समाचारमा बालबालिका

स्मार्ट कार्डबाट सेनेटरी प्याड

पुर्वी नवलपरासीको देवचुलीका किशोरीले स्मार्ट कार्ड प्रयोग गरेर सेनेटरी प्याड पाउने भएका छन् । विद्यालयमा नै प्रविधीयुक्त मेसीन राखेपछि निःशुल्करुपमा प्याड प्राप्त गर्ने भएका हुन् ।  देवचुली नगरपालिकाका दुई विद्यालयमा सेनेटरी प्याड भेन्डिङ मेसिन राखिएको छन् । दिगो खानेपानी तथा क्षमता अभिवृद्धि परियोजनाले स्थानीय तहको समन्वयमा भीमसेन आदर्श मावि र कालिका माविमा मेसिन राखिएको हुन् । विद्यालयमा महिनावारीको समयमा विद्यार्थीलाई प्याड प्रयोग गर्न सजिलो बनाउने, महिनावारी स्वच्छताका बारेमा जनचेतना अभिवृद्धि गर्न मेसीन राखिएको परियोजनाका संयोजक प्रवीण घिमिरेले बताए । ‘किशोरीहरू महिनावारीको समयमा विद्यालय नै नआउने र विद्यालय समयमा महिनावारी भएमा प्याडको अभाव हुने भएकाले स्मार्ट मेसीन राखीएको हो,’ उनले भने, ‘महिनावारीलाई समस्याको रुपमा नलिन र जनचेतना अभिवृद्धीका लागि यसले सहयोग पुराउने विश्वास लिएका छौ । विद्युतबाट चल्ने भेन्डिङ मेसिनमा एकपटकमा ५० सम्म सेनेटरी प्याड राख्न सकिन्छ । विद्यालयका महिनावारी हुने समयका छात्रालाई स्मार्ट कार्ड प्रदान गरिएको छ । महिनावारीका समयमा आफुलाई आवश्यक प्याड विद्यार्थी आफैले कार्डको प्रयोग गरेर झिक्न सक्नेछन् । मेसीन जडान गरेपछि महिनावारी हुने समय आएपछि विद्यालय नआउने छात्राहरू नियमीतरुपमा विद्यालय आउने आशा गरीएको छ । गाउंघरमा अझै पनि महिनावारीको समयमा पुराना कपडा प्रयोग गरिन्छ । यसले स्वास्थ्यमा असर पुराउने भएकाले छात्राहरूको स्वास्थ्यमा पनि प्रत्यक्ष सहयोग पुराउने छ । दुई वटा विद्यालयमा स्मार्ड कार्डमार्फत सेवा सुरु भएपनि आगामी दिनमा नगरभित्रका हरेक विद्यालयमा यो प्रविधीको मेसीन राख्ने नगरपालिकाको लक्ष्य छ । देवचुलीका अधिकासं किशोरीले घरमै सेनेटरी प्याड बनाउँछन् । कपडाका टुक्रा प्रयोग गर्ने नवलपुरका किशोरी तथा महिलाले अहिले भने आफै सेनेटरी प्याड बनाएर प्रयोग गर्न थालेका हुन् । बजारमा सेनेटरी प्याड किन्नका लागि लाज मान्ने र आर्थिकरुपमा पनि खर्चिलो भएपछि किशोरी र महिलाले आफै सुरक्षित प्याड तयार पारेर प्रयोग गर्न थालेका हुन् । विभिन्न संघसंस्थाले जनचेतना मुलक कार्यक्रम संचालन गर्ने र स्थानीय तहले पनि महिला स्वस्थ हुनका लागि सुरक्षित सेनेटरी प्याडको प्रयोग गर्नुपर्ने अभियान चलाएपछि पुराना थोत्रा कपडाको टालोको सट्टामा आफैले प्याड तयार पार्न अग्रसर भएका छन् । बजारमा पाईने प्याड एकपटक प्रयोग गरेपछि फाल्नुपर्ने र आर्थिकरुपमा पनि खर्चिलो हुने भएकाले उनीहरूले घरमा नै सुतिको कपडा, धागो प्रयोग गरेर आरामदायी प्याड तयार गर्ने गरेका छन् ।

२०७६ भदौ १० गते ९:०९ मा प्रकाशित