बेंसी झर्योछ स्कुल
हिउँद लागेसँगै लेकमा जाडो बढ्यो । अब हिउँ पर्न थाल्छ । जाडोले कठ्याङ्ग्रिएर विद्यार्थी विद्यालय जानै सक्दैनन् । त्यसैले गोरखाको उत्तरी क्षेत्रका अधिकांश विद्यालयले हिउँदे बिदा दिन्छन् । चुमनुब्री गाउँपालिका–२ ल्होस्थित ल्हो आधारभूत विद्यालय भने यसमा अपवाद छ । यहाँ हिउँद–बर्खा दुवै सिजनमापढाइ रोकिँदैन । विद्यालयले २०७० सालयता घुम्ती कक्षा सञ्चालन गरेको छ । कम जाडो हुने वर्षायामका ६ महिना ल्होबाट कक्षा सञ्चालन हुन्छ भने हिउँदमा आरुघाट गाउँपालिका–४ थुमीको कोखेटारमा विद्यालय चल्छ । तिहारलगत्तै ल्होबाट कापीकिताब बोकेर तीन दिनको पैदल यात्रापछि विद्यार्थीहरू थुमी आएर पढ्न थालिसकेका छन् । बेंसीको विद्यालयमा आवासीय सुविधासमेत छ । वर्षमा दुई सेसनमा कक्षा चलाउँछौं, प्रधानाध्यापक रमेश पुडासैनीले भने, ‘जाडो छल्न कात्तिक महिनाबाट चैत १५/२० गतेसम्म थुमीमै कक्षा चलाउँछौं ।’ पहिलो त्रैमासिक परीक्षा सकेर जाडो छल्न बेंसी झरेका विद्यार्थी वार्षिक परीक्षा सकेर लेक उक्लन्छन् ।जाडोयाममा थुमीबाट कक्षा सञ्चालन गर्न ल्होका सोनाम दोर्जे लामाले २५ कोठाको सुविधासम्पन्न भवन निर्माण गरिदिएका छन् । १ सय ६१ विद्यार्थी रहेको उक्त विद्यालयमा ९० कोटा हिमाली आवासीय छात्रवृत्तिअन्तर्गत विद्यार्थी अध्ययन गर्दै आएका छन् । हरेक वर्षको १० महिना सरकारले प्रतिविद्यार्थी ४ हजार रुपैयाँ छात्रवृत्तिस्वरूप उपलब्ध गराउँदै आएको छ । ‘ल्होमा खच्चडबाट प्रतिकेजी चामल ढुवानी गर्न १ सय १० रुपैयाँ लाग्छ । आवासीय सुविधाका लागि दैनिक उपभोग्य सामग्री ढुवानी गर्न विकट क्षेत्रमा खर्च पनि बढी छ,’ पुडासैनीले भने, ‘सबै विद्यार्थीलाई आवासीय सुविधामा राखेका छौं । मासिक कम्तीमा ७ लाख खर्च हुन्छ । छात्रवृत्तिको पैसाले पुग्दैन, अपुग रकम लामाले नै सहयोग गरिरहनुभएको छ । विद्यालयमा ४ शिक्षक सरकारी दरबन्दीमा कार्यरत छन् । निजी स्रोतमा अध्यापन गराउँदै आएका सात शिक्षकलाई लामाले नै मासिक तलब खुवाउने व्यवस्था गरेका छन् । उत्तरी साविकका ६ गाविस ल्होसहित, प्रोक, बिही, सिर्दिवास, चुम्चेत र गुम्दाका विद्यार्थी यहाँ पढछन् । ‘सरकारले दिएको पैसाले पुग्दैन, अपुग रकम र विद्यार्थीलाई कापीकिताब पनि सहयोग भएको छ,’पुडासैनीले भने । १ देखि ७ कक्षासम्म चलेको उक्त विद्यालयलाई आगामी शैक्षिक सत्रबाट ८ कक्षासम्म चलाउने तयारी गरिएको उनले बताए । बेलाबेला छोराछोरी भेट्न अभिभावक विद्यालयमै आउँछन्,’ पुडासैनीले भने, ‘आउँदा तीन दिन, फर्कंदा चार दिन लाग्छ ।त्यति दुस्ख गरेर पनि बालबालिकाको पढाइको स्तर बुझ्न अभिभावकले पनि चासो दिनुभएको छ । दुर्गमका बालबालिकालाई विद्यालयमा आकर्षित गर्नुका साथै शैक्षिक गुणस्तर सुधारका लागि घुम्ती विद्यालय सञ्चालन गर्नुको विकल्प नरहेको उनले भनाइ छ । ‘चैतमा गर्मी बढ्छ । चिसो ठाउँमा जन्मिएका बच्चा थुमीको विद्यालयमा राख्दा गर्मीले आत्तिन्छन्,’ उनले भने, ‘जाडोमा विद्यार्थी कठ्याङग्रिएर लेकमा कक्षा चलाउन सक्दैनौं । विद्यार्थीको सुविधाका लागि पनि घुम्ती विद्यालय त चलाउनैपर्छ ।’यो विद्यालय घुम्ती विद्यालय सञ्चालन गर्ने जिल्लाकै एकमात्र रहेको चुमनुब्री गाउँपालिकाका स्रोतव्यक्ति रोहिणी खनाल बताउँछन् । यहाँ एक मावि, दुई प्रारम्भिक बालविकास (ईसीडी), तीन आधारभूत र १७ प्रावि विद्यालय छन् । हिमाली भेगका विद्यालयमा जाडोकै कारण पठनपाठन प्रभावित हुने गरेको छ । ‘सिर्दिवाससम्म त बर्खे बिदा नै हुन्छ, माथि (लेक) का सबै विद्यालयमा जाडो बिदा दिने चलन छ,’ खनालले भने, ‘ल्हो आधारभूत विद्यालयमा मात्र सधैं पढाइ हुने हो । दसैंतिहार र वार्षिक परीक्षापछि नतिजा प्रकाशन हुनुपूर्व मात्र ल्हो आधारभूतमा केही दिन पठनपाठन हुँदैन । अरू बेला विद्यालयले बिदा दिनेगरेको छैन ।
२०७५ मंसिर १० गते ७:२१ मा प्रकाशित