेका छन् । २०३८ सालको एसएलसीमा शून्य नतिजा आएको, ०५७ सालमा ८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको र त्यसयता २० प्रतिशत हाराहारी उत्तीर्ण हुने गरेको दवाडीले बताए । ‘०६८ सालपछाडि उत्तीर्ण दर राम्रो भएको हो, राष्ट्रियस्तरमै प्रभाव पार्ने गरेर हाम्रो नतिजा आउन थालेको छ,’ उनले भने । सञ्चालक समिति, शिक्षक र अभिभावको प्रयास र विद्यार्थीको मिहिनेतले नतिजामा सुधार आएको उनले बताए । ‘कमजोर विद्यार्थीलाई विशेष ख्याल गरेर पढाउने, कोचिङ कक्षा नियमित गर्नेजस्ता अभियानले नतिजा राम्रो आउन सहयोग गरेको हो,’ उनले भने । पाँच वर्षयता यहाँका विद्यार्थीले अंग्रेजी माध्यमबाट परीक्षा दिएका छन् । अंग्रेजी माध्यममा पढाइ र परीक्षा हुने भएका कारण धेरैको रोजाइमा यो विद्यालय पर्न थालेको छ । ‘शिक्षकलाई प्रोत्साहन र विद्यार्थीलाई रुचि जाग्ने तरिकाले पढाउने गरेका कारण हामीसफल हुँदै गएका हौं,’ उनले भने ।

सन्दीपले ल्याए ३.९ जीपीए
काभ्रे– दाप्चा माविका सन्दीप अधिकारीले ३।९ जीपीए ल्याएका छन् । ‘मिहिनेतअनुसार नतिजा आएकामा खुसी छु,’ सन्दीपले टेलिफोनमा भने, ‘घोक्नेभन्दा पनि सम्झने गर्थें, थोरै मिहिनेत गर्ने हो भने सफलता हासिल हुने रहेछ ।’ सन्दीपले डाक्टर बन्ने सपना रहेको बताएका छन् ।अब विज्ञान विषय लिएर प्लस टु पढ्छु, त्यसपछि एमबीबीएस अध्ययन गर्ने सोचमा छु ।’ सन्दीपसँगै परीक्षामा सहभागी उनका दाजु कुलदीपले ३ दशमलव २५ जीपीए प्राप्त गरेका छन् । अधिकारीका बाबु किशोर र आमा नीता दुवै सोही विद्यालयमा पढाउँछन् । त्यसैगरी भालेश्वर मावि पनौतीकी शान्तिकुमारी तामाङले ३ दशमलव ८५ जीपीए ल्याएकी छन् ।

४ दृष्टिविहीन उत्तीर्ण
सञ्जीवनी नमुना माविबाट एसईईमा सहभागी ४ जना दृष्टिविहीन विद्यार्थी उत्तीर्ण भएका छन् । सहयोगीमार्फत परीक्षा दिएका पासाङ लामा र बाबु लामाले ३ दशमलव ३ जीपीए, प्रवीण स्याङतानले ३ दशमलव २५ र आंशिक दृष्टिविहीन अजितकुमार ठाकुरले २ दशमलव ८५ जीपीए प्राप्त गरेको प्रधानाध्यापक सानुकाजी महतले जानकारी दिए ।

डाक्टर बन्ने लक्ष्य
मकवानपुर– हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविबाट यस वर्षको एसईई परीक्षामा सहभागी सुधीर सर्राफले ३ दशमलव ९५ जीपीए ल्याएका छन् । रौतहटको माधवनारायण नगरपालिका–१ का उनले अंग्रेजी माध्यमबाट परीक्षा दिएका थिए । ‘परीक्षा राम्रो भएको थियो, सोचेअनुसारको नतिजा आएन,’ उनले भने । डाक्टर बन्ने लक्ष्य बोकेका उनी पढाइको समयबाट केही फुर्सद भएको खण्डमा कहिलेकाहीं क्रिकेट खेल्ने गरेको बताउँछन् । उनका बुबा उमेशप्रसाद सर्राफ सुनचाँदी व्यवसायी हुन् । प्रधानाध्यापक वीरवंश बैठाले उनी मिहिनेती विद्यार्थी भएको बताए । यो विद्यालयबाट २ सय ३० जनाले परीक्षा दिएका थिए । तीमध्ये ए प्लस १२ जना, ए ५३ जना, बी प्लस ६१, बी ६७, सी प्लस ३६ जना र सी ग्रेड १ जनाले ल्याएका छन् । विद्यालयमा करिब दुई हजार विद्यार्थी अध्ययनरत छन्।

२०७६ असार १३ गते ८:३२ मा प्रकाशित