समाचारमा बालबालिका

विद्यालय नहुँदा भारतमै निर्भर

अध्ययनका लागि ११ वर्षीया रजनी मल्लाह खाकी पोसाकमा सीमावर्ती भारतमा दिनहुँ जाने गर्छिन् । उनी मात्रै होइन सदरमुकाम गुलरिया १०, महजिदियाका झन्डै ५० बालबालिका अध्ययनका लागि भारतमा दैनिक आउजाउ गर्छन् । सामुदायिक तथा निजी विद्यालय नहुँदा धेरै बालबालिका अध्ययनकै लागि सीमावर्ती भारत पुग्न बाध्य भएका हुन् । गाउँमा विद्यालय मात्रै होइन, सरकारी तथा गैरसरकारी कार्यालय पनि छैनन् । सुगम बस्ती भए पनि बबई नदीको तटीय क्षेत्रका बालबालिकालाई गाउँ पुग्न सदरमुकाम गुलरिया जोड्ने पुल छैन । मल्लाह समुदायको बस्तीमा यहाँका बालबालिकालाई नेपाली राष्ट्रियगानको पनि ज्ञान छैन । उनीहरूको वेशभूषा, शिक्षा, सामाजिक, संस्कृति वातावरण, रहनसहन सबै भारतीय छ । विकट यो बस्ती सदरमुकाममा भए पनि विद्यालय नहुँदा बालबालिकालाई अध्ययनका लागि सीमावर्ती भारतीय गाउँ नजिक भएका कारण उतै जाने गरेको स्थानिय रघुवीर मल्लाह बताउँछन् । भारतमा कक्षा १ देखि उच्च शिक्षा हासिल गर्नुपर्ने भएका कारण नेपालीत्वको भावना छैन,’ उनले भने, ‘नेपालको राष्ट्रियताबारे थाहा छैन, बरु भारतको राष्ट्रगान भने कण्ठै छ ।’ती विद्यार्थी भारतीय राष्ट्रगान ‘जनगण मन अधिनायक जय हे भारत भाग्य विधाता.. गुनगुनाउने गर्छन् । गाउँमा विद्यालय नभएका कारण छोरा, छोरीले आफ्नो राष्ट्रिय भाषा नजान्नु र नेपाललाई भारतको भूमि ठान्ने गरेको स्थानीय जैपान मल्लाहको भनाइ छ। बबई नदीले घेरिएको यस टापुमा राज्यको उपस्थिति नभएका कारण यस भेगका बासिन्दामा नेपाल भन्दा भारतसँगको निकटता बढी छ । नेपाली भूमिमा बसोबास गर्ने उनीहरूका छोराछोरी भारतीय पहिचानको खाकी पोसाकमा विद्यालय जाने गरेको देख्दा यहाँ राज्यको उपस्थिति नै नभएको जस्तो लाग्छ ।

करिब तीन दशकअघि बबई नदीले धार परिवर्तन गरेपछि मस्जदिया गाउँ टापुमा परिणत भएको हो । नेपाली भूभागबाट मस्जदिया पुग्न डुंगा चढेर जानुपर्छ । तर भारतीय भूभागबाट जाँदा नदी नभएका कारण डुंगा चढ्नु पर्दैन । ४ दशकअघि स्वर्गीय हीरालाल चित्रकार लगायत गुलरिया नगरपालिकाका जमिनदारको करिब २ सय बिघा जमिन भारतबाट आएका मल्लाहले जोत्दै आएका छन् । करिब सय घरधुरी रहेका उनीहरूले २०६३ सालको टोलीबाट नेपाली नागरिकता प्राप्त गरेका थिए । त्यहाँ बसोबास गर्ने मानिसलाई पूर्वीया (भारतको गोरखपुर, देवरियाबाट आएकालाई) भन्ने गर्छन् । हरेक काममा भारुसँग सबै कारोबार हुने गर्छ । नेपाली रुपैयाँ पाउन कठिन छ । निर्वाचनका समयमा मात्र भोट माग्न आएपछि बल्ल नेपालमा बसेको महसुस हुने गरेको स्थानीयको गुनासो छ। डुंगा खियाउने, माछा मार्ने मल्लाह समुदाय बस्ने यस क्षेत्रमा उनीहरूले नेपाल सरकारसँग विद्यालय खोल्न आग्रह गरे पनि कतैबाट पहल नभएको मुरलीधर मल्लाहले बताए । ‘स्थानीय, प्रतिनिधि तथा प्रदेश सभामा दलका नेताले चुनाव जिते विद्यालय स्थापना गर्ने वचन दिए पनि सुनवाइ भएन,’ उनले भने, ‘यसका लागि नगरपालिकाका प्रमुखसँग पटकपटक पहल गरिदिन आग्रह गर्दै आएका छौं ।’ नयाँ शैक्षिक सत्रमा भर्ना अभियान सुरु भए पनि यहाँ सुनसान छ । शिक्षासँग सम्बन्धित अधिकारी लगायत जनप्रतिनिधिले अहिलेसम्म अभियान चलाएका छैनन् । सिँगो गाउँ र खेत सर्वसाधारणको भएका कारण विद्यालय बनाउन समस्या भएको नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बताए । बाढीग्रस्त यस क्षेत्रका बासिन्दालाई नगर क्षेत्रको पायक पर्ने स्थानमा बस्ती स्थानान्तरण गर्दै छौं,’ उनले भने, ‘यहाँ विद्यालय बनाउनुभन्दा बस्ती स्थानान्तरण गर्ने तयारीमा छौं । स्थानीय तिलकधारी राजभारले नेपाली भूमि भए पनि राज्यको पहुँच नहुँदा राष्ट्रियताको भावना हुन नसकेको बताए । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले नगरपालिकासँग अधिकार भएकाले समन्वय गरी विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन पहल गरिने बताए ।

२०७५ वैशाख १६ गते १०:३८ मा प्रकाशित