समाचारमा बालबालिका

विद्यार्थी नहुँदा विद्यालय बन्द

शिवसताक्षी नगरपालिका–११ को झरना आधारभुत विद्यालय दुई वर्षदेखि बन्द छ। चारजना शिक्षक दरबन्दी रहेको उक्त विद्यालयमा ३० जना मात्र विद्यार्थी भए। २०५० सालमा स्थापित यस विद्यालयमा कुनै समय ३५० जनासम्म विद्यार्थी थिए। तर, बर्सेनि विद्यार्थी घट्दै गएर ३० जना पुगेपछि २०७५ असारमा सबै विद्यार्थीलाई अन्य विद्यालयमा पठाउने निर्णय गरी विद्यालयमा ताल्चा लगाइयो।  उक्त विद्यालयबाट शिक्षण जीवन सुुरु गरी त्यसै विद्यालयबाट शिक्षण पेशा अन्त्य गरेका तत्कालीन प्रधानाध्यापक मणिकुमार दाहालका अनुसार चारजना शिक्षक दरबन्दी भए पनि विद्यार्थी संख्या घटेसँगै दुईमा सीमित भयो । दुईमध्ये दाहालको अवकाश भएपछि उनको दरबन्दी सूर्योदय आधारभूत विद्यालयमा सर्‍यो भने अर्की शिक्षिका भावना खतिवडा सोही नगरको दीपेन्द्र आधारभुत विद्यालयमा सरुवा भइन्। त्यसपछि त विद्यार्थी अन्य विद्यालयमा पठाउनै पर्ने बाध्यता आयो। आसपासका दुई किलोमिटर क्षेत्रभित्र अन्य विद्यालय नभएपछि स्थानीयकै पहलमा झरना विद्यालय स्थापना भएको थियो। कक्षा १ र २ मा २० जना विद्यार्थी भेला पारी बोरा ओछ्याएर सुरु गरिएको विद्यालयले दुई वर्षपछि स्वीकृति पायो। त्यतिञ्जेल दुई शिक्षक स्वयंसेवकको रुपमा खटिएका थिए। क्रमशः विद्यार्थी संख्या पनि बढ्यो। तर, नजिकै निजी विद्यालय खुल्न थालेपछि विद्यार्थी संख्या क्रमशः घटेको दाहाल बताउँछन्। विद्यालय बन्द हुन नदिन गाउँका घरघरमा पुगेर विद्यार्थी पठाइदिन आग्रह गरे पनि संख्या बढाउन नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम लिम्बूले बताए। नगरपालिकाले सहयोग गरे अझै पनि सोही ठाउँमा विद्यालय सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए।

बाल कक्षाको बिजोग 
विद्यालय बन्द भएपछि फर्निचरहरु मक्किन थालेका छन्। तीनवटा भवन लथालिङ्ग छन्। करिब तीन कट्ठा जग्गा बेवारिसे बनेको छ। त्यही विद्यालयको एउटा कक्षामा स्थानीय भगवती मावि मार्फत बाल कक्षा सञ्चालन भइरहेको छ।  तर, बाल कक्षा भन्नु मात्र छ। पढ्ने लेख्ने सामग्री केही छैन। खेल्ने सामग्री पनि छैन। कुनै उपकरणहरु छैनन्। भर्ना संख्या १० भए पनि पुस तेस्रो साताको बिहान साढे १० बजे पुग्दा तीन जना बालबालिकालाई प्लाष्टिकको सुकुलमा राखेर पेन्सिल समाउन सिकाउँदै थिइन् बाल शिक्षक संगीता दाहाल बजगाईं।  कक्षाकोठामा बालबालिका राख्ने फर्निचर, खेलाउने सामग्री, देखाउने कुनै चित्र–फोटो समेत नभएकाले घाम तपाउँदै बाहिरै पढ्न सिकाउने गरेको उनले बताइन्। बाल कक्षाको सुधारका लागि कुनै सहयोग पाउन नसक्दा बिजोगले बाल कक्षा सञ्चालन गर्नु परेको दुखेसो उनको छ।  वडाध्यक्ष भैरवकुमार श्रेष्ठले भने सधैंका लागि विद्यालय बन्द राख्ने पक्षमा आफुहरु नभएको र आगामी वर्षदेखि पूर्वाधारमा समेत सुधार गरि पुनः विद्यार्थी खोजी गरी विद्यालय सञ्चालन गर्ने योजना सुनाए।

दरबन्दीको गञ्जागोल 
विद्यालयनै बन्द गर्नु परेको शिवसताक्षी नगरपालिकामा ३५ सामुदायिक विद्यालय छन्। तीमध्ये १४ आधारभुत विद्यालय छन्। नगरपालिका शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहालका अनुसार आधारभुत तहमा मात्र २२५ शिक्षक कार्यरत छन्। तर, दरबन्दी मिलान गर्दा आधारभुतका ७८ घट्ने र माविमा ८१ थपिने अवस्था छ। अन्य केही आधारभुत तहका विद्यालयमा पनि निरन्तर विद्यार्थी घट्दो अवस्थामा छ।  तर, ती विद्यालय बन्द वा मर्ज गर्ने भन्दा पूर्वाधार र गुणस्तर सुधार गरी कक्षा ३ सम्म सञ्चालन गर्ने विकल्पबारे छलफल भइरहेको उनले बताए। ‘संकटमा परेका विद्यालयमा सबै सुविधा प्रदान गरी कक्षा ३ सम्म सञ्चालन गर्न सकिन्छ कि भन्ने विकल्पबारे पनि छलफल भइरहेको छ,’ उनले भने, ‘समुदाय जागरुक भयो भने बन्द भएको विद्यालय पनि पुनः सञ्चालन गर्न सकिन्छ।’ झापाका १५ स्थानीय तहमा ३६५ वटा सामुदायिक विद्यालय छन्। तीमध्ये अधिकांशमा दरबन्दी समस्या छ। धेरैजसो आधारभुत तहका विद्यालयमा विद्यार्थी संख्याको तुलनामा दरबन्दी धेरै छ। तर मावि तहमा दरबन्दी अभाव छ।  शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख जयप्रसाद महतले अधिकांश स्थानीय तहका आधारभुत विद्यालयमा आवश्यकताभन्दा बढी दरबन्दी छ।

विद्यार्थी घटे, दरबन्दी काटियो 
गौरीगञ्ज नगरपालिका–३ को गौरीगञ्ज आधारभुत विद्यालयमा आठ शिक्षक कार्यरत छन्। तर, विद्यार्थी संख्या घटेको भन्दै केही समयअघि दुई दरबन्दी काटियो। प्रधानाध्यापक मोतीलाल ताजपुरीका अनुसार एक शिक्षकको दरबन्दी यसै वर्ष काटिएको हो। यसअघिनै एक बाल शिक्षकको दरबन्दी कटौती भएको थियोे। विद्यार्थी संख्या घटेपछि दरबन्दी कटौतीमा पर्ने यो विद्यालय मात्रै होइन। कमल गाउँपालिका–६ को पञ्चकन्या आधारभुतको पनि अवस्था उही छ। यस विद्यालयमा तीन शिक्षक र एक बाल शिक्षक कार्यरत छन्। तर, विद्यार्थी संख्या घटेको भन्दै २०६६ सालमै एक दरबन्दी काटौती भयो। त्यसको दुई वर्षपछि अर्को दरबन्दी पनि कटौती भएको प्रधानाध्यापक थमनाथ घिमिरे बताउँछन्।  २०४५ सालमा स्थापित यो विद्यालयमा स्थापनाकालदेखि प्रधानाध्यापक रहेका उनी निजी विद्यालयप्रति अभिभावकको चाहनाकै कारण लगातार विद्यार्थी घटेको बताउँछन्। यस वर्ष उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्म ६२ जना विद्यार्थी छन्। तीन वर्षयता बर्सेनि १० जनाको दरले विद्यार्थी घटिरहेका छन्।  गौरीगञ्ज र पञ्चकन्या आधारभुत विद्यालयजस्तै गौरादह–१ को लालजनकल्याण आधारभुत विद्यालयमा पनि लगातार विद्यार्थी घटिरहेका छन्। तीन शिक्षक र दुई बाल शिक्षकको दरबन्दी रहेको यस विद्यालयमा हाल ७० जना विद्यार्थी छन्। यहाँ गत वर्ष ८४ जना थिए। प्रअ निर्मलाकुमारी पौडेलका अनुसार यहाँ अधिकांश अस्थायी बसोबासी र विपन्न परिवारका विद्यार्थी अध्ययनरत छन्।

२०७६ माघ २४ गते प्रकाशित