समाचारमा बालबालिका

विद्यालयको बिजोग

न झ्याल, ढोका न त कोठा छेक्ने बार नै छ । वरिपरि बारिएका बाँसका भाटा मक्किएर भत्किन लागेका छन् । हिउँदमा सिरेटो र धुलोको सकस सहनुपर्छ । वर्षायाममा झरी, हिलो र लेदो सिधै कोठाभित्र पस्छ । त्यसमाथि गाईवस्तुको दिसापिसाबको दुर्गन्ध खपिनसक्नु छ । तीन वर्षदेखि यस्तै ठाउँमा बसेर पढिरहेका छन्, मिक्वाखोला-३ स्थित पञ्चेश्वरी माविका बालबालिका । २०७२ साल जेठ २७ गतेको पहिरोले भत्काएको यो विद्यालयका भवनको पुनर्निर्माणमा ढिलाइ हुँदा बालबालिकाको पढाइ प्रभावित भएको छ । पहिरोले विद्यालय भवनमा क्षति पुर्यााएपछि यहाँको बाल विकाससहित कक्षा १ देखि ५ सम्मका एक सय २५ बालबालिकाको पढाइ प्रभावित भएको निमित्त प्रधानाध्यापक भीम विक बताउँछन् । ‘हिउँदमा बिहानदेखि सिरेटो चल्ने हुँदा जाडोले पढाउन सकिँदैन’, उनी भन्छन्, ‘वर्षायाममा झरी सिधै कक्षामा छिर्छ, आकाश धुम्म हुनेबित्तिकै बिदा गर्नुको विकल्प छैन । उनका अनुसार छाडा वस्तुभाउसमेत कक्षामा पसेर दिसापिसाब गरिदिने हुँदा दुर्गन्धमा बसेर पढाउनुपर्ने बाध्यता छ । बीचमा राम्रो बार नहुँदा कक्षाकोठा पनि राम्ररी छुटिँदैनन् । ‘एउटा कोठाको हल्ला अर्कोमा जान्छ, हल्लाकै कारण पनि शिक्षकले पढाएको विद्यार्थीले सुन्दैनन्’, उनी भन्छन् । कक्षाकोठामा फर्निचर पनि पर्याप्त छैन । डेस्क, बेन्च नभएपछि विद्यालय जान मन लाग्न छाडेको कक्षा ५ मा अध्ययनरत ११ वर्षीया पासाङ शेर्पा बताउँछिन् । ‘कक्षामा थोरै मात्र डेस्क, बेन्च छन् । त्यो पनि भाँच्चिन लागेका’, उनी भन्छिन्, ‘त्यस्तैमा धेरै जना खाँदिएर बस्नुपर्छ । बाहिर र अर्को कक्षाको हल्लाले गर्दा सरले पढाएको राम्ररी बुझ्न नसकेको कक्षा ४ का अमर लिम्बू सुनाउँछन् ।

पहिरो पसेर क्षति पुर्यालएका फर्निचर मर्मत गरेकै भरमा काम चलाउनुपरेको निमित्त प्रअ विकको भनाइ छ । ‘मर्मत गरेका डेस्क, बेन्च केही अग्ला छन्, केही होचा, विद्यार्थीको बसाइ व्यवस्थापनमै समस्या छ’, उनी भन्छन्, ‘बजेट अभावमा नयाँ फर्निचर जोड्न सकेका छैनौं । उनका अनुसार विद्यालयका अरू भवन पनि जीर्ण छन् । भूकम्प र पहिरोले क्षतविक्षत बनाएका कारण कक्षा ६ देखि १० सम्मका विद्यार्थी पनि जोखिमपूर्ण कक्षामा बसेर पढ्न बाध्य छन् । भौतिक पूर्वाधार अभावमा विद्यालयको नतिजासमेत घट्दो क्रममा रहेको वडाध्यक्ष दीपेन्द्र लिवाङ बताउँछन् । उनका अनुसार यसपटक वडाले विद्यालयका लागि पाँच लाख बजेट विनियोजन गरेको छ । उक्त रकमले ठूला कक्षा सञ्चालन हुने भवन मर्मत गर्ने प्रअ विक बताउँछन् । जिल्ला शिक्षा कार्यालयको सहयोगमा एउटा चारकोठे भवन निर्माणाधीन छ । उक्त भवन पनि पहिरोका करण सामान ढुवानीमा समस्या हुँदा समयमा निर्माण हुन सकेन । पहिरोयता भवन निर्माणका लागि धेरै दाता गुहारे पनि कसैले चासो नदेखाएको विद्यालय प्रशासनले जनाएको छ ।

२०७४ माघ २ गते प्रकाशित