समाचारमा बालबालिका

मापदण्डअनुसार छैनन् स्कुल बस

निजी विद्यालयले विद्यार्थी ओसारपसारका लागि प्रयोग गर्ने सवारी साधन मापदण्ड विपरीत भएको पाइएको छ । जिल्लाका ठूला तथा साना निजी  विद्यालयले भाडा वा निजी रूपमा सञ्चालन गरेका बसहरू मापदण्डअनुसारका छैनन् । उनीहरूले पुराना थोत्रा बस सञ्चालन गर्दै आएका छन् । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १५३ मा भएको प्रावधानअनुसार शिक्षण संस्थाहरूले विद्यार्थी ओसारपसार गर्ने उद्देश्यले सञ्चालनमा ल्याएका सवारीले दिने यातायात सेवालाई सुरक्षित, आरामदायी र भरपर्दो बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमितअनुसार सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ६२ ले दिएको अधिकार प्रयोग गरी बस निर्देशिका ‘२०७४’ जारी गरेको थियो । तर तराईका जिल्लामा यसको पालना भएको छैन । निर्देशिका विपरीत निजी विद्यालयले बस सञ्चालन गरी विद्यार्थी ओसारपसार गरिरहेका छन् । निजी विद्यालयको छाता संगठन प्याब्सनका जिल्ला अध्यक्ष शंकर साहले मापदण्ड विपरीत बस सञ्चालन भइरहेको स्विकारेका छन् । ‘प्याब्सनमा आबद्ध बोर्डिङहरूले सञ्चालन गर्ने बसलाई व्यवस्थित गर्नुस् भनेका छौं,’ उनले भने, ‘विस्तारै व्यवस्थित र मापदण्डअनुसारको हुनेछ । सबैले निर्देशिका पालना गर्नुपर्छ ।’ जिल्लाको गौर, गरुडा, शिवनगर, कटहरिया, समनपुर, चन्द्रनिगाहपुर लगायतका मुख्य नगरका निजी विद्यालयले मापदण्ड विपरीतका बस सञ्चालन गरी विद्यार्थी ओसारपसार गर्दै आएको पाइएको छ । उनीहरूले निर्देशिका अनुसार बस सञ्चालन गरेका छैनन् । यसले दुर्घटना निम्त्याउन सक्ने सरोकारवाला बताउँछन् । निर्देशिकामा विद्यालयले सुरक्षित किसिमले ओसारपसार गराउन सञ्चालन गर्ने बसको पहिचान मापदण्डअनुसारको हुनुपर्ने भनिएको छ । निजी विद्यालय मुनलाई एकेडेमीका सञ्चालक विनोद घिमिरले निर्देशिका अनुसार जिल्लाभर बस सञ्चालन हुन नसकेको स्विकारे । ‘हामीले निर्देशिका अनुसार होस् भन्ने चाहेका छौं,’ उनले भने, ‘दर्तामा रहेकाभन्दा बिनादर्ताका विद्यालयले मापदण्ड तोडेका छन् ।

यस्तो छ मापदण्ड
स्कुल बसको बाहिरको रंग पहेलो हुनुपर्छ । अगाडि र पछाडि कालो रंगले ‘स्कुल बस’ लेखिएको हुनुपर्छ । भाडामा लिएको भए बसको अगाडि र पछाडि ब्यानरमा नाम वा प्लेकार्डमा ‘अनस्कुल ड्युटी’ लेखिएको हुनुपर्छ । परिचय खुल्ने गरी १५० मिमि उचाइको गाल्डेन ब्राउन रंगमा स्कुलको नाम दुवैपट्टि झ्यालको लेभलभन्दा तल लेख्नुपर्छ । साथै स्कुलको ठेगाना र फोन नम्बर पनि उल्लेख गरेको हुनुपर्छ । बसको पछिल्लो आधा भागको दाहिनेतिर आपत्कालीन ढोकाको व्यवस्था हुनुपर्छ । यसका साथै बसको पछिल्लो भागमा ब्रेककेबल सिसा हुनुपर्छ । बस चलेको अवस्थामा सम्पूर्ण ढोका तथा एमरजेन्सी एक्जिट बन्द गर्ने व्यवस्था हुनुपर्छ । बसको झ्यालको दुवै साइडमा कम्तीमा ३र३ वटा ग्रिल लगाइएको हुनुपर्छ । बसभित्र फोहोर व्यवस्थापन गर्ने टोकरीको व्यवस्था गरिएको हुनुपर्छ । बसको ढोकाको चुकुल भरपर्दो हुनुपर्छ । विद्यार्थी लिएर हिँडेपछि बसको ढोका लगाइएको हुनुपर्छ । बसमा देखिने गरी अग्नि नियन्त्रण उपकरण राखिएको हुनुपर्छ । बस चालकले प्रतिघण्टा ४० किलोमिटर गतिमा चलाउनुपर्ने उल्लेख छ । बसको सिट, ब्याग राख्ने तखेता, चालकको अनुमतिपत्र, विद्यार्थीको पहिचान खुल्ने परिचय पत्रको व्यवस्था हुनुपर्छ । बस परिचालकले चाहिएका बेला विद्यार्थीलाई ओराल्ने चढाउने वा बाटो काट्ने बेलाको ट्राफिक चिह्न बसभित्र राखिएको हुनुपर्छ ।

गाउँगाउँमा बोर्डिङ
जिल्लाको १६ नगरपालिका र २ गाउँपालिकामा २ सयभन्दा बढी बिना दर्ताका बोर्डिङ स्कुल सञ्चालनमा छन् । ती निर्वाध सञ्चालनमा छन् । तत्कालीन जिल्ला शिक्षा कार्यालयले कडाइ नगर्दा दर्ता नगरी विद्यालय सञ्चालन गर्नेको मनोपलि बढेको हो । प्याब्सनका अध्यक्ष साहले दर्ता र प्याब्सनमा आबद्ध निजी विद्यालयको संख्या २४ रहेको जानकारी दिए । ‘झन्डै २र३ सय जति नै होला दर्ता नगरी सञ्चालनमा रहेको,’ उनले भने, ‘यसतर्फ कारबाही प्रक्रिया अघि बढाउन शिक्षा अधिकारीको ध्यानाकर्षण गराएका हौं । तर सुनुवाइ भएन । अहिले स्थानीय तहलाई यसको दर्ता र अनुगमनको जिम्मा दिइए पनि कुनै पनि नगरपालिकाले बिनादर्ताका विद्यालयलाई कारबाही गर्न सकेको छैन । गौर गरुडा नगरपालिकाले पत्राचार गरे पनि बन्द गराउन सकेको छैन । यस्ता विद्यालयले सञ्चालन गरेको बस भने थोरै मापदण्ड पूरा गरेको पाइएको छ ।

२०७५ जेठ १९ गते ७:३४ मा प्रकाशित