समाचारमा बालबालिका

विद्यालयबाटै बिनाब्याज ऋण

जिल्लाको नेपाल गुराँस माविका विद्यार्थीका पढाइ छाडेर खर्च जुटाउन भौंतारिनुपर्ने दिन सकिए । मधुवन –६, सानोश्रीका विद्यार्थीलाई विद्यालयले पढ्दै, सिक्दै र कमाउँदै अभियानअन्तर्गत बिनाब्याज ऋण दिन थालेपछि उनीहरूका दिन फेरिएका हुन् । विद्यालयले उपलब्ध गराएको ऋण सहयोगले अध्ययन खर्च टार्न सहज भएको प्रधानाध्यापक केशव पौडेलले बताए । आधुनिक कृषि प्रविधि र भेटेनरी शिक्षाअन्तर्गत ऋण लिएका विद्यार्थीले च्याउ, तरकारीलगायत कुखुरा र माछा पालन गर्दै आम्दानी गरिरहेका छन् र ऋण फिर्ता गरिरहेका छन् । भेटेनरीतर्फ दोस्रो वर्षमा अध्ययनरत नेपाल विकसहित आठ जना विद्यार्थीले विद्यालयबाट बोइलर कुखुरा पालनबापत दुई लाख रुपैयाँ ऋण लिएका थिए । ६ महिनाअघि ऋण लिएका उनीहरूले अहिले कुखुरा बेचेर दुई महिनामै ५० हजार रुपैयाँ आम्दानी गरेको बताए । भेटेनरीतर्फका प्रथम वर्षका विद्यार्थीले लोकल कुखुराबाट वर्षमा खर्च कटाएर एक लाख रुपैयाँसम्म आम्दानी गरिरहेको बताए । आईएस्सी तेस्रो वर्षका विद्यार्थीहरूको एक समूहले झन्डै एक वर्षअघि ४० हजार रुपैयाँ ऋण लिएको थियो । २० जनाको समूहमा रहेका उनीहरूले खर्च कटाएर यस वर्ष ८५ हजार रुपैयाँ आम्दानी गरेको बताए । ‘विद्यालयमा छात्रावास नभएका कारण हामीहरू डेरामा बस्दै आएका थियौं,’ कञ्चनपुर बेलौरीका विद्यार्थी विमल चौधरीले भने, ‘त्यसरी आम्दानी भएको रकमले यसपटक डेराभाडा र फिस तिर्न पुग्यो ।’ बर्दियालगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट विद्यार्थी कृषि प्रविधि, भेटेनरीलगायत विषयमा अध्ययन गर्न यहाँ आउँछन् । तीन वर्षअघिसम्म यहाँ अध्ययनरत विद्यार्थीमध्ये २२ प्रतिशतले रोजगारलगायत विभिन्न कामले बीचमै विद्यालय छाड्ने गरेकामा प्राविधिक शिक्षा र बिनाब्याज ऋण दिन सुरु गरेपछि यो क्रम न्यून भएको विद्यालयले जनाएको छ ।

२०७६ माघ २६ गते ९:५६ मा प्रकाशित