समाचारमा बालबालिका

चिसोले दर्जन विद्यालय बन्द

चिसो अत्यधिक बढेपछि जिल्लाको उत्तरी भेगका एक दर्जन विद्यालय बन्द गरिएका छन् । उच्च हिमाली क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकाका विद्यालय बन्द गरिएका हुन् । हिमपात नभए पनि तुसारो जम्न थालेपछि त्यहाँको तापक्रम शून्य डिग्रीभन्दा तल झरेको छ । चिसो बढेर विद्यार्थी आउन छाडेकाले एक महिनाका लागि विद्यालय बन्द गरिएको अरुणोदय मावि लिङ्गमका शिक्षक फुर्वा भोटेले बताए । ‘घरबाहिर निस्कनै गाह्रो छ,’ उनले भने, ‘छानो र आँगनभरि तुसारो जमेको छ ।’ यो क्षेत्रमा बर्खे र हिउँदे बिदा एकएक महिना दिइन्छ । चिसोले कक्षामा पढाउनसमेत मुस्किल पर्ने भोटेले जानकारी दिए । ‘जिल्ला शिक्षा कार्यालयले बिदा गर्न अनुमति दिँदैन तर चिसोले पढाउन नसकिने भएकाले हामी आफैं बन्द गर्छौं,’ उनले भने, ‘अरू बिदामा कटाउने गरी माघ पहिलो साताबाट फागुन पहिलो सातासम्मलाई कक्षा रोकेका हौं ।’ विद्यालयहरूले वर्षमा ४५ दिन बिदा दिन पाउँछन् । उत्तरी क्षेत्रमा बर्खे बिदा कम गरेर हिउँदे बिदामा थप्ने गरिएको छ ।

बर्खाको समयमा यो क्षेत्रमा धान नरोपिने भएकाले विद्यालय सञ्चालन गरिने अर्का शिक्षक छिरिङ भोटेले बताए । चिसोको समयमा ठूला मानिससमेत भित्रबाट बाहिर निस्कन मुस्किल छ । केटाकेटी र वृद्धवृद्धा झनै समस्यामा पर्छन्,’ उनले भने, ‘कठ्यांग्रिएर बालबालिका विद्यालय जानै सक्दैनन् । त्यसैले पनि बर्सेनि माघ र फागुनमा विद्यालय बन्द गराइन्छ ।’ भोटखोला क्षेत्रलाई पूर्वको कर्णाली भन्ने गरिन्छ । हटिया, हुङगुङ, चेपुवा, च्याम्ताङ र किमाथांकाका स्थानीय हिउँदमा बर्सेनि अत्यधिक चिसोले सास्ती खेप्नुपरेको बताउँछन् । भोटखोलाकै गोला, सिस्ने, सिम्मा, मकालुको मांसिमा र सेदुवालगायत क्षेत्रमा पानी पर्नासाथ हिउँ झर्छ । यहाँका स्थानीय स्थानीय चिसो बढ्नुअगाडि नै बस्ती छाडिसक्छन् । चिसोबाट बच्नकै लागि औल झर्ने गरेको उनीहरूको भनाइ छ । पश्चिमी भेगको सिलिचोङ गाउापालिकाका सिसुवाटार, सिकिदिम, ताम्कु र माङतेवा लगायतका क्षेत्रमा समेत चिसो अत्यधिक बढेको छ । दक्षिणी भेगको उच्च पहाडी तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा पनि निकै चिसो रहेको स्थानीय हिमा खनालले बताइन् । औल नझरेकाहरू अधिकांश समय घरभित्रै आगो तापेर बिताउँछन् । बाहिर निस्कन मुस्किल भएपछि जनजीवन प्रभावित भएको किमाथांकाका नुर्पु भोटेले बताए । यहाँ दुई सातायता चिसोझन् बढेकाले स्थानीयलाई पशुचौपाया जोगाउनसमेत कठिन भएको छ । सदरमुकाम खाँदबारी र आसपास क्षेत्रमा समेत चिसोले असर पुर्याचएको छ ।

२०७४ फागुन २ गते ७:०९ मा प्रकाशित