समाचारमा बालबालिका

विवाहमा विद्यालय छुट्टी

विवाहमा स्कुलमै जन्ती राख्ने चलनले धनुषाका सामुदायिक विद्यालयको पढाइ प्रभावित बनेको छ । विवाहका लागि विद्यालय नै छुट्टी दिने क्रम धनुषामा बढ्दो छ । जसले विद्यार्थीको पढाइमा समस्या भइरहेको छ । विद्यालयमा विवाह समारोह आयोजनाले शिक्षक नै विभाजित हुन थालेका छन् । विवाहका लागि विद्यालय बिदा गर्दा हाजरी गर्ने विषयमा भने शिक्षक र प्रधानाध्याकबीच विवाद बढेको छ । धनुषा, विदेह नगरपालिका–७ स्थित रानी निम्न माध्यमिक विद्यालय जोगियारामा शुक्रबार विद्यार्थी पढ्ने कक्षाकोठा जन्तीले भरिभराउ थियो । द्यालयका प्रधानाध्यापक रामशोभित यादव र शिक्षक कृष्णकुमार झाबीच भने हाजिरी गर्ने विषयमा विवाद चुलियो । बिनासूचना विद्यालय बिदा गरिएका कारण दुई शिक्षकबीच चर्काचर्की नै भयो । जन्ती राखिने हुँदा विद्यालय बन्द रहे पनि हाजरी गर्न शिक्षकलाई बोलाइएको प्रधानाध्यापक यादवले बताए । विद्यार्थीलाई बिदा दिएर शिक्षकलाई हाजरी गर्न नहुने तर्क शिक्षक झाको थियो ।

दुई शिक्षकबीच चर्काचर्की हुँदै गर्दा अन्य शिक्षक मुकदर्शक बनेका थिए । विद्यालयमा विवाहको जन्ती राखेर बिदा दिदा रानी निम्न माध्यमिक विद्यालयका ३ सय ६७ जना विद्यार्थी पढ्नबाट वञ्चित भएका थिए । बिदेह नगरपालिकाको जोगियाराका जगेश्वर रायको छोरी विवाहमा कर्माहीबाट र हरेराम अमातको छोरीको विवाहका लागि सप्तरीको राजविराजबाट आएका जन्तीलाई बिहीबारदेखि विद्यालय परिसरमा राखिएपछि शुक्रबारको पढाइ प्रभावित भएको थियो । प्रधानाध्यापक यादवले शुक्रबारका लागि बिहीबार नै बिदा दिएका थिए । विवाहका लागि विद्यालय परिसरमा पन्डाल, जन्ती, जन्ती चढेर आएको बस राखिएको थियो । दुई जना दुलहा (बेहुला) विद्यालय परिसरमै बसेका थिए । विद्यालयमा विद्यार्थी बस्ने कक्षाकोठामा परालमाथि ओछ्याइएको कपडामा जन्ती सुतिरहेका थिए । टोलको दुई बिवाहको जन्ती विद्यालयमा राखेका कारण विद्यालय परिसर फोहोर र दुर्गन्धित बन्यो । धनुषाको ग्रामीण क्षेत्रमा विवाहमा आउने जन्ती विद्यालयमा राख्दा ३र४ दिनसम्म विद्यालय विदा हुँदा पढाइ प्रभावित भएको छ । जन्ती राखेको विद्यालयमा सरसफाइ, कक्षाकोठा मिलाउनमै दुई दिनसम्म लाग्छ । विद्यालयमा जन्तीले गरेको फोहोर विद्यार्थीबाटै शिक्षकले सरसफाइ गराउने गरेका छन् । विदेह नगरपालिका ७ का वडा अध्यक्ष श्याम यादवले विद्यालयमा भोजभतेर र जन्ती नराख्ने निर्णय गरे पनि विद्यालयका प्रधानाध्यापक अटेरी गरेको बताए । वडा कार्यालयलाई जानकारी नदिइ विद्यालय बन्द गरी जन्ती राख्छन्, यादवले भने, ‘गाउँमा सामुदायिक भवन छैन । विवाहमा स्थानीयले वर्षौंदेखि विद्यालय प्रयोग गर्दै आएका छन् । पुरानो परम्परा तोड्नै समस्या छ । विदेह नगरपालिकाका प्रशासकीय प्रमुख संजिव कुमार साहले नगरको सबै वडा र विद्यालयमा जन्ती नराख्ने निर्णय भएको सुनाए । विद्यालयमा विद्यार्थीलाई पढाइबाट वञ्चित गर्न नहुने प्रदेश २ शिक्षा निर्देशनालयका प्रमुख रामाकान्त शर्माले बताए । विद्यालयमा जन्ती राखेर विद्यार्थीलाई बिदा गर्नु अन्याय हो, शर्माले भने, ‘प्रदेश २ का सबै विद्यालयमा विद्यार्थीलाई पढाइबाट वञ्चित गर्न नमिल्ने परिपत्र गरेका छौं । पढाइबाट वञ्चित हुन नदिन प्रहरीलाई समेत आग्रह गरेका छौं।

२०७५ फागुन १९ गते १०:२८ मा प्रकाशित