समाचारमा बालबालिका

साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

बुधबार बिहानैदेखि चरीकोटको मौसम चिसो थियो । एकाबिहानै कठ्याङ्ग्रिने चिसोमा सातदोबाटो चोकमा स्कुले पोसाक लगाएका केही बालबालिका देखा परे । ७- ८ कक्षामा पढ्नेजस्ता देखिने उनीहरुले ग्यास चुलो, भाँडा र प्लास्टिकका गिलास निकाले अनि चुलो बाल्न सुरु गरे, भाँडामा पानी बसाले, चिनी, चियापत्ती हाले । चिया तयार भयो । उनीहरुकै साथीको अर्को समूहले ब्यानर टाँग्यो, जसमा लेखिएको थियो, ‘हामी हाम्रो साथी मदनलाई बचाउन चाहन्छौं । बिहानको चिसोमा चोकवरपर जम्मा भएका सर्वसाधारण ससाना बालबालिकाले चिया पकाएको हेर्न झुम्मिए । केही बेरपछि भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी आइपुगे । केसीले ससाना विद्यार्थीले सहपाठीको उपचारका लागि थालेको सहयोग अभियानको प्रशंसा गरे, उनीहरुले पकाएको चिया पिए र सहयोग संकलन बाकसमा पाँच हजार रुपैयाँ राखिदिएर अभियान सुरु गरे । भीमेश्वर नगरपालिका ५ ठुल्ढुंगाका १४ वर्षीय मदन केसी गौरीशंकर बोर्डिङ स्कुलबाट ८ कक्षासम्मको पढाइ पूरा गरेर यसै शैक्षिक सत्रमा सदरमुकामकै कालिञ्चोक उच्च माविमा ९ कक्षामा भर्ना भएका थिए । बाबु नारायण केसी सोही स्कुलमा सहायक थिए । आमा मीना चरीकोटको बजारमा नाङ्लो पसल चलाउँथिन् । बहिनी बोर्डिङमै पढ्दै थिइन् ।

मदनको पढाइ राम्रै चल्दै थियो । बाबुआमाको कमाइले परिवार जेनतेन चलेकै थियो । दुई महिनाअघि एक दिन मदनलाई अचानक ढाड दुख्यो । नजिकैको मेडिकल गए । एक्सरे गर्दा केही समस्या नदेखिएपछि उनीहरु फर्किए । १५ दिनपछि फेरि घुँडालगायत शरीरका विभिन्न भागमा दुख्ने समस्या देखियो । बाबुआमाले झाँक्रीकोमा लिएर गए । ठीक भएको अनुभूतिपछि मदन फेरि स्कुल जान थाले । स्कुलमा नेपाली सेनाले राष्ट्रिय सेवा दलअन्तर्गत विद्यार्थीलाई दिएको तालिममा उनी पनि सहभागी थिए । सेनाले उनीसहित सहभागीलाई भ्रमणका क्रममा एक महिनाअघि विराटनगर लिएर गयो । खेलकुदसहित केही सामान्य अभ्यास थियो । पाँचौं दिन उनको अनुहार अचानक सुन्नियो । धरानस्थित बिपी कोइराला मेमोरियल अस्पताल लगियो । अस्पतालले उनको रगत र शरीरमा रगतको मात्रा जाँच गर्यो । ब्लड क्यान्सरको आशंकामा उनलाई तत्काल भक्तपुर क्यान्सर अस्पताल रिफर गरियो । भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकले बोनम्यारो गरेर रिपोर्ट दिल्ली पठाए । एक सातापछि उनको रिपोर्ट आयो । उनलाई ब्लड क्यान्सर भएको रहेछ । चारपटकसम्म किमो गर्नुपर्ने डाक्टरहरुले बताए । गरिबीका परिवारसँग खर्च अभाव भयो । परिवारले मदनलाई भक्तपुरबाट सिभिल अस्पताल पुर्याए । अहिले उनलाई सिभिलमै भर्ना गरिएको छ । डाक्टरहरुले बाबु नारायणलाई उपचार सम्भव रहे पनि ग्यारेन्टी गर्न नसक्ने र महँगो हुने बताएका छन् । ‘कसरी छोरा बचाउनु, थाहा छैन’, नारायणले रुँदै भने ।मदनलाई ब्लड क्यान्सर भएको मदनले भर्खरै छाडेको गौरीशंकर बोर्डिङ स्कुलको कक्षा ७ मा पढ्ने विद्यार्थीले उनकी बहिनी मनिषामार्फत थाहा पाए । मनिषाले घरको पीडा सहपाठीलाई  रुँदै सुनाएपछि उनीहरुले आपसमा सल्लाह गरे, शिक्षकसँग पनि सल्लाह गरे । शिक्षिका विन्देश्वरी खतिवडासहितले सहयोग संकलन गर्न सुझाव दिए ।

कक्षा ७ का विद्यार्थीले कक्षाकोठामा गल्ती गर्दा ५ रुपैयाँ जरिवाना तिर्ने नियम थियो । ६ महिनाअघि सुरु भएको यो नियमले दुई हजार रुपैयाँ जम्मा भएको थियो । यो रकम मदनको उपचारका लागि नगन्य थियो । अरु विकल्प के रु कक्षा ७ की एलिना पोखरेलका अनुसार विद्यालय र घरमा गृहकार्य गर्ने समयबाहेक बचेको समयमा चोकमा चिया पकाएर बेच्ने र मिलनलाई सहयोग जुटाउने विषयमा विद्यार्थीले छलफल गरे । उनीहरुले विद्यालय व्यवस्थापनसँग अनुमति मागे । व्यवस्थापनले स्थानीय प्रशासनसँग पनि अनुमति लिइदियो । त्यसपछि विद्यार्थीले बुधबार बिहान चिया बेच्ने अभियान सुरु गरेका हुन् । ‘५, ६ र ७ कक्षाका विद्यार्थी यो अभियानमा छौं’, एलिनाले भनिन्, ‘हरेक दिन बिहान ७ देखि ९ बजेसम्म र दिउँसो ४ देखि ५ बजेसम्म चिया बेची सहयोग रकम उठाएर पठाउछौं ।’ उनका अनुसार २४ गतेसम्म चल्ने अभियानमा तीनवटा कक्षामा रहेका ७४ जनाले विभिन्न समूह बनाएर पालैपालो चोकमा खटिने नियम बनाएका छन् ।

स्कुले विद्यार्थीले चलाएको अभियानमा बुधबार ५७ हजार ९ सय ६५ रुपैयाँ संकलन भएको छ । मदनका बाबु नारायण, बहिनी मनिषा र स्कुलका प्राचार्यको रोहबरमा बुधबार संकलन भएको हिसाब सार्वजनिक गरिएको छ । विद्यार्थीको अभियानमा सातदोबाटो चोकमा आउजाउ गर्ने सर्वसाधारणले साथ दिएका थिए । मेयरसँगै उनीहरुको अभियानमा अधिवक्ता कृष्ण बस्नेत, तरुण दलका नेता विकास खड्का र युनिसेफकी कर्मचारी सुनीता कायस्थले  दुईदुई हजार रुपैयाँ दिए । चोकमा जम्मा भएका बोलेरो गाडीका चालकहरुले १२ सय रुपैयाँ संकलन गरेर दिए भने वडा नं। ३ का अध्यक्ष हरि शिवाकोटी, कांग्रेसका जिल्ला सचिव सन्तोष रिमाल, सुन्दोर्जे लामा, नवराज न्यौपाने, बाबुराम शर्मा, शर्मिला थापा, केदार नेपाल र लीलाबहादुर श्रेष्ठले एक हजारका दरले सहयोग गरे । पाँच सय रुपैयाँ सहयोग गर्ने सर्वसाधारण धेरै थिए । बटुवा र स्थानीयले पनि सहयोग गरेका थिए ।विद्यालयका प्राचार्य सूर्यकृष्ण श्रेष्ठले विद्यार्थीले स्वतःस्फुर्त रुपमा अभियान थालेको बताए । ‘उनीहरुको अभियानबाट उत्साहित छौं’, उनले भने, ‘विद्यालयका तर्फबाट पनि सहयोग उपलब्ध गराउँछौं ।

२०७४ माघ १८ गते ०६:२९